काठमाडौं, २३ चैत/रासस
आयरल्यान्ड ‘ए’ले एक खेलअगावै एकदिवसीय क्रिकेट शृङ्खलामाथि कब्जा जमाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो एक दिवसीय खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई ११४ रनको फराकिलो अन्तरले पराजित गर्दै शृङ्खलामा कब्जा जमाएको हो । आयरल्यान्ड ‘ए’ पहिलो खेलमा २१ रनले विजयी भएको थियो ।
आयरल्यान्ड ‘ए’ले जीतका लागि प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६.५ ओभरमा ६० रनमा समेटियो । नेपाल ‘ए’ टोलीका कुनै पनि ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।
नेपाल ‘ए’का लागि भीम सार्कीले १७ र कप्तान विनोद भण्डारीले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
पाँच ब्याटरहरू देव खनाल, आरिफ शेख, रिजन ढकाल, कमल सिंह ऐरी र मौसम ढकाल शून्य रनमा आउट भए । नरेन भट्टले छ, अर्जुन साउदले पाँच, वशीर अहमदले छ र सहाब आलमले एक रन बनाए ।
आयरल्यान्ड ‘ए’का लागि म्याथ्यु हम्फ्रिज एक्लैले छ विकेट लिए । साथै फिओन ह्यान्ड र थोमस माएजले दुई/दुई विकेट लिए ।
त्यस अघि टस हारेर पहिले ब्याटिड्ढो निम्तो पाएको आयरल्यान्ड ‘ए’ले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।
उसका लागि गानिभ होयले अर्धशतकीय पाली खेले । उनले ५९ बल खेल्ने क्रममा दुई छक्का र पाँच चौकाको सहयोगमा ५० रन बनाए । कप्तान नील रकले ३८ बलमा तीन छक्का र तीन चौकाको सहयोगमा ४५ रन बनाए भने लियाम मकार्थीले ३५ रन बनाए । साथै पिटर मुरले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् ।
नेपाल ‘ए’का लागि रिजन ढकाल र सहाब आलमले तीन/तीन विकेट लिए भने मौसम ढकालले दुई र कमल सिंह ऐरीले एक विकेट लिए । प्रतियोगिताको अन्तिम खेल आइतवार हुनेछ ।