प्रस, परवानीपुर, १७ चैत/
माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रको केन्द्राध्यक्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक वा मावि तहको स्थायी शिक्षक हुनुपर्ने प्रावधान एसइई व्यवस्थापन निर्देशिकामा उल्लेख छ । यस्तै, एसइईको केन्द्राध्यक्ष निर्देशिका पुस्तिका २०८० मा पनि शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखले जिल्ला परीक्षा समन्वय समितिको निर्णय अनुसार परीक्षा केन्द्रका लागि माध्यमिक विद्यालयका प्रधानाध्यापक वा कम्तीमा माध्यमिक तहका स्थायीय एकजना शिक्षकलाई केन्द्राध्यक्षमा नियुक्त गर्नुपर्ने उल्लेख छ ।
तर अहिले जारी एसइईमा बाराको एक परीक्षा केन्द्रमा ती दुवै प्रावधान मिचेर निमावि तहका एक शिक्षकलाई केन्द्राध्यक्ष नियुक्त गरेर परीक्षा सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ बाराका प्रमुख उपेन्द्र सिंहले बाराको प्रसौनी गाउँपालिका वडा नं ४ खुटवाजब्दीस्थित नेपाल राष्ट्रिय माविको परीक्षा केन्द्रमा निमावि तहका शिक्षक सुखल साहलाई केन्द्राध्यक्ष नियुक्त गरेका छन् ।
निमावि तहका शिक्षकलाई केन्द्राध्यक्ष नियुक्त गर्न नपाइने भएपनि बाराका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सिंहले भने अनुचित लाभमा परेर निमावि तहका शिक्षक साहलाई केन्द्राध्यक्ष बनाएको स्थानीय अभिभावकले आरोप लगाएका छन् । त्यसमा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारीले पनि साथ दिएको आरोप लागेको छ ।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सिंहले भने उक्त विद्यालयका प्रधानाध्यापक पवन सिंह दुर्घटनामा परेर घाइते भएपछि त्यही विद्यालयका निमावि तहका शिक्षक साहलाई केन्द्राध्यक्षमा नियुक्त गरिएको बताए । सिंहका अनुसार उक्त विद्यालयमा मावि तहको एकमात्र दरबन्दी छ । उक्त दरबन्दीमा कार्यरत प्रधानाध्यापक सिंह घाइते भएकाले निमावि तहका शिक्षक साहलाई वरिष्ठताका आधारमा केन्द्राध्यक्ष नियुक्त गर्नुपरेको सिंहले बताए । साहको नाममा प्रधानाध्यापक सिंह स्वयंले लिखित सहमति दिएपछि उनलाई केन्द्राध्यक्ष नियुक्त गरिएको सिंहको भनाइ छ ।
एसइईको केन्द्राध्यक्ष निर्देशन पुस्तिका २०८० मा केन्द्राध्यक्ष मावि तहकै शिक्षक हुनुपर्ने र निमावि वा प्रावि तहका शिक्षकलाई नियुक्त गर्न नपाइने स्पष्ट निर्देशन छ भन्ने प्रश्नमा प्रमुख सिंहले भने, “ यो मेरो एकल निर्णयमा गरिएको होइन । सबैको सहमतिमा साहलाई केन्द्राध्यक्ष नियुक्त गरिएको हो । सम्बन्धित प्रअ सिंह आफैंले साहको नाममा लिखित सहमति दिनुभयो । त्यसपछि शिक्षा विकास तथा समन्वय एकाइको सिफारिशमा जिल्ला परीक्षा समन्वय समितिले केन्द्राध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।”
नेपाल राष्ट्रिय मावि खुटवाजब्दीमा बाराको बेंगा साह मावि प्रसौनी, नेपाल राष्ट्रिय मावि प्रस्टोका र नेपाल राष्ट्रिय मावि बुनियाद गरी तीनवटा विद्यालयको परीक्षा केन्द्र तोकिएको छ । उक्त विद्यालयमा ती तीनवटै विद्यालयका गरी अढाई सय विद्यार्थीले एसइई दिइरहेका छन् ।