प्रस, वीरगंज, ९ चैत/
जीतपुरसिमरा टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भोलि शनिवार मकवानपुर क्रिकेट सङ्घ र पर्सा क्रिकेट सङ्घ भिड्ने भएका छन् । समूह ‘बी’को अन्तिम खेलमा शुक्रवार भैरहवालाई पराजित गर्दै मकवानपुर फाइनलमा प्रवेश गरेको हो ।
समूह चरणको पहिलो खेलमा जनकपुरमाथि ३१ रनको जीत निकालेको मकवानपुरले दोस्रो जीत दर्ता गर्ने क्रममा खुकुरी क्रिकेट क्लब भैरहवालाई १५ रनले पराजित ग¥यो । टस हारेर ब्याटिड्ढो निम्तो पाएको मकवानपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रन बनाएको थियो ।
मकवानपुरका लागि तक्षक सिम्खडाले ५४, गौरव खड्काले २७, युविन बुढाथोकीले २१, विशाल फुयाँलले १९ र सक्षम बस्ताकोटीले ११ रन बनाएका थिए । भैरहवाका रोशनलाल गुप्ताले तीन, अजयकुमार चौहानले दुई र सन्तोष यादवले एक विकेट लिएका थिए ।
रनरेटका आधारमा फाइनलमा पुग्न मकवानपुरले दिएको १४९ रनको लक्ष्य १४.५ ओभरमैं पूरा गरेको भए भैरहवा फाइनलमा पुग्ने थियो । तर १९.३ ओभरमा सबै विकेट गुमाइ १३३ रन मात्र बनाएपछि पराजित हुन पुग्यो । भैरहवाका रोशनलाल गुप्ताले २८, प्रज्वल थापाले २१, प्रकाश गिरी र अजय चौहानले समान १९ रन बनाए । मकवानपुरका सुवर्ण भट्टले तीन, पियुश शर्मा र विशाल फुयाँलले दुई/दुई, समीर चौलागाईं र असीम श्रेष्ठले एक/एक विकेट लिए ।
‘प्लेयर अफ दी म्याच’ घोषित मकवानपुरका तक्षक सिम्खडालाई जीतपुरसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारीले पुरस्कृत गरेका थिए । भोलि शनिवार मकवानपुर क्रिकेट सङ्घ र पर्सा क्रिकेट सङ्घ फाइनलमा भिडनेछन् ।