चिरञ्जीवी सापकोटा, ठोरी, १८ फागुन/
नेपाल शिक्षक महासङ्घ पर्साले पर्साका विभिन्न पालिकामा पुगी कार्यरत शिक्ष्Fकलाई विस्थापित नगर्न अनुरोध गरेको छ ।
शिक्षक सेवा आयोगले निमावि तहमा शिक्षक सिफारिश भएको तर पर्सामा १० जना कार्यरत शिक्षकलाई विस्थापित हुनेगरी जिल्ला समन्वय एकाइले नियुक्ति प्रक्रिया अघि बढाएपछि महासङ्घले कार्यरत शिक्षकलाई विस्थापित नगर्न पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखलाई भेटेर अपील गरेको छ ।
नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादव नेतृत्वको शिक्षक टोलीले विभिन्न पालिकामा पुगी अनुरोध गरेको थियो ।
पर्सा जिल्लामा १८ वटा निमावि तहमा दरबन्दी रिक्त हुँदाहुँदै १६ जनालाई उक्त रिक्त दरबन्दीमा नियुक्ति गर्न आफूहरूले अनुरोध गरे तापनि समन्वय एकाइ पर्साले १० जना कार्यरत शिक्षकलाई विस्थापित गर्ने गरी नियुक्ति प्रक्रिया अघि बढाएकोले पालिका प्रमुखलगायतका व्यक्तिलाई भेटेर नियुक्ति लिएर आउने व्यक्तिहरूलाई हाजिर नगराउन अनुरोध गरिएको अध्यक्ष यादवले जानकारी दिए ।
आफूहरूले शिक्षक सेवा आयोगबाट सिफारिश भएर आएका शिक्षक साथीहरूलाई समेत यस कार्यमा सहयोग गर्न अनुरोध गरेको उनले बताए । तर समन्वय एकाइ पर्साले जबरजस्ती गर्दै हाजिर हुन चिठी थमाएको बताए ।
टोलीमा शिक्षक महासङ्घ पर्साका सहअध्यक्ष हरिन्द्र कुर्मी, सचिव विनोद गिरी, नेपाल शिक्षक सङ्घ पर्साका अध्यक्ष प्रदीपकुमार जैसवाललगायतको सहभागिता थियो । टोलीले बहुदरमाई, पर्सागढी, पोखरिया नगरपालिका, पटेर्वासुगौली र ठोरी गापामा पुगेर अनुरोधपत्र बुझाएको थियो ।