काठमाडौं, १८ फागुन/रासस
वेस्ट एशियन फूटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । केही बेर अघि साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो । जोर्डन छैटौंपटक उपाधि जित्न सफल भएको छ । नेपाल पहिलो सहभागितामैं उपविजेता बनेको हो ।
टाइब्रेकरमा जोर्डनकी आय अल मजालीले गोल गरेपछि नेपालका लागि गीता रानाले बराबरी गोल गरिन् । त्यसपछि जोर्डनकी कप्तान मायसा बराहले गोल गर्दा नेपालकी दिपा शाहीले पनि गोल गरिन् । त्यसपछि जोर्डनको लगातार दुर्ई प्रहार गोलमा परिणत भएको थियो तर नेपालकी हीरा भुजेलले गोल गरे पनि अमृता जैशीले भने गोल गर्न सकिनन् । जोर्डनको पाँचौ प्रहार गोल भएसँगै नेपाल पराजित हुन पुग्यो । त्यस अघि खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो । नेपालका लागि सविता राना मगरले खेलको २९ औं मिनेटमा गोल गरेकी थिइन् । अनिता बस्नेतको स्थानमा खेलिरहेकी सविताले नेपालका लागि पहिलो गोल गर्न सफल भएकी थिइन् ।
त्यस्तै खेलको ७४औं मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याइन् । त्यसपछि खेलको ८९औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल ग¥यो । जोर्डनका लागि साराह अबु साबाहले गोल गरिन् । तर खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा पेनाल्टीमा नेपालकी गीता रानाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । जोर्डनकी जबाराहले बक्समा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।
यस अघि नेपालले सेमिफाइनलमा लेबनानलाई २–१ गोलले हराउँदै जोर्डनसँग फाइनल भेट पक्का गरेको हो । जोर्डन प्यालेस्टिनलाई ५–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । फिफा वरीयतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४ औं स्थानमा छ ।