टोकियो, १८ फागुन/एफपपी
सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर) ले शुक्रवार राजीनामा दिएका छन् ।

एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत विभिन्न उत्पीडनका कार्यहरू गरेको आरोप लगाएको छ ।

पत्रकारका अगाडि आँसु पुछ्दै आरोपले आप्mनो बदनामी भएको र आफ्ना भाइले हप्काएको बताएको एक दिनपछि बिहीवार ७४ वर्षीय कोजिमाले राजीनामा दिने बताएका हुन् ।

उनले एउटा स्वतन्त्र समितिको प्रतिवेदनमा उल्लिखित केही आरोपको खण्डन गरेका छ जसमा उनले महिला कर्मचारीलाई पनि पदीय मर्यादाविपरीत अङ्गालो हाल्ने गरेको आरोप पनि लगाइएको छ ।

“उनले टेलिभिजनसँगको संवादमा भने–“मैले त्यसो गरेको थिइनँ, मेरो हाउभाउ अँगालो हालेकोजस्तो देखिन सक्छ, तर अँगालो हालेको होइन ।”

“प्रतिवेदनमा तटस्थताको अभाव छ र म चाहन्छु कि उनीहरूले थप सावधानीपूर्वक अनुसन्धान गरून्”–उनले भने ।

प्रसारक एनएचकेका अनुसार कोजिमाले सम्पूर्ण रिपोर्ट पढि नसकेको बताएका छन् । रिपोर्टमा नगर प्रमुखले ‘आफ्नो ट्राउजर माथि सार्दै कर्मचारीलाई खुट्टा छुन भन्ने गरेको, केही कामदारहरूले छोएपछि कीटाणुनाशक स्प्रे प्रयोग गर्ने गरेको र अनुचित टिप्पणीहरू गर्ने र कर्मचारीहरूलाई झुक्न लगाउनेजस्ता कार्यहरू गर्ने गरेको’ आरोप लगाइएको छ ।

मङ्गलवार आफ्नो पद छोड्ने बताएका कोजिमाविरुद्ध सार्वजनिक रूपमा कुनै फौजदारी मुद्दा चलाइएको छैन ।

साप्ताहिक शुकान बुनशुन पत्रिकामा प्रकाशित समाचारपछि शुरू गरिएको अनुसन्धानमा मेयरले महिला कामदारको टाउकोमा पटकपटक छुने गरेको उल्लेख छ । कोजिमाले यसलाई ‘कृतज्ञता व्यक्त गर्न’ का लागि गरिएको कार्य बताएका छन् ।

यो समाचार शुक्रवार सामाजिक सञ्जाल एक्समा ट्रेन्डिङमा परेको थियो । समाचारबारे धेरै प्रयोगकर्ताहरूले आक्रोश व्यक्त गरेका थिए ।

छानबीनका क्रममा समितिले कोजिमा नगरपालिकाका १९३ जना कामदारबीच सर्वेक्षणसमेत गरेको थियो ।

सर्वेक्षणमा सहभागी १६१ जनामध्ये ५३ प्रतिशत पुरुष र ५८ प्रतिशत महिलाले मेयरले आफूहरूलाई असहज महसूस गराउने काम गरेको बताएका थिए ।

जापानमा विश्वव्यापी बनिसकेको ‘मी टू आन्दोलन’ले गति लिएको थिएन । यहाँ धेरै पीडितहरू अगाडि आउन निकै डराएका छन् तर पछिल्लो समय एकाध उच्च–ओहोदासँग सम्बन्धित मुद्दाहरू सार्वजनिक हुन थालेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here