जेरूसेलम, १३ फागुन/एएफपी
इजरायलको युद्ध क्याबिनेटले हमाससँग भएको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ता गर्ने सम्बन्धमा आगामी कदमबारे छलफल गरेको छ ।
बन्धक सम्झौताबारे नयाँ वार्ताका लागि पेरिस पुगेको इजरायली प्रतिनिधिमण्डल शनिवार राति देशको युद्ध क्याबिनेटलाई छलफलका क्रममा उठेका सवाल जवाफबारे जानकारी गराउन फर्केको सरकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले बैठक अघि टेलिभिजनमा दिएको अन्तर्वार्तामा ‘प्रतिनिधिमण्डल पेरिसबाट फर्केको र सम्भवतः सहमतितर्पm अघि बढ्ने ठाउँ रहेको’ बताएका थिए ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बैठकमा ‘वार्तामा आगामी कदम’ बारे छलफल हुने बताएका छन् ।
वार्तालाई निरन्तरता दिन आगामी दिनमा कतारमा प्रतिनिधिमण्डल पठाउने सहमति भएपछि बैठक सम्पन्न भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
गत नोभेम्बरमा भएको एक साता लामो युद्धविराममा १०० भन्दा बढी बन्धक मुक्त गरिएजस्तै कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले पनि सम्झौताका लागि प्रयास गर्न नेतृत्व लिइरहेका छन् ।
बन्दीहरूलाई घर फर्काउन सरकारमाथि घरेलु दबाब पनि निरन्तर बढिरहेको छ, शनिवार राति तेल अविवमा हजारौंको सङ्ख्यामा भेला भएका बन्धक तथा अन्य बन्दीहरूका आफन्तले छिटै निष्कर्षमा पुग्न माग गरेका छन् ।
“हामी हाम्रा प्यारा आफन्तजनलाई जस्तोसुकै अवस्थामा होस् छिट्टै फिर्ता ल्याउन तपाईहरूसँग भनिरहेका छौं”–४५ वर्षीय अविवित याब्लोन्काले भने । याब्लोन्काकी बहिनी हनानलाई अक्टोबर ७ मा अपहरण गरिएको थियो ।
तेल अविवमा पनि सरकार विरोधी प्रदर्शनकारीहरू सडकमा उत्रेका थिए र नेतन्याहूको सरकारलाई राजीनामा दिन माग गरेका थिए । अधिकारीहरूले उनीहरूलाई तितरबितर पार्न पानीको फोहोरा र ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गर्नुपरेको थियो ।
“उनीहरू (सरकारी अधिकारी)ले हाम्रो लागि सही बाटो रोजेका छैनन् । चाहे त्यो अर्थ व्यवस्था होस्, चाहे हाम्रा छिमेकीहरूसँगको शान्ति होस्”–५४ वर्षीय सप्mटवेयर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोती कुश्नरले सरकारको आलोचना गर्दै भने । उनले थपे–“यस्तो लाग्छ उनीहरू कहिल्यै पनि युद्ध अन्त्य गर्न चाहँदैनन् ।”
बढ्दो हताशा
घेराबन्दीमा परेको गाजापट्टीमा चार महीनाभन्दा बढी समयदेखि खाद्यान्न अभाव भएपछि विश्व खाद्य कार्यक्रमले यसै साता आप्mनो टोलीले ‘अकल्पनीय स्तरको निराशा’ देखाएको बताएको छ भने संयुक्त राष्ट्रसङ्घले २२ लाख मानिस अनिकालको सँघारमा पुगेको चेतावनी दिएको छ ।
उत्तरी गाजाको जबालिया शरणार्थी शिविरमा बालबालिकाले प्लास्टिकका भाँडाकुँडा र खाना पकाउने भाँडाहरू समातेर राखेका दयनीय तस्वीर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल बनेका छन् ।
बम विस्फोटका कारण सहायता एजेन्सीहरू त्यस क्षेत्रमा प्रवेश गर्न असमर्थ भएका कारण आपूर्ति सेवाहरू अवरुद्धजस्तै भएका छन् । भोक–तीर्खा मेट्नकै लागि चोरी र डाँकाजनीका घटनाहरू बढेका छन् । सीमित मात्रामा सहायता लिई गाजा क्षेत्रमा प्रवेश गरेका ट्रक र कन्टेनरहरूले भोकभोकै परेका गाजावासीकोे उन्मादी लुटपाटको सामना गरिरहेका छन् । रासस