प्रस, वीरगंज, ११ फागुन/
वीरगंज महानगरपालिकामा दादुरा–रुबेला खोप अभियान यही फागुन १३ गते आइतवारदेखि शुरू हुने भएको छ ।
महानगरपालिकाको स्वास्थ्य महाशाखाले शुक्रवार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा दादुरा–रुबेला खोप अभियानबारे जानकारी गराएको थियो ।
महानगरको सभाकक्षमा ३२ वटै वडाध्यक्षसँगको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवले दादुरा–रुबेला खोप अभियान महानगरमा फागुन १३ गतेदेखि शुरू गर्न लागिएको बताए । उनले महानगरमा दादुरा–रुबेला खोप अभियान अन्तर्गत पहिलो दिन वडा नं ३ बिर्तास्थित त्रिजुद्ध मावि परिसरमा नौ महीनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाएर शुभारम्भ गरिने बताए । दोस्रो चरणको अभियान फागुन २७ देखि चैत ५ गतेसम्म महानगरका बाँकी ३१ वटा वडामा सञ्चालन गरिने स्वास्थ्य महाशाखा प्रमुख यादवले बताए ।
अभियानमा महानगरका ७४ हजार चार सयजना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको महाशाखाका सहसंयोजक अनिशकान्त कुशवाहाले जानकारी गराए । उनले दादुरा–रुबेला खोप अभियान अन्तर्गत महानगरका स्वास्थ्य संस्था, शिक्षण संस्थालगायत २९८ वटा खोप केन्द्र स्थापना गरिने बताए । एउटा खोप केन्द्रमा न्यूनतम २५० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको कुशवाहाले बताए । अभियानको क्रममा दादुरा–रुबेलाको खोप लगाउने क्रममा हुन सक्ने सम्भावित अवाञ्छित घटना व्यवस्थापनका लागि नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंह, डा शैलेश ठाकुरसहित तीनजना चिकित्सकलाई जिम्मेवारी दिइएको उनले बताए ।
कुशवाहाले अभियान सफल पार्न वडाध्यक्षहरूको भूमिका महत्वपूर्ण हुने र यसमा सहयोग गर्न आग्रह पनि गरे । कार्यक्रममा स्वास्थ्य कार्यालय, पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले फागुन १३ गते महानगरसँगै पर्सा जिल्लाभरि नै दादुरा–रुबेला खोप अभियान शुरू हुने जानकारी गराए ।
पहिलो चरणमा फागुन १३ देखि फागुन २१ गतेसम्म महानगरको वडा नं ३ तथा पोखरिया र पर्सागढी नगरपालिका, जीराभवानी, सखुवाप्रसौनी, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने उनले बताए । दोस्रो चरणमा फागुन २७ देखि चैत ५ गतेसम्म महानगरका ३१ वटा वडा, बहुदरमाई नगरपालिका, पकाहामैनपुर, ठोरी, छिपहरमाई, विन्ध्यवासिनी, धोबिनी र कालिकामाई गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।
उनले दुई चरणको अभियानमा जिल्लाभरिमा दुई लाख एक हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको बताए । वडाध्यक्ष द्वारिका महतोको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरू, महानगरको स्वास्थ्य महाशाखाका कर्मचारी, सञ्चारकर्मी सहभागी थिए ।