प्रस, वीरगंज, ११ फागुन/
धोबिनी गाउँपालिका–४ लङ्गडीकी दुईजना नाबालिका दिदीबहिनी प्रियङ्का र मनीषा ठाकुरको लालनपालन र शिक्षाको जिम्मा सानो पाइलाले उठाउने भएको छ ।
सानो पाइलाका बोर्ड सदस्य कञ्चन झाले विभिन्न सामाजिक सञ्जाल र समाचारपत्रहरूमा प्रकाशित समाचारपछि धोबिनी गाउँपालिका–४ लङ्गडीकी दिदीबहिनी प्रियङ्का र मनीषाको बारेमा थप जानकारी लिएको र उनीहरूलाई सानो पाइलाको बालगृहमा राखेर लालनपालन गरिने निर्णय भएको बताए । उनले तत्काल दुवै दिदीबहिनी अहिले हजुरआमाको क्रियामा बसेका र उनीहरू सोमवार क्रिया मुक्त भएपछि वीरगंज महानगर–७ स्थित सानो पाइलाको बालगृहमा राखेर हेरचाह गरिने बताए ।
यसैगरी, समाचार पढेर प्रदेशसभा सदस्य प्रमोद जयसवाल शुक्रवार धोबिनी गापामा पुगेर उनीहरूको अवस्थाबारेमा बुझेका छन् । दुईजना नाबालिका दिदीबहिनी प्रियङ्का र मनीषालाई आर्थिक सहयोग गर्नुका साथै उनले गापाध्यक्षलाई पनि सहयोग गर्न सुझाए । यसैगरी, प्रदेशसभा सदस्य जयसवालले प्रदेशसभाबाट पनि सहयोग दिलाउने आश्वासन दिएका थिए ।
१० वर्षीया प्रियङ्का ठाकुर र सात वर्षीया मनीषा ठाकुरका आमाबुबाको आठ वर्ष पहिले मृत्यु भएको थियो । उनीहरूलाई भीख मागेर लालनपालन गर्दै आएकी वृद्ध हजुरआमाको पनि यही फागुन ३ गते निधन भएपछि उनीहरूको बिचल्ली भएको थियो ।