प्रस, रौतहट, १० फागुन/
स्वास्थ्य कार्यालय, रौतहटले बिहीवार दादुरा–रुबेला खोप अभियानबारे अभिमुखीकरण कार्यक्रम गरेको छ । जिल्ला प्रशासन कार्यालय, रौतहटको सभाहलमा स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूलाई अभिमुखीकरण गरिएको हो ।
‘दादुरा–रुबेला रोग पूर्णरूपमा निवारण गरौं’ नाराका साथ नौ महीनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई नछुटाइ खोप लगाउन कार्यक्रममा आग्रह गरिएको थियो । दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ । रूबेला पनि भाइरसकै कारणबाट हुने दादुराजस्तै देखिने सङ्क्रामक रोग रहेको यो श्वासप्रश्वासको माध्यमबाट सर्ने बताइएको थियो ।
दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरूमा सङ्क्रमण गर्छ, जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख र घाँटीमा रहेको हुन्छ । दादुराका भाइरसले दादुरा लागेको बेला शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई हप्तौंसम्म क्षति पु-याउने बताइएको थियो । यो रोग कुनै पनि उमेरका मानिसलाई र विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा धेरै लाग्छ र छिट्टै महामारीको रूप पनि लिन सक्छ । त्यसैले बालबालिकामा अरू सङ्क्रामक रोग हुने सम्भावना पनि बढाउने कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा बालबालिकामा दादुराको सङ्क्रमण भएमा गम्भीर प्रकारका जटिलताहरू देखा पर्नुका साथै मृत्युसमेत हुन सक्ने प्रस्तुति गरिएको थियो ।
जिल्ला समन्वय समिति, रौतहटका अध्यक्ष रामअयोध्याराय यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका सभापति राजकिशोरप्रसाद यादवलगायत जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता थियो ।