प्रस, परवानीपुर, ६ फागुन/
बाराको प्रसौनी गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रसौनी बजारनजीकैको खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन गापा अध्यक्ष विनोद जैसवालले गरेका थिए । प्रसौनी गापाभरिका सरकारी र निजी गरी दर्जनभन्दा बढी विद्यालयका तीन हजार विद्यार्थीको सहभागिता रहेको सो प्रतियोगितामा नेरामावि प्रस्टोका विविध खेलकूद प्रतियोगितामा सबैभन्दा बढी पदक जित्दै प्रथम भएको थियो भने द्वितीय स्थान नेरामावि बेलहिया र नेरामावि खुटुवा जब्दीले हासिल गरे । तेस्रो स्थानमा सरस्वती मावि बेलहिया थियो ।

प्रतियोगितामा सय, चार सय र आठ सय मिटरको दौड प्रतियोगिता, सर्टफुट, लङजम्प, हाइजम्प खेलाइएको थियो । विजेता विद्यार्थीहरूलाई अतिथिहरूले शिल्ड, प्रमाणपत्र एवं पदक प्रदान गरेका थिए । शिक्षा शाखा प्रसौनी गापाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह, गापा उपाध्यक्ष किरण देवी, पालिकाका कर्मचारी, शिक्षकशिक्षिका तथा विद्यार्थीहरूको सहभागिता थियो ।

शिक्षा शाखा प्रमुख सन्तोष रौनियारको सहजीकरणमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विभिन्न साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको समापन गर्दै गापा अध्यक्ष जैसवालले खेलकूद प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभालाई उजागर गर्ने र आगामी दिनमा देशले योग्य खेलाडी पाउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here