रक्तसञ्चार केन्द्र, वीरगंजमा अहिले रगत अभाव भएको छ । सामान्यतया चाडपर्व र अत्यधिक जाडो तथा गर्मीयाममा रगतको अभाव बर्सेनि हुन्छ । चाडपर्वमा मानिसहरू आआफ्नो काममा व्यस्त हुने र अत्यधिक जाडो र गर्मीमा मौसमको प्रतिकूलताले रक्तदान गर्न सक्दैनन् । यस वर्षको जाडोयाम अहिले तराईबाट बिदा लिने क्रममा छ । केही दिनअघि भने अत्यधिक जाडोका कारण नियमितरूपमा हुने रक्तदान कार्यक्रमहरू प्रभावित भएकाले अहिले केन्द्रमा सबै खाले रगतहरूको अभाव भएको छ । यद्यपि जाडोयाममा बिरामीहरूको सङ्ख्या घट्ने गर्छ । तर माग र आपूर्तिमा समायोजन नहुँदा चाडपर्व अनि जाडो र गर्मीमा प्रत्येक वर्ष रगतको अभाव हुँदै आएको छ । रक्तसञ्चार केन्द्रको वार्षिक क्यालेन्डर अनुसार रक्तदान कार्य हुँदै आए पनि कोरोनाकालदेखि रक्तदाताहरूको सहभागिता उत्साहजनक रूपमा हुन सकेको छैन । रगतको बढ्दो मागलाई थेग्नेसम्मको काम भएको छ तर यथावस्थामा धेरै दिन थेग्न भने गा-हो छ । पर्सासहित बारा, रौतहट, सर्लाहीसम्म रक्तसञ्चार केन्द्र, वीरगंजबाटै रगतको आपूर्ति हुने गर्छ । नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीबाहेक वीरगंजमा नेशनल मेडिकल कलेजलाई आफ्नो छुट्टै रक्तसञ्चार केन्द्र सञ्चालनको इजाजत दिएको छ । नेशनल मेडिकल कलेजले सञ्चालन गरेको रक्तसञ्चार केन्द्र उसको आफ्नै अस्पतालको लागि अपुग छ । उसले अन्य अस्पताललाई सघाउने गरेको छैन । सट्टाभर्नाबाट रगतको आपूर्तिलाई कलेजले धान्ने प्रयास गरे पनि अत्यधिक मागको बखत त्यहाँका बिरामीहरूको भार पनि रक्तसञ्चार केन्द्र, वीरगंजले नै थेग्दै आएको छ ।

वीरगंजमा साना–ठूला गरी अहिले सयको सङ्ख्यामा अस्पतालहरू छन् भने बढ्ने क्रम जारी छ । त्यस्तै, बाराका कलैया, जीतपुर, सिमरा, रौतहटका चन्द्रपुर, गरुडा, गौर र सर्लाहीका हरिवन, मलङ्गवा आदि ठाउँमा पनि अस्पतालका सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । त्यहाँ आवश्यक रगतको आपूर्ति पनि वीरगंजबाट हुने गरेको छ । यसका साथै छिमेकी भारतबाट पनि बिरामीहरू आउने र यहाँका अस्पतालमा भर्ना भएर रगत चढाएर उपचारका लागि भारत जाने गर्छन् । छिमेकी भारतका बिरामीहरूका कारण पनि रगतको खपत बढी भएको हो । केन्द्रमा अहिले मासिक साढे सात सय पिन्ट बढी रगतको माग छ । मेडिकल हब भनिने चितवनको तुलनामा वीरगंजमा रगतको माग न्यून छ । राजधानी काठमाडौंमा वार्षिक दुर्ई लाख पिन्ट रगतको खपत छ भने भक्तपुरमा ३५ हजार र चितवनमा ३० हजार पिन्टको हाराहारीमा रगतको खपत छ ।

वीरगंजमा रगतको अभाव हुन नदिनका लागि सरकारले जडान गरेको कम्पोनेन्ट मेशीन चालू छ । तर कम्पोनेन्ट मेशीनको बारेमा स्थानीय चिकित्सक कम जानकार भएकाले अहिलेसम्म यसको उद्देश्य अनुसार प्रयोग भने हुन सकेको छैन । प्लाज्मा, प्लेटलेट र प्याकसेल रगतको छुट्टाछुट्टै माग भएर सोअनुरूपको आपूर्ति हुने हो भने केही हदसम्म रगत अभाव टर्न सक्थ्यो । अहिले अधिकांश बिरामीमा होल रगत खपत हुँदै आएको छ । चिकित्सकहरूले कम्पोनेन्ट मेशीनको प्रयोग बढाउने कार्य गरेमा एउटै रगतबाट तीन थरीका रगत छुट्याएर बिरामीको आवश्यकता अनुसार रगतको आपूर्ति गर्न सकिन्थ्यो । तर यस्तो हुन नसकेको कारण पनि रक्तसञ्चार केन्द्र, वीरगंजले रगत अभावको समस्या झेल्नुपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here