प्रस, परवानीपुर, ४ फागुन/
पर्सा जिल्लाको पहिलो सदरमुकाम अलौं अहिले वीरगंज महानगरपालिका वडा नं १७ मा पर्छ । अलौं ऐतिहासिक ठाउँ र महानगरपालिका अन्तर्गत पर्ने भएपनि भौतिक संरचनाको विकासको दृष्टिकोणले अहिले पनि ग्रामीण भेगकै वडाजस्तै देखिन्छ । वीरगंज, महानगरपालिका हुने क्रममा अलौं गाभिएर वडा नं १७ भएपनि त्यहाँ विकासले गति लिएको थिएन । स्थानीय तहको दोस्रो निर्वाचनपछि यस वडामा भौतिक संरचनाको विकासले गति लिन थालेको छ ।
२०७९ को दोस्रो स्थानीय तहको चुनावपछि वीरगंज मनपाले सो वडाको विकासको लागि लाखौं रकम बजेट विनियोजन गरेको छ । त्यस वडामा एमालेबाट निर्वाचित वडाध्यक्ष सञ्जीवबहादुर छतकुलीले वीरगंज महानगरको बजेटमा मात्र भर नपरी प्रदेश सरकार र प्रदेश सांसदहरूबाट पनि बजेट माग गरेको बताए ।
पछिल्लो दुई आवमा उनले सो वडामा स्थानीय तह र प्रदेश सरकारबाट झन्डै १२ करोड रकम बजेट ल्याएर विकास निर्माणका काममा जुटेको उनी बताउँछन् । “म वडाध्यक्ष भएको दुई वर्ष पुग्न लागेको छ । अलौंका विभिन्न मुख्य सडकहरू कालोपत्र गर्ने योजनालाई प्राथमिक चरणमा राखेको छु । त्यसपछि अन्य विकास निर्माणका योजनाहरू अगाडि बढाउनेछु,” उनले भने ।
अलौंमा निकै प्रदूषित सडकको रूपमा सिवान टोलादेखि आइसिपी सडकको पर्खाल हुँदै आइसिपी गेटसम्म आउने सडकलाई लिइन्थ्यो । अहिले सो सडक पनि कालोपत्र हुँदैछ । करीब १५ सय मिटर लम्बाइको उक्त सडकमा माटो पुर्ने र नाला निर्माण कार्य भइरहेको छ । असार मसान्तभित्र उक्त सडक कालोपत्र गर्ने लक्ष्य छ ।
त्यसैगरी, पदमरोड–अलौंचोकदेखि अलौं हुँदै नेरा आधारभूत विद्यालय सिवानटोला सीमा क्ष्Fेत्रसम्म १५ सय मिटर लम्बाइको सडक पनि कालोपत्र गर्ने योजना छ । सो सडकका कुनैकुनै ठाउँमा कालोपत्र रहेको तर त्यसलाई पनि मरम्मत गर्ने उनले बताए । पाँच सय मिटर लम्बाइको बुढियामाई मन्दिरदेखि सीमासम्म, १५ सय मिटर लम्बाइ रहेको वडा कार्यालयदेखि कोनिया गाउँ हुँदै तिलावे नदीसम्म, स्वास्थ्य चौकीदेखि पदमरोडसम्म (एक किलोमिटर), अलौं बजारदेखि इदगाहसम्म (७०० मिटर) लगायतका सडक कालोपत्र गर्ने काम भइरहेको वडा कार्यालयले जनाएको छ ।
यसैगरी, बुढियामाई मन्दिरको सौन्दर्यीकरणमा गत आव वर्ष ४८ लाख र यस आवमा ५० लाख गरी कुल ९८ लाख बजेट विनियोजन भएको वडाध्यक्ष छतकुली बताउँछन् । यसैगरी, एक करोडको लागतमा १६ शøयाको अस्पताल पनि निर्माण भइरहेको उनले बताए । वीरगंज मनपाको सहयोगमा एक करोड लागतमा बर्थिङ सेन्टर र प्रदेश सरकारको ५० लाखको लागतमा स्वास्थ्य चौकी निर्माण भएको उनले बताए ।
सडक तथा अन्य भौतिक संरचनाको काम सम्पन्न भएपछि शैक्षिक संस्थान अर्थात् तीनवटा सरकारी विद्यालयको शैक्षिक अवस्था एवं सरसफाइ, स्वास्थ्य संस्थाको व्यवस्थापन र अन्य जीविकोपार्जनका योजनाहरूमा पनि कार्य गर्ने उनको भनाइ छ । वडाअध्यक्ष छतकुलीले विभिन्न योजनाहरू इबिडिङ भएर ठेक्का सम्झौता गरी ठेकेदारमार्पmत काम भइरहेका र ती काममा कुनै सम्झौता नगर्ने बताए ।
विसं १९०४ मा भएको अलौं पर्वलाई स्मरण गर्नको लागि अलौंमा सङ्ग्रहालय बनाउने योजना रहेको र सोको लागि बजेट छुट्याउने उनले बताए ।