प्रस, वीरगंज, २ फागुन/
पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानद्वारा स्थापित गोतामे पत्रकारिता स्वर्ण पदक पोखराका पत्रकार बद्रीविनोद प्रतीकलाई बुधवार कार्यक्रमको आयोजना गरी वितरण गरिएको छ ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एक तोलाको स्वर्ण पदक, प्रमाणपत्रसहित सो पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख सिंहले वीरगंज महानगरपालिकाले पत्रकारिताको विकासको लागि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले वीरगंज महानगरमा साढे तीन सयको हाराहारीमा पत्रकारहरू रहेको र तीमध्ये केही पत्रकारहरूको कारण सिङ्गो पत्रकारिता क्षेत्र बदनाम भइरहेको आरोप लगाए ।

नगरप्रमुख सिंहले एउटा आलुले सिङ्गो बोराको आलु कुहाएझैं केही पत्रकारहरूको कारण सिङ्गो पत्रकारिता जगत् बदनाम हुनुभएन भन्दै यसको सुधारको लागि अग्रजहरूले पहलकदमी गर्नुपर्ने बताए । नगरप्रमुख सिंहले पत्रकारहरू आफै न्यायाधीश हुनु उपयुक्त नभएको भन्दै तथ्यपरक समाचार सम्प्रेषण गरेर कर्तव्य निर्वाह गर्न सुझाए । आफूमाथि नागरिकता किर्ते गरेको भनी लगाइएको आरोपको उनले प्रतिवाद गर्दै कानूनले दोषी ठहर गराएको खण्डमा सजाय भोग्न तयार भएको बताए । उनले आफूमाथि अहिले नियोजितरूपमा प्रहार भइरहेको र त्यसबाट विचलित नहुने बताए ।

मेयर सिंहले वीरगंजको विकासको खाका कोरेको र वैभवशाली वीरगंजको अवधारणा अनुरूप काम गरिरहेको दाबी गर्दै २१ महीनाको अवधिमा धेरै काम आधाअधूरो रहेको र त्यसलाई ४८ महीनामा सम्पन्न गर्ने अभियान अन्तर्गत काम गरिरहेको बताए ।

पुरस्कृत व्यक्ति बद्रीविनोद प्रतीकले पछिल्लो समयमा पत्रकारितामा समस्या बढ्दै गएको बताए । पोखरा महानगरमा ३७ वटा रेडियो एफएम, २२ वटा दैनिक पत्रिका रहेको तर अहिले मुश्किलले पाँचवटा दैनिक र १० वटा रेडियो स्टेशनमात्र सञ्चालन भइरहेको बताए । उनले अनलाइन पत्रिकाहरू दैनिक सञ्चालनमा आइरहे पनि अहिले पत्रकारिता गरेर घरको गर्जो टार्ने अवस्था नरहेको र यस विषयमा गहन छलफल हुनुपर्ने बताए ।

पत्रकार प्रतीकले पत्रकारिता, न्यायपालिका र सुरक्षा निकाय मात्र पनि स्वतन्त्ररूपमा काम गर्न सकेको खण्डमा देशमा आमूल परिवर्तनको अनुभूति हुन सक्ने भन्दै यो क्षेत्रमा निकै सुधारको आवश्यकता भएको औंल्याए ।

प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माले स्व गोपाल गोतामेले लेखेको पुस्तक बेचेर जम्मा भएको १० हजार रुपिययाँलाई पछिल्लो समय प्रयोगमा ल्याएको र गोतामेका शुभचिन्तक, साथीभाइहरूबाट चन्दा सङ्कलन गरी १० हजार रुपियाँ वार्षिक पुरस्कार वितरण शुरू गरेको र अहिले पाँच वर्षदेखि एक तोला सुनको स्वर्णपदकमा परिणत भएको जानकारी गराए ।

उनले पत्रकारितालाई स्वार्थवश प्रयोग गर्ने र स्वार्थपूर्ति नहुँदा लाञ्छना लगाउने प्रवृत्तिमा सुधार हुनुपर्ने बताए । उनले पत्रकारिताको विकासको लागि सबैको पहल आवश्यक भएको सुझाए ।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष चन्द्रकिशोर झाले स्वागत गर्दै स्व पत्रकार गोपालचन्द्र गौतमको जीवनीबारे बताएका थिए ।

पत्रकार गौतमको समयमा पत्रकारिता जोखिमपूर्ण रहेको र त्यस बेला पनि स्व.गोतामोले जनमुखी पत्रकारिता गरेर देशभरमा नाम कमाउन सफल भएको जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here