प्रस, वीरगंज, २ फागुन/
नेपाल र भारतका शान्ति र अहिंसाप्रेमीहरूले आज मितेरीपुलबाट संयुक्तरूपमा गाँधीदेखि बुद्धसम्म शान्ति पदयात्रा शुरू गरेका छन् ।

भारतका चर्चित अभियन्ता राजगोपाल पिभीको नेतृत्वमा भारतबाट आएका २५० जना र नेपालका १५० जना गरी चार सयजना यो पदयात्रामा सहभागी भएका थिए । दुवै देशका पदयात्रीहरूलाई मितेरीपुलमा नगरप्रमुख राजेशमान सिंहले स्वागत गर्दै शान्ति र सद्भावका लागि हुने सबैखाले प्रयत्नमा आप्mनो सहभागिता रहने बताए । उनले गाँधीदेखि बुद्धसम्म शान्ति पदयात्राको लागि सफलताको कामना पनि गरे ।

सो अवसरमा नेपाल–भारत मैत्री सङ्घका अध्यक्ष अशोक बैदलगायतको सहभागिता थियो । कार्यक्रममा पत्रकार चन्द्रकिशोर झाले भारतीय पदयात्रीले नेपालको वीरगंज नाका रोज्नुबाट गौरव महसूस भएको बताए । उनले महात्मा गाँधीले भारत छोडो आन्दोलनको शुरूआत वीरगंज नजीकको चम्पारणबाट गरेको र गौतम बुद्धले घर परिवार त्याग गरेर हिंडेको पहिलो रात वीरगंज नजीकको रामपूर्वा गाउँमा बसेको इतिहास रहेको बताए ।

उनले २००६ वर्षको अन्तरालमा जन्मिएका दुई विश्व शान्तिदूतको एकै ठाउँमा आगमन संयोग मात्र नभएको र यसले फरक किसिमको सन्देश प्रवाह गरेको बताए ।

भारतीय अभियन्ता राजगोपाल पिभीले गौतम बुद्ध र महात्मा गाँधीको आगमन भएको वीरगंज नाकालाई प्रयोग गरेर दुवै विश्व शान्तिदूतलाई पदयात्रामार्फत सम्झना गर्न पाउनु पदयात्राकाक सहभागीहरूका लागि गौरवको विषय भएको बताए ।

पदयात्राको आयोजना राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, नेपाल एकता महिला समाज, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र एकता परिषद् भारतले संयुक्तरूपमा गरेका हुन् । पदयात्रीहरू आज मितेरी पुलदेखि परवानीपुरसम्म पैदलयात्रा गरेका थिए र त्यहाँबाट बस चढेर काठमाडौंतिर लागेका थिए ।

राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष यामबहादुर दर्जीले वीरगंजबाट शुरू भएको पदयात्रा काठमाडौं पुगेर त्यहाँ आयोजना हुने विश्व सामाजिक मञ्च २०२४ मा सहभागी हुने र उनीहरूले भूमि अधिकार, शान्ति र सामाजिक न्यायको लागि आवाज बुलन्द गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here