धर्मेन्द्र चौरसिया, पोखरिया, २ फागुन/
ठोरी गाउँपालिका–३ शिकारीवासका जनताले चापाकलको पानी पिउने अवसर पाएका छन् । वर्षौदेखि शिकारीवासमा बस्दै आएका ५५ घरपरिवार अहिलेसम्म चिलमेरा खोलाबाट कुलो बनाएर पानी पिउने, कपडा धुने, भाँडा माझ्नैलगायत काम गर्दै आएका थिए ।
बाढीको समयमा खोला प्रदूषित हुँदा यस बस्तीका मानिसहरूलाई पिउने पानीको समस्या हुनुका साथै पानीबाट हुने झाडापखालाजस्ता रोगबाट ग्रसित हुने गर्दथे । स्थानीय तह गठन भएको सात वर्ष अवधि पुग्दा लाग्दा बल्ल ठोरी गापाले शिकारीवासमा तीन लाखको लागतमा चापाकल जडान गरी त्यहाँका मानिसलाई पिउने पानीको व्यवस्था गरेको छ ।
फागुन १ गते चापाकल निर्माण शुरू भएको र आजभोलिमा काम पूरा भई त्यहाँका मानिसका लागि पिउने पानीको व्यवस्था गरिने गापा अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । उनले पिउने पानीको लागि चापाकल, मोटर, ट्याङ्की र घर निर्माण गर्न लागेको बताए । पानी परेको, हावाहुरी आएको बेला पनि पिउने पानीको समस्या नहोस् भनेर घरसहितको निर्माण कार्य गरिएको उनले बताएका छन् । चापाकलको पानी ट्याङ्कीमा सञ्चय गर्ने र त्यहाँबाट पाइपको माध्यमबाट घरघरमा पु-याउने लक्ष्य रहेको गापा अध्यक्ष श्रेष्ठले बताए ।
थारूबहुल शिकारीवासमा बाहुन, क्षत्री र दलितहरूको बसोवास छ । भर्खरै मात्र सो वडाका मानिसहरूको सोलारबत्तीसम्म पहुँच पुगेको छ । त्यस अघि उनीहरू टुकी बालेर जीवनयापन गर्दै आएका थिए । अहिले गापाले सोलार सिस्टम जडान गरेपछि इन्टरनेट सेवाको लागि वाइफाइ जडान गरेको छ र उनीहरू पनि देशदुनियाँको खबर राख्ने भएका छन् ।