प्रस, वीरगंज, २५ माघ/
विन्ध्यवासिनी गाउँपालिकामा विद्यालयस्तरीय खेलकूद प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वास्थ्यको लागि खेल’ नाराका साथ शुरू भएको प्रतियोगिता माध्यमिक विद्यालय झौवागुठीको मैदानमा बुधवार सम्पन्न भएको हो ।
कार्यक्रममा गापा अध्यक्ष प्रमोद तिवारीले विद्यालयस्तरीय खेलकूद प्रतियोगिता विद्यार्थीहरूले आआफ्नो प्रतिभा उजागर गर्न पाउने अवसर भएको बताए । उनले देशलाई खेलले विश्वमाझ पहिचान दिलाउने भएकोले खेलाडी उत्पादनमा विद्यालयस्तरदेखि नै ध्यान दिनुपर्ने बताए । उनले खेलकूदलाई समयानुकूल विकास गर्ने क्रममा देखिएका समस्याहरूको पालिकास्तरबाट समाधान गर्न लाग्नुपर्ने बताए ।
माघ १९ गतेदेखि शुरू भएको प्रतियोगितामा गापा अन्तर्गतका १४ वटा विद्यालयले भाग लिएका शिक्षा शाखा प्रमुख कपिल लामिछानेले बताए । उनले प्रतियोगितामा म्युजिकल चेयर, शर्टफुट र ज्याब्लिङ थ्रो गरी तीनवटा खेल समावेश भएको बताए । प्रतियोगितामा मावितर्फ राधाकृष्ण चौरसिया मावि प्रथम र दोस्रो तथा मसरुर आधारभूत विद्यालय तेस्रो भएको थियो । यसैगरी, प्रावितर्फको खेलमा मसरुर आधारभूत विद्यालय प्रथम, भगवती नेरा प्रावि दोस्रो र राधाकृष्ण चौरसिया मावि तेस्रो भएका थिए ।
प्रधानाध्यापक रामचन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, लेखा प्रमुख मिथलेश कुशवाहा, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसी, सशस्त्र प्रहरी बल अमरपट्टिका प्रहरी निरीक्षक सागर मल्ल, गापा अन्तर्गतका विद्यालयहरूका प्रधानाध्यापक, शिक्षकशिक्षिका, विद्यार्थीहरूको सहभागिता थियो । कार्यक्रमको सहजीकरण प्रअ मुकलेश गद्दीले गरेका थिए ।