राजनीतिक दलहरूले अहिले देशको विभिन्न सडक खण्डहरूको यात्रा गर्दैछन् । नेकपा एमालेले मध्यपहाडी राजमार्गको १८ दिन लामो यात्रा तय गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणघाट बुटवल पश्चिम राजमार्गको यात्रा पूरा गरेको थियो भने अहिले नेपाली काङ्ग्रेसले तराईको हुलाकी राजमार्गको यात्रा गर्दैछ । एमाले अध्यक्ष केपीशर्मा ओलीसमेतको सहभागितामा पोलिटब्युरो, केन्द्रीय पदाधिकारीहरूको टोलीले मध्यपहाडी राजमार्गको यात्रा गर्दै राजमार्गसँग जोडिएको झुलाघाटदेखि चिवाभञ्ज्याङ्गसम्मको ३० वटा जिल्लाका मानिसहरूसँग उनीहरूको समस्या बुझ्ने काम गरेका थिए । सो यात्राको क्रममा प्राविधिकसहितको टोली परिचालन गरी सडकको अडिट गर्ने काम पनि एमालेले गरेको थियो जसले निर्माणाधीन पुष्पलाल मार्गको चार सय किलोमिटर लम्बाइ घटन सक्ने सम्भाव्यता देखिएको एमालेको दाबी छ । आमजनताको गुनासोको पुलिन्दा अध्यक्ष ओली आफैंले सम्भव भएसम्म अध्ययन पनि गरेका थिए । यसले जनतासँग राजनीतिक दलहरू प्रत्यक्षरूपमा सहभागी भएको र उनीहरूको सुखदुःख नियाल्ने अवसर पाएका थिए ।

एमालेको यो अभियानलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नेतृत्वको टोलीले नारायणघाट–बुटवल सडकखण्डको स्थलगत अनुगमन गर्दै सो सडकखण्डमा रहेका आममानिसको समस्या, चाहना बुझ्ने कार्य गरेका थियो । अहिले नारायणघाट–बुटवल छ लेन सडक निर्माण शुरू छ । कलर्भट, पुल निर्माणका कामहरू जारी छन् भने पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्रका लागि सडक ग्रेभल गर्नेलगायत कामहरू भइरहेका छन् । यो सडकखण्डको निर्माण कार्य चिनियाँ ठेकेदारहरूले गरिरहेकाले राष्ट्रिय स्वतन्त्र पार्टीले यही सडकखण्डको अनुगमन किन गरेको भनी नेपालस्थित चिनियाँ राजदूतावासले अध्यक्ष लामिछानेलाई भेटेरै जिज्ञासा मेटाउने प्रयत्न गरेको थियो । कुन सडकखण्ड कुन निर्माण कम्पनीले गरिरहेको छ भन्ने कुरा सरोकारको विषय हुनुहुन्न । सरोकारको विषय त सडकखण्डको निर्माण तोकिएको मापदण्ड अनुसार भइरहेको छ, छैन हेर्ने हो । अनि सो राजमार्ग निर्माणबाट स्थानीयलाई परेको समस्या र त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने हो ।

अहिले नेपाली काङ्ग्रेस पार्टीको आधिकारिक अभियान नभए पनि सो पार्टीका महामन्त्री गगन थापा नेतृत्वमा सहमहामन्त्रीहरू, सांसद र केन्द्रीय सदस्यहरूको टोलीले हुलाकी राजमार्गमा ‘समुदायमा जाऔं, नागरिकका कुरा सुनौं’ भन्ने अभियान शुरू गरेका छन् । थापाको यो अभियान झापाबाट शुरू भएर कञ्चनपुर पुगेर सकिने छ । अभियानमा हिंडेका महामन्त्री थापाको टोलीले स्थानीय, पार्टीका नेता कार्यकर्ताहरूसँग संवाद पनि गर्दै अगाडि बढेको छ । यो क्रममा मधेसमा रहेका समस्याहरूको पहिचान भएको छ र त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने कुराको गृहकार्य गर्न सजिलो हुनेछ । राजनीतिक दल र नेताहरू चुनावको बखतमा मात्र जनतासँग सामीप्य बढाउने, घरघरमा पुग्ने, सुखदुःखको कुरा गर्ने अनि चुनाव बितेपछि तँ को म को अवस्था सिर्जना गर्नाले राजनीतिक दल र तिनका नेताहरूप्रति आम जनविश्वास गुम्दै गएको हो । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा छन् भने काङ्ग्रेस सरकारमा छ । तर सबैले आप्mनो तहबाट समस्या पहिचान गर्ने र त्यसको समाधानका लागि संसद्मा पहल गर्ने हो भने जनताका समस्या चाँडो सम्बोधन हुने थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here