• बैद्यनाथ श्रमजीवी

विकास अर्थात ‘क्रमिक विकास’ । हामीले यति बेला देखिरहेको सम्पूर्ण जीव र जगत क्रमिक विकासकै उपज हुन् भन्दा अत्युक्ति नहोला । हुनत जसलाई हामी ज्ञान भन्छौं, त्यो पनि क्रमिक विकासकै उपज हो । आजको आधुनिक विज्ञानले प्रमाणित गरिसकेको छ कि ब्रह्माण्डमा निकै लामो समयसम्म पृथ्वी जीवविहीन थियो । जीव नै नहुँदा मान्छे पनि हुने कुरै भएन ।

साढे तेह्र अर्ब वर्ष पहिले भएको एक विन्दुभित्रको महा–विस्फोटबाट यो ब्रह्माण्डको उत्पत्ति भएको कुरामा वैज्ञानिकहरू सहमत छन् । ब्रह्माण्डको विकास क्रममा हाम्रो आकाशगङ्गा र त्यसभित्र रहेको हाम्रो सूर्य परिवार साढे चार अर्ब वर्ष पहिले विकसित भयो जसमा रहेका आठ ग्रहमध्ये एउटा, हाम्रो पृथ्वी हो । पृथ्वीमा जीवहरूको विकासक्रम हामीसम्म आइपुग्दा निकै समय बितिसकेको छ । मानिसको मनमा, प्राकृतिक घटना–दुर्घटनाहरूको सामना गर्दा अनेक प्रश्न उब्जिने गथ्र्याे । जसको उत्तर खोज्न उनीहरू प्रयत्नरत थिए । मानवले ती अनुत्तरित प्रश्नहरूको उत्तर खोज्दै जाँदा, ज्ञानको अभावमा ईश्वरीय शक्तिको कल्पना गरे ।

यो एक्काइसौं शताब्दी हो । अब पनि हामी मिथकहरूलाई आधार बनाएर हिंडिरहेका छौं । यस्तोमा प्रश्न उठ्छ समयसँगै हाम्रो चेतनाको स्तर किन उठ्न सकिरहेको छैन ? भारतको अयोध्यामा राममन्दिरको, भारतका चारमध्ये तीनजना जगद्गुरु शङ्कराचार्यहरूद्वारा बहिष्कृत, उद्घाटन हुँदा हामी नेपालीले दिपावली गर्नुपर्ने कारण के ? मानिसले प्राणप्रतिष्ठा गरेपछि पुजनीय बन्ने भगवान मानिसले नै बनाएको हो भन्ने कुरामा शङ्का गर्नुपर्ने ठाउँ छैन । नवनिर्मित राम मन्दिरसम्म पुग्न १४ किलोमीटर बाटो फराकिलो बनाउँदा ३० वटा मन्दिर र १४ वटा मस्जिद भत्किए । भारतका शङ्कराचार्यहरूले–के भत्काइएका मन्दिर, मस्जिदहरू नवनिर्मित मन्दिरभन्दा कम महŒवका थिए ? भनी गरेको प्रश्नलाई कसरी असान्दर्भिक मान्ने ?

हामीलाई थाहा छ, ई.स. २०२४ मा भारतीय संसद्को चुनाव हुँदैछ । त्यही चुनावी अभियोजनको लागि हिन्दूहरूलाई भोट बैंकको रूपमा प्रयोग गर्न बिजेपीले मन्दिर उद्घाटन गर्न लागेको हो । जबकि धर्मगुरुहरूका अनुसार मन्दिर कार्य सम्पन्न नहुँदै गरिएको प्राण प्रतिष्ठाबाट मन्दिरमा देवता होइन, भूत, प्रेत, पिचासको वास हुन्छ । यसरी हेर्दा स्पष्ट देखिन्छ कि धर्मलाई राजनीतिक अभीष्ट पूर्तिका लागि प्रयोग गरिएको छ ।

सिन्धुघाटी सभ्यतामा भौतिकवादी दर्शन नभएको होइन, चार्वाकहरू भौतिकवादी नै थिए । तत्कालीन अवस्थामा बुद्धिस्टहरू नास्तिक थिए, तर भारत र नेपालमा चार्वाक वा बुद्ध दर्शन किन सिध्याइयो ? यसको अध्ययन–अनुसन्धान जरूरी छ ।

दर्शनको क्षेत्रमा चेतनाको विकासको कुरा गर्ने हो भने इसापूर्व ३४० मा ग्रीक दार्शनिक एरिस्टोटलले ‘अन दि हेभन्स’ पुस्तकमा सूर्य, चन्द्रमासहितका अरू ग्रहहरूले पृथ्वीलाई केन्द्र मानेर परिक्रमा गर्छन् भन्ने विचार सार्वजनिक गरे । उनको यो धारणालाई अर्का दार्शनिक टोलेमीले अझै विस्तारमा व्याख्या गरे । यसलाई क्रिश्चियन चर्चहरू (जो त्यसबखत सामाजिक सत्ता–चेतनाका आधिकारिक न्यायाधीश र कार्यान्वयनकर्ता समेत थिए) ले पृथ्वीलाई केन्द्रमा राखेर अरू ग्रहहरूले परिक्रमा गरिरहेको ब्रह्माण्डको चित्र बनाउँदै ग्रहण गरे ।

एरिस्टोटलको यो वितरित चेतना पश्चिमा समाज र खासगरी क्रिश्चियन चर्चका उच्च पादरीहरूमा डेढ हजार वर्षभन्दा लामो समयसम्म अन्तिम सत्यका रूपमा रह्यो (हकिङ, स्टेफन– अ ब्रिफ हिस्ट्री अफ टाइमः फ्रम दि विग ब्यांग टू ब्ल्याक होल्स, पृ ४) ।

सन् १५१४ मा पोल्यान्डका पादरी निकोलस कोपर्निकसले पृथ्वीलाई केन्द्र बनाएर ग्रहहरूले परिक्रमा गर्छन् भन्ने धारणाको खण्डन गरे । उनले आप्mनो अनुसन्धानको निचोडका रूपमा सूर्य केन्द्रमा रहने र पृथ्वीसहितका ग्रहहरूले सूर्यको परिक्रमा गर्ने धारणा अघि सारे । यसरी भिन्न धारणा राख्दा चर्चले विधर्मीका रूपमा उभ्याउने खतरा थियो । त्यही भएर कोपर्निकसले छद्म नाममा आप्mनो धारणा सार्वजनिक गरेका थिए ।

उक्त धारणासहितको पुस्तक उनको मरणोपरान्त सन् १५४३ मा मात्रै प्रकाशित भएको थियो, उनकै नामले ।सन् १६०९ मा इटालियन वैज्ञानिक ग्यालिलियो गलिली र जर्मन वैज्ञानिक जोहान्नेस केप्लरले कोपर्निकसको धारणालाई सार्वजनिक तवरले समर्थन गरे । त्यसपछि एरिस्टोटलको पृथ्वीकेन्द्रित अवधारणा निषेध भयो र कोपर्निकसको सूर्यकेन्द्रित अवधारणा विमर्शमा आयो ।

ग्यालिलियोले कोपर्निकसको विचारलाई समर्थन गरेकोमा क्रिश्चियन चर्चका पादरीहरू विक्षिप्त र आक्रोशित भए । उनीहरूले यसलाई पवित्र बाइबल माथि हमला भन्दै १६३३ मा ग्यालिलियोलाई आजन्म घरमैं नजरबन्दमा राख्ने आदेश दिए (हकिङ– द ग्य्रान्ड डिजाइन, पृ ४१) । तर यस क्रिश्चियन चेतले विज्ञानको सत्यलाई सधैं नजरबन्द राखिरहन सकेन । आखिरमा सूर्यकेन्द्रित परिक्रमाको सिद्धान्त स्थापित भएरै छाड्यो ।

सन् १९९२ मा रोमन क्याथोलिक चर्चले ग्यालिलियोमाथि चर्चहरूबाट गरिएको दुव्र्यवहारका लागि माफी माग्यो । पादरी अगस्टिनले आप्mनो पुस्तक ‘दि सिटी अफ गड’ मा ब्रह्माण्डको उत्पत्ति ५००० इसापूर्व भएको तर्क गरे । त्यसपछि क्रिश्चियन मतका अनुयायीहरूले विश्व सभ्यता र इतिहासको समयलाई त्यही ७००० वर्षको सीमारेखाभित्र कैद गर्ने तय गरे । तर, जब वैज्ञानिक खोज, अनुसन्धान, उत्खनन, प्रमाणहरूले पृथ्वीको आयु अर्बाैं वर्ष लामो रहेको तथ्य अघि सा-यो, क्रिश्चियन चर्चका पादरीहरू यो नयाँ अवधारणामाथि जाइलागे । अब त चर्चका मतान्धहरूबीच पनि पृथ्वीको आयु अर्बाैं वर्ष पुरानो रहेको सत्य स्थापित छ ।

स्थापित चेतना र चिन्तनसँग नयाँ चेतना टकराउनासाथ प्रचलित चेतनाले कसरी फणा उठाउँछ र नयाँ चिन्तनमाथि जाइ लाग्छ भन्ने उदाहरण हो यो ।

यसरी जाइलाग्ने काम पश्चिमा क्रिश्चियन चेतनामा मात्र होइन, बाँकी समाजमा पनि कम छैन । बरु पश्चिमा समाजले पन्ध्रौं शताब्दी यता स्थापित विचार, मान्यता, चेतना, आविष्कार, प्रमाणहरूभन्दा इतर चेतनासहित प्रकट भएका फरक संश्लेषणहरूलाई विमर्शमा स्थान दिएपछि यताका पाँच सय वर्षमा विज्ञान, दर्शन, विचार, व्यवहारमा पश्चिमा समाजले अकल्पनीय फड्को हानेको पाइन्छ ।

यसले लोकतन्त्रका लागि नागरिक चेतनाको जग ठड्याएको छ । यद्यपि त्यो व्यक्तिकेन्द्रित मुनाफामुखी व्यवहारमा विघटित छ, यो बेग्लै कुरा हो । तर, समाज र मानिसको चेतना बहस, छलफल विर्मशलाई ललकार्ने स्तरबाट कमसेकम माथि उठेकै छ ।

आजको दिनमा दलाल पूँजीवादको स्कूलिङ यस्तो छ कि नेतादेखि कार्यकर्ता सम्म (जनताभित्रको मध्यम वर्ग) धेरै मान्छे इमान र स्वाभिमान बेचेर पनि स्वार्थ साध्ने काममा लागिपर्छन् । उनीहरू भन्छन्–समय अनुसार नचले पछि परिन्छ । भन्नुको मतलब, पैसा नै प्रधान भएको छ । पैसाको लागि मानिस जेपनि गर्न तयार देखिन्छ । तर ऐतिहासिककालमा यस्तो थिएन । करीब ७० हजार वर्ष अघि अफ्रिकाबाट निस्केको ‘होमो सेपियन्स’ विभिन्न समयमा विश्वका विभिन्न ठाउँमा स-यो । त्यही क्रममा भारतीय उपमहाद्वीपका विभिन्न स्थानमा पनि आइपुग्यो ।

करीब ३५ हजार वर्षपछि मध्य–एशियाबाट अघि बढेको समूह मिसियो र पहिलो दक्षिण एशियाली आदिवासीको स्वरूप ग्रहण ग¥यो । अण्डमन टापूको निग्रोइट्स अन्जहरू तिनै पहिलो दक्षिण एशियाली भएको आनुवांशिक अध्ययनमा पाइएको छ । द्रविडियनहरू मध्य–एशियाबाट दक्षिण एशिया सरेका थिए, तर भारोपेलीहरू (आर्य) भन्दा निकै पहिले । तर, कहिले ? आनुवांशिक अध्ययनमा सामेल अध्येताहरू भन्छन्– पन्ध्र हजार वर्षभन्दा पहिले नै । ‘द जेनेटिक फर्मेशन अफ साउथ एन्ड सेन्ट्रल एशिया’ शीर्षकमा सन् २०१८ मा प्रकाशित ९२ वैज्ञानिकहरूको संयुक्त अनुसन्धानपत्रले सिन्धुका पूर्वजहरू इसापूर्व ४७०० देखि ३००० बीच जाग्रोसबाट गएकाहरू हुन् भन्छ । जाग्रोस भनेको अहिलेको इरान, इराकदेखि टर्कीसम्म फैलिएको १६ सय किलोमिटर लामो पर्वत शृङ्खला हो । आर्यहरू भने इसापूर्व २५०० आसपास सुमेरिया हुँदै भारतीय उपमहाद्वीप आइपुगेको देखिन्छ ।

यसरी बितेका सात हजार वर्षबीच जाग्रोसबाट आउनेहरू र हरप्पनहरूको सम्मीश्रण नै आजको दक्षिण एशियाली जनसङ्ख्याको प्रमुख हिस्साका रूपमा देखापर्छ । भारतीय उपमहाद्वीपमा लामो समयदेखि चिन्तन, चेतना, संस्कृति, राजनीति र धर्ममा दबदबा कायम गरेका आर्यहरूको समूह यही स्वरूपको अभिव्यक्ति भएको आनुवांशिक अध्ययनहरूले पुष्टि गरेका छन् ।

अध्येताहरू भन्छन्– मानव जाति घुमन्ते शिकारी (जङ्गली) युगबाट पशु तथा बोटबिरूवाको घरेलूकरण गरेर व्यवस्थित खेती प्रणालीमा अभिसारित भएको १० देखि १२ हजार वर्ष भयो । कतिले समय किटानै गरेर ११,७०० वर्ष भन्ने गरेको पनि पाइन्छ । हो यही कालमा क्रमशः हाम्रो समाजभित्र जात व्यवस्था, जसलाई हामी वर्ण व्यवस्था भन्छौं, विकसित भएको हो । यी कुरा अहिले हाम्रो समाजभित्र मौलिक संस्कृति र निकै पुरानो परम्पराको रूपमा स्थापित देखिन्छ । यहाँनिर प्रश्न उठ्छ –यो संस्कृति हो कि विकृति ? आजको आधुनिक युगमा यसको संरक्षण जरूरी छ ? या बिस्तारै परिमार्जन गर्दै परिवर्तन गर्न जरूरी छ ? यसतर्पm आजको युवा पीढीले सोच्न जरूरी छ ।

अब पनि रामकालीन शम्बूकहरू तपस्या गरेकै कारण काटिनुपर्ने अवस्था रहनुहुँदैन । अब त सबैको लागि शिक्षा, सबैको लागि रोजगार, सबै मानव आत्मनिर्भर समुदायको लागि सरकार जस्तो सामुदायिक कुरातर्पm अग्रसर हुन जरूरी छ । मानव चेतनाको क्रमिक विकासमा देखिएको उत्कृष्टताका नमूना हुन् आजका आधुनिक मानवभित्रका वैज्ञानिक चेतनासहितका गैलिलियो, आइन्स्टाइन, डार्विन, न्यूटन, स्टिफेन हकिङ आदि । यिनीहरूको वैज्ञानिक चेतनाको विकासले आज मानिसहरू ब्रह्माण्डमा अन्धविश्वास मुक्त भएर वैज्ञानिक भौतिकवादी विचारको साथ अगाडि बढ्न सफल भएका छन् । यस्तो स्थितिमा नेपाली समाज पनि अन्धविश्वास र रूढिवादबाट मुक्त हुनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here