प्रस, निजगढ, ७ माघ/
निजगढ नगरपालिका–८ स्थित गौरीशङ्कर माविको स्वर्णजयन्ती माग १० गते भव्यरूपमा मनाइने आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे सहभागी रहेको पत्रकार सम्मलेनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविराज बर्तौलाले कार्यक्रमलाई भव्य, सभ्यरूपमा सफल बनाउने योजनाका साथ विद्यालयले सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारी दिए ।
कार्यक्रममा विद्यालयका संस्थापक सदस्यहरू, अन्य सहयोगी व्यक्तिहरू, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू, पूर्वप्रधानाध्यापकहरू, छात्रवृत्ति कोषका सञ्चालकहरू, २० वर्ष सेवा गर्ने शिक्षक तथा कर्मचारीहरू, अङ्ग्रेजी माध्यमको कक्षाका संस्थापक शिक्षकहरू, विद्यालयमा अध्ययन गरेका वर्तमान, पूर्वमन्त्री, सङ्घीय तथा प्रदेश सांसदहरू, कक्षा ११ र १२ स्थापनार्थ महŒवपूर्ण आर्थिक सहयोग गर्ने दाताहरू, नेपाल सरकारका विशिष्ट र राजपत्राङ्कित प्रथम श्रेणी र सो सरहका वर्तमान र पूर्वकर्मचारीहरू, विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तिहरू, एमबिबिएस गर्ने व्यक्तिहरू, विशिष्ट राजनीतिक नियुक्ति लिने व्यक्तिहरू, राष्ट्रियस्तरका खेलाडीहरू, राष्ट्रियस्तरका उद्यमी, कलाकार, साहित्यकारहरू, पूर्वविद्यार्थी पत्रकारहरू, कार्यरत उत्कृष्ट शिक्षक, कर्मचारीहरूलाई यसै स्वर्णजयन्तीको अवसर भव्यरूपमा सम्मान गर्नेगरी तयारी भएको विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष दीपक सापकोटाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा एक सातादेखि निरन्तर विद्यालयले सरसफाइ कार्यक्रम, विभिन्न अतिरिक्त क्रियाकलापहरूसँगै खेलकूद, सांस्कृतिक कार्यक्रमलगायतका प्रतियोगिता सम्पन्न गरिसकेको विद्यालयका प्रअ बद्रीनारायण झाले जानकारी दिए ।
आज दलित विद्यार्थीहरूलाई न्यानो कपडा र स्कूल ब्याग जिल्ला समन्वय समिति, बाराकी उपाध्यक्ष चण्डिका उप्रेतीले वितरण गरेकी थिइन् । विद्यालय परिसरलाई आकर्षक बनाउन भित्तेचित्रसमेत कोरिएको छ । स्वर्णजयन्ती सम्पन्न गर्न २५ लाख खर्च हुुने अनुमान रहेको विद्यालयका लेखापाल रुद्र धितालले जानकारी दिए ।