प्रस, वीरगंज, ५ माघ/
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनले राज्य प्रणालीमा परिवर्तन ल्याएको बताएका छन् ।
मधेस प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालयले शुक्रवार वीरगंजको नगर सभागृहमा आयोजना गरेको छैटौं बलिदानी दिवसमा अध्यक्ष्F यादवले देशमा भएको मधेस आन्दोलनबाहेक अरू सबै आन्दोलन केवल सत्ताप्राप्तिको लागि भएको तर मधेस आन्दोलन पहिचानको लागि र राज्य प्रणालीमा परिवर्तन ल्याउन गरिएको दाबी गरे ।
उनले मधेस आन्दोलनको उद्देश्य स्वायत्त मधेस एक प्रदेश भएपनि आठ जिल्लामा सीमित गरिएको र पूर्व–पश्चिममा रहेको सिङ्गो मधेसलाई खण्डीकृत गरिएको दुःखेसो पोखे । उनले मधेस आन्दोलनको क्रममा शहादतप्राप्त गरेका र घाइते भएकाहरूलाई कहिले पनि नबिर्सिने र उनीहरूकै योगदानबाट देशमा मधेसीको पहिचान कायम भएको र मन्त्री, मुख्यमन्त्रीलगायत अन्य पद पाएको बताए । उनले जनसङ्ख्याको आधारमा मधेसलाई अपहेलित गरिंदै आएको आरोप लगाए । उनले मधेस अहिले पनि शिक्षा, रोजगारलगायत अन्य मानव सूचकाङ्कमा अन्य प्रदेशको तुलनामा पछाडि परेको बताए । उनले मधेसमा अहिले पनि चरम गरीबी रहेको र राज्यसत्ताले शोषण मात्र गरिरहेको आरोप लगाए ।
अध्यक्ष यादवले मधेसमा चुरेको जथाभावी उत्खननले अर्को ठूलो सङ्कट आउन लागेको बताए । उनले चुरे उत्खननले मधेस ध्वस्त हुने र माफियाहरूले उत्खननको खेल जारी राखेको बताए । मधेसमा भूमिगत पानीको सतहको स्तर घट्दै गएकोले यो ठूलो सङ्कटको सङ्केत हो, उनले भने ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले मधेस आन्दोलनमा शहादतप्राप्त गरेका र घाइते भएकाहरूको लागि प्रदेश सरकारले छुट्टै कार्ड बनाउने र त्यसबाट प्रदेशभरिका अस्पतालहरूमा निश्शुल्क उपचारको व्यवस्था गरिने बताए । उनले प्रदेश सरकारले कसैलाई पनि विभेद नगर्ने र शहीद परिवारबाट जागीर नपाएकाहरूलाई क्रमशः जागीर दिइने घोषणा गरे ।
जसपाका प्रमुख सचेतक प्रदीप यादव, पूर्वमुख्यमन्त्री लालबाबूराउत गद्दी, नेपाली काङ्ग्रेस, पर्साका सभापति एवं प्रदेशसभा सदस्य जनार्दनसिंह क्षत्री, श्याम पटेल, नगरप्रमुख राजेशमान सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
बलिदानी दिवसको अवसरमा ६३ शहीद परिवारका सदस्यलाई जनही रु तीन लाखको चेक र कदरपत्रसहित सम्मानित गरिएको थियो भने १३० जना घाइते परिवारका सदस्यलाई रु एकदेखि दुई लाखसम्मको चेक हस्तान्तरण गरिएको थियो ।
यसअघि घाइतेहरूको तर्पmबाट कालिकामाई गाउँपालिकाका दिनेश साह कानूलगायतका व्यक्तिहरूले विरोध प्रदर्शन गर्दै आन्दोलनमा घाइते भएका परिवारसँग विभेद भएको आरोप लगाए । उनीहरूले मधेस आन्दोलनका शहीद र घाइते भएकाहरूका कारण मधेसीको पहिचान भएको र मधेसीहरू सांसद, मन्त्री बन्न पाएका बताउँदै शहीद र घाइते परिवारहरूसँग प्रदेश सरकारले विभेद गरेको आरोप लगाएका थिए । कार्यक्रम प्रदेशका गृहमन्त्री महम्मद समीम मियाँको अध्यक्षतामा भएको थियो ।