ओमप्रकाश चौधरी, सेढवा, ३ माघ/
विगत एक सातादेखि बढ्दै गएको चीसोको कारण पर्साको ग्रामीण जीवन कष्टकर बन्दै गएको छ । बिहानैदेखि बाक्लो हुस्सु, कठ्याङ्ग्रिदो चीसो र चीसो हावाका कारण जनजीवन कष्टकर बन्दै गएको हो । दिनभरि घाम नलागेर अत्यधिक चीसो बढेका कारण दैनिक ज्यालादारी गर्ने मजदूरले काम गर्न नपाउँदा दैनिक छाक टार्नसमेत कठिनाइ भएको स्थानीय मजदूरहरूले दुःखेसो पोखे ।
अत्यधिक जाडोका कारण ससाना बालबालिका तथा वृद्धवृद्धाहरूलाई निकै कठिनाइ भएको जीराभवानी गाउँपालिका वडा नं २ सेढवाका भगवान चौधरीले बताए । जाडोका कारण ग्रामीण भेगका सडक सुनसान रहेका र अधिकांश नागरिक घरबाहिर ननिस्केका चौधरीले बताए । चीसो हावा र दिनभरि शीत झरिरहेको कारण हातगोडा कठ्याङ्ग्रिने गरेको चौधरीले बताए ।
वस्तुभावलाई समस्या
अत्यधिक जाडोका कारण वस्तुभावका समस्यालाई लिएर किसानहरू चिन्तित छन् । बाली लगाइएकाले गाई, भैंसी र बाख्रालाई घाँस नपाउने समस्या रहेको पटेर्वासुगौली गापाकी प्रमिला चौधरी थारूले बताइन् । व्यावसायिकरूपमा पशुपालन गरेका किसानहरूले घाँस उत्पादनका लागि खेती गरे पनि परम्परागतरूपमा पशुपालन गरेका किसानहरूले अहिले निकै समस्या भोग्नुपरेको थारूले गुनासो गरिन् । कतिपय किसानहरूले घाँसका लागि जङ्गलमा स्याउला लिन जाने गरेको तर जङ्गलमा पनि स्याउला नपाउने अवस्था रहेको किसानहरूले गुनासो गरे ।
दाउरा वितरण नभएको गुनासो
अत्यधिक जाडो बढेको बेला जनप्रतिनिधिहरूले दाउरा वितरण नगरेको आम नागरिकले गुनासो गरेका छन् । विगतमा जाडोको समयमा पालिकाले चोकचोकमा आगो बाल्नको लागि दाउरा वितरण गर्दै आएका थिए । तर यसपालि सर्वसाधारण तथा बटुवालाई आगो ताप्नको लागि दाउरा वितरण नभएको स्थानीयहरूले गुनासो गरे । यस सम्बन्धमा पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीले आफ्नो पालिकामा आगो ताप्नको लागि यस वर्ष दुई/तीन पटक दाउरा वितरण गरेको बताए ।