प्रस, वीरगंज, २९ पुस/
नेशनल इन्फोटेक (एनआई) कप टी–२० प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न खेलमा वीरगंज सेन्ट्रल कलेजले ग्लोबल बिजनेश क्लबलाई सात विकेटले पराजित गरेको छ ।

नारायणी क्रिकेट रङ्गशालामा जारी प्रतियोगितामा टस हारेको ग्लोबल बिजनेशले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर ९३ रन बनाएको थियो । ग्लोबलका विवेक यादवले १८, आदर्श भण्डारीले १६ र साहिल सर्राफले १२ रन बनाएका थिए । वीरगंज सेन्ट्रलका निकेश गुप्ताले तीन विकेट लिए भने मुकेश मण्डल र प्रेम प्रकाशले एक/एक विकेट लिए । ९४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको वीरगंज सेन्ट्रलले १५ ओभरमा तीन विकेट गुमाएर विजयी लक्ष्य हासिल गरेको थियो ।

वीरगंज सेन्ट्रलका कमलेश दासले ४७ रन बनाए भने निकेश गुप्ताले ३२ रन बनाएका थिए । ग्लोबल बिजनेशका आदर्श भण्डारीले दुई र अफन मल्लिकले एक विकेट लिए । यस खेलको ‘म्यान अफ दी म्याच’ निकेश गुप्ता घोषित भए ।

यसैगरी, आजै भएको वीरगंज कलेज र नेशनल एकेडेमीबीचको खेलमा नेशनल एकेडेमी चार विकेटले विजयी भएको छ । पहिले ब्याटिङ गर्दै वीरगंज कलेजले १९.३ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको थियो । वीरगंज कलेजका आदित्य पासवानले २०, आकाश यादवले १९ र सन्देश बैठाले ११ रन बनाए भने नेशनल एकेडेमीका रोशन पटेल, विशाल गुप्ताले तीन/तीन र साहनीकुमार कलवारले दुई विकेट लिए ।

प्रतिउत्तरमा नेशनल एकेडेमीले १३ ओभरमा छ विकेट गुमाइ सय रन बनाएर विजयी भएको थियो । नेशनल एकेडेमीका आबिदबाबू ठकुराईले ४७ रन र शिवचन्द्र प्रसादले १० रन बनाए । नेशनल एकेडेमीका रामप्रवेश पण्डितले तीन र मुकेश साहले एक विकेट लिए । यस खेलको ‘म्यान अफ दी म्याच’ आबिदबाबू ठकुराई घोषित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here