ग्वायाक्विल, इक्वेडर, २९ पुस/एएफपी
इक्वेडरका कैदीहरूले बन्धक बनाएका ४० भन्दा बढी जेल अधिकारीहरूलाई मुक्त गरिएको जेल प्रशासनले शनिवार जनाएको छ ।

कैदीहरूले बन्धक बनाएका २४ गार्ड र १७ प्रशासनिक कर्मचारीलाई ‘रिहा गरिएको कारागार प्रशासनले जनाएको छ । प्रशासनले यसबारे थप विस्तृत विवरण भने उपलब्ध गराएको छैन । बन्धक बनाइएका १३३ गार्ड र तीन कर्मचारी अझै रिहा हुन सकेका छैनन् ।

राष्ट्रपति डेनियल नोबोआले यसै हप्ता आपराधिक समूहहरूलाई सैन्य कारबाई शुरू गरेपछि दक्षिण अमेरिकी राष्ट्रमा नार्काे गिरोहसँग घातक मुठभेड शुरू भएपछि ती कामदारहरूलाई बन्धक बनाइएको थियो ।

यो सङ्कट देशको सबैभन्दा शक्तिशाली ड्रग कारोबार गर्ने समूहका एक नाइके फिटो भनिने जोस एडोल्फो म्यासियासको ग्वायाक्विल जेलबाट भागेपछि उत्पन्न भएको थियो ।

फिटो भागेपछि जेलमा दङ्गा, बन्धक बनाउने र प्रहरीमाथि आक्रमणहरू भएका थिए ।

भागेका कैदीलाई खोज्न र बन्धकलाई रिहा गर्न स्थल, हवाई र समुद्री गश्तीका लागि २२ हजारभन्दा बढी सैनिक तैनाथ गरिएको छ । अधिकारीहरूले शहरका मुख्या भागमा कप्mर्यु लगाई जेलहरूमा छापा मारेका छन् ।

पेरूसँगको सीमा नजीक एल ओरोमा शनिवार कैदीहरूसँग भएको झडपमा मारिएका एक गार्डसहित कम्तीमा १९ जनाको हिंसामा मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

दक्षिणपश्चिमी माचला कारागारमा ‘सशस्त्र भिडन्त’ भएपछि सेना र प्रहरीले ‘सुव्यवस्था र सामान्य स्थिति बहाली’ का लागि छवटा शहरका हिरासत केन्द्रमा छापा मारेको थियो ।

ग्वायाकिल कारागार परिसरबाट शुक्रवार साँझ कम्तीमा पाँचजना कैदी भागेका थिए र तीमध्ये दुईजनालाई खोजी अभियानका क्रममा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरू भागेलगत्तै शहरको उत्तरी बाहिरी इलाकामा रहेको विशाल कारागारको वरपर दुर्ईवटा हेलिकप्टर र ड्रोन उडिरहेको देखिएको थियो ।

इक्वेडरका कुख्यात अपराधीहरूलाई राखिएको कारागारको वरिपरि सैनिकहरूको सहयोगमा दर्जनौं प्रहरी अधिकारीहरू गश्ती गरिरहेका छन् ।

कुनै समय प्रमुख कोकिन उत्पादकहरूबीच अवस्थित शान्तिको किल्ला, इक्वेडर संयुक्त राज्य अमेरिका र युरोपमा लागू औषध ढुवानी गर्न यसको बन्दरगाह प्रयोग गर्ने अन्तर्राष्ट्रिय कार्टेलहरूको वर्षाैंको बढ्दो नियन्त्रणपछि सङ्कटमा फसेको छ ।

करीब १७० लाख जनसङ्ख्या रहेको यस देशमा आपराधिक गिरोहका २० हजारभन्दा बढी सदस्य रहेको अनुमान छ ।

पछिल्लो आधिकारिक रिपोर्ट अनुसार ८५९ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको छ, २५ जना फरार कैदीलाई पक्राउ गरिएको छ, पाँचजना ‘आतङ्ककारी’ मारिएका छन् र ५७ जना अपहृत व्यक्तिहरूलाई रिहा गरिएको छ ।

माचला कारागारमा कैद गरिएको र प्रहरीले पुष्टि गरेको एउटा डरलाग्दो भिडियोमा कैदीहरूको नियन्त्रणमा रहेको कारागारभित्रबाट प्लास्टिकमा बेरेर सडकमा फ्याँकिएको कैदीको शव देखिन्छ । पछिल्ला दिनमा पक्राउ परेका संदिग्ध गिरोहका सदस्यहरूको उपहास गरिएको, गीत गाउन बाध्य पारिएको, आपसमा कुटपिट गरेको वा सैनिकहरूले दुव्र्यवहार गरेको अन्य तस्बिरहरू सार्वजनिक भएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here