प्रस, गरुडा, १४ मङ्सिर/
पार्क, उद्यान, चोक तथा बजारमा प्रायः राजनेता र साहित्यकारहरूको सालिक बनाइएको हुन्छ तर रौतहटको एउटा चोकमा भुजा बेच्नेको सालिक राखिएको छ।
रौतहटको सदरमुकाम गौरलाई महेन्द्र राजमार्गसित जोड्ने वीरेन्द्र राजमार्गको शुकदेव चोकमा त्यही भुजा बेच्दै जीवन व्यतीत गरेका मानिसको सालिक राखिएको हो।
२०३४ मा राजमार्ग निर्माण शुरू भएपछि सडक बनाउने मजदूरहरूलाई भुजा बेच्ने काम गरेका शुकदेव साह कानूको नाममैं अहिले ठूलो बजार बसिसकेकोले तिनको सङ्घर्षलाई अमरत्व प्रदान गर्न सालिक निर्माण गरिएको शुकदेव चोक बजार व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम साहको भनाइ छ।
वीरेन्द्र राजमार्ग निर्माणको क्रममा ग्राभेल नहाल्दै माटोले पुरिसकेपछि फाट्टफुट्ट मानिस पैदल, साइकल तथा गोरुगाडा लिएर गौर आवतजावत शुरू गर्दा शुकदेव साहले एक्लै भुजा, पकौडी र सेबई बेच्न थालिसकेका थिए। घाम, बर्खा र कुहिरो सबै महीनामा एक्लै सडकछेउ भुजा–पकौडी बेच्थे।
करीब डेढ किलोमिटर पूर्व तत्कालीन जेठरहिया गाउँ पञ्चायतको वडा नं ४ घर भएका शुकदेवले घरबाट बाँसको भार बनाई त्यसैमा पानी ल्याएर राख्दथे र बाटो हिंड्ने जो कोहीलाई पानी खुवाउँथे। तिर्खाएका बटुवालाई पानी खुवाउँदा धर्म हुन्छ भन्ने उनमा विश्वास थियो। शुकदेवले सित्तैमा लाखौं बटुवालाई पानी खुवाए।
कोहीकोही भोका मानिसलाई शुकदेवले भुजा पकौडा खुवाई पानी पनि खुवाउँथे। यसरी निश्शुल्क समाजसेवा गर्दा पनि धेरैपटक चोर र डाँकाहरूको आँखाको तारो बनेका थिए।
दिनभरि भुजा–पकौडी बेचेको पैसा अनेकपटक चोर र डाँकाहरूले लुटेर लगेको स्थानीयहरू अहिले पनि सम्झन्छन्। शुकदेवका छोरा हरिओम साहले भने– धेरैपटक बुबालाई चोर र डाँकाहरूले कुटपिट गर्नुका साथै पैसा र सामान लुटेर छरेका थिए तर बुबाले पसल थाप्न छाड्नुभएन।
अहिले शुकदेव चोक रहेको ठाउँमा त्यति बेला श्मशानघाट थियो। कति मानिस त दिउँसै पनि पुग्न डराउँथे तर शुकदेवले एउटा रूखमुनि थापेको बेपारले ठूलो बजारकै रूप लिइसकेको छ। अहिले यहींबाट पूर्व सर्लाही जाने र पश्चिम विभिन्न गाउँ जाने बाटो पनि निर्माण भइसकेको छ। शुकदेव चोक आफैंमा एउटा जक्शन भइसकेको छ।
राजमार्ग निर्माण हुनुभन्दा पहिले पनि शुकदेवसाह कानू धार्मिक प्रवृत्तिका मानिस थिए। गाउँघरमा ढोलक बजाउने र कीर्तन गर्ने व्यक्तिको रूपमा उनी प्रख्यात थिए।
२००२ चैत ३० गते जन्मेका शुकदेव साह कानूले २०३५ को गर्मी महीनादेखि पसल थाप्न शुरू गरेका थिए। सामान्य साक्षर शुकदेवले आफ्नो जीवनमा कसैलाई दुःख दिएनन् र चोक बसाउन निरन्तर प्रोत्साहन दिइरहे। आफू बारम्बार कुटिए–लुटिए पनि शुकदेवले प्रहरी चौकी निर्माण गराउन सक्दो सहयोग गरे।
२०६१ कात्तिक १२ मा शुकदेवको देहावसान हुँदासम्म उनी यही बेपार गरेर बसेका थिए।
भुजा बेचेर चोक बसालेका शुकदेव साह कानूको सालिकको प्रदेश सरकारका कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव र स्थानीय सरकार प्रमुख यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले गत महीना अनावरण गरेर उनको योगदानको सम्मान गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष साहको भनाइ छ।
निरन्तर त्याग र सङ्घर्षले एकजना भुजा बेच्ने मानिसको नाममा बजार नै बस्न सक्छ र सालिक पनि निर्माण हुन सक्छ भन्ने उदाहरण रौतहटको यमुनामाई गाउँपालिकाको शुकदेव चोकमा रहेको शुकदेवसाह कानूको सालिकले प्रमाणित गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here