रामेश्वर मेहता, सिम्रौनगढ, १८ पुस/

सिम्रौनगढ नगरपालिकामा चलेको विवाद तत्कालका लागि साम्य भए पनि शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले भने तलब, सेवा सुविधा पाउन सकेका छैनन्।

सिम्रौनगढ नगरपालिकामा रहेको सामुदायिक विद्यालयहरूमा कार्यरत अस्थायी, करार र बालविकासका शिक्षकहरूले १४ महीनादेखि तलब नपाएको भनेर दुई महीना पहिले आन्दोलन गरेका थिए। उनीहरूको आन्दोलनमा पछिल्लो समयमा स्थायी शिक्षक, कर्मचारीहरू समाहित भए।

यसैगरी, नगर अस्पतालमा पनि तलब सुविधा नपाएको भनेर स्वास्थ्यकर्मी, कर्मचारीहरू आन्दोलित थिए र लामो समयदेखि अस्पताल बन्द थियो। वडा कार्यालयहरूमध्ये नेपाली काङ्ग्रेसमा आबद्ध आठवटा वडा कार्यालय तलब सुविधा नपाएको भनेर बन्द थियो।

यसै क्रममा सिम्रौनगढमा शिक्षक र प्रहरीबीच झडप पनि भयो र एकजना युवकको प्रहरीको गोली लागेर अनाहकमा ज्यान गयो। त्यसपछिको समयमा उग्र रूप लिएको यहाँको आन्दोलनलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय, बाराको अगुवाइमा वार्ता भयो र पुस ८ गते तीन बुँदे सहमतिमा बन्द स्कूल, वडा कार्यालय र अस्पतालको सेवा सञ्चालन भयो।

पुस १५ गतेभित्र नगरसभा गरेर कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीहरूको तलब भुक्तान गर्ने, बन्द वडा कार्यालय, अस्पताल, शैक्षिक संस्था सञ्चालन गर्ने र मागहरू नगरप्रमुख किशोरी कलवारले क्रमशः सम्बोधन गर्दै जाने सहमति भएको थियो तर आज पुस १७ सम्म नगरसभा बस्न सकेको छैन र कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीहरूले तलब पाएका छैनन्।

बन्द शैक्षिक संस्था, वडा कार्यालय सञ्चालनमा आएका छन्। नगर अस्पतालमा भने कर्मचारीहरू आवश्यक औषधिलगायत सामग्रीको अभावमा सेवा सञ्चालनमा ल्याउन सकेका छैनन्। स्वास्थ्यकर्मीहरू आउने, हाजिरी गर्ने र फर्कने गरेका छन्।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले वार्ता भइरहेको र एक दुई दिनमा सहमति भएर सबै काम सहज हुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here