कुमार रुपाखेती
स्व राजा महेन्द्रको पालादेखि नै नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ हुँदै आएको हो। त्यसअघि राणाकालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमण गरी नेपाल चिनाउने प्रयत्न गरेका थिए। २०४७ सालदेखि नै नेपालमा सक्रिय राजतन्त्र समाप्त भएको हो। माउन्ट एभरेस्ट (सगरमाथा) नेपालमा छ भन्ने हेक्का धेरै अमेरिकीलाई रहेछ। केहीलाई गौतम बुद्ध नेपालका धरोहर हुन् र सगरमाथामा पहिलो पाइला टेक्ने तेन्जिङ नोर्गे शेर्पा नेपाली नागरिक थिए भन्ने सामान्य ज्ञान रहेछ। कुनै बखत नेपालमा राजतन्त्र थियो भन्ने ज्ञान राख्ने अमेरिकीहरूलाई नेपालको वर्तमान शासन बागडोर कसको हातमा छ भन्ने जानकारी छैन। राजा महेन्द्र र वीरेन्द्रका नाम र काम सुन्ने यहाँ धेरै रहेछन्। केहीलाई नारायणहिटी हत्याकाण्डबारेसमेत जानकारी रहेछ। भारेटाकुरे नेताहरूको कुरा छोडौं, सरकारीस्तरमा बाहेक ओली, प्रचण्ड, बाबुराम, माधव नेपाल, शेरबहादुर को हुन् भन्ने पहिचान आम अमेरिकीमा छैन। बरु अचेल पूर्वराजाका खानदान सदस्यहरू के गर्दछन् भन्ने जिज्ञासा केही अमेरिकीमा रहेछ। पूर्वराजा ज्ञानेन्द्र र पारसलाई यहाँ कसैले चिन्दैन।
नेपाल सरकारले वर्तमान नेपालको चिनारी गराउन असफल भएपनि रोजगारको सिलसिलामा अमेरिका छिरेका नेपालीहरूले अमेरिकीहरूलाई नेपाल र नेपालीबारे चिनारी गराउने गरेका छन्। यदाकदा ह्वाइट हाउसअगाडि गरिने नेपालीहरूको विरोध प्रदर्शनले पनि यहाँ नेपाल चिनाउन थोरबहुत मदत गरेको छ। नेपालको एक छेउमा चीन छ भन्ने धेरै अमेरिकीलाई र अर्को छेउमा भारत छ भन्ने जानकारी रहेनछ। यहाँ चीनविना अमेरिकी बजार र व्यापारको कल्पना गर्ने अवस्था नै देखिंदैन। चीनको साम्यवादी व्यवस्थालाई कुनै पनि अमेरिकीले नरुचाउने तर चिनियाँ उत्पादन र सामानलाई विश्वास गर्ने परम्परा छ यहाँ। अमेरिकामा इन्डोनेसियामा निर्मित एडिडास जुत्ता र बङ्गलादेशी लुगाको राम्रो बजार देखिन्छ। सिलबन्द माछा–मासु र तरकारीहरू यहाँ अस्टे«लिया र अन्य मुलुकबाट भित्रिन्छन्। भारत र नेपालबाट चाउचाउ, गरम मसाला, घ्यू, सुर्ती, गुटखा, चामल, दाल, पीठो, आमाको अचार आदि आउने गर्दछ। अमेरिकाबाट चीनलगायत अन्य मुलुकहरूमा सोयाबिन (भटमास) र बङ्गुरको मासु पठाउने गरिन्छ।
चिनियाँ र भारतीय परिकार यहाँका सबैजसो रेस्टुरेन्टमा पाइन्छ। अमेरिकी यातायातको क्ष्Fेत्रमा जापानी, दक्षिण कोरियाली र अमेरिकी मोटरकारहरूको बिगबिगी छ। लाखौं नेपाली अमेरिकामा रहे पनि नेपाल सरकारको उदासीनताले अधिकांश अमेरिकी नेपालको बारेमा अनभिज्ञ प्रतीत हुन्छन्। नेपालबारे प्रसार गर्ने स्तरको समाचार नै पाउँदैनन् रे यहाँका मिडियाले। कालापानी जस्तो जल्दोबल्दो घटनाबारे न नेपाल सरकारले यहाँको सञ्चारमाध्यमलाई जानकारी दियो, न यिनले समाचार बनाए। भनिन्छ, २०७२ सालको भुइँचालोपछि नेपालबारे यहाँका मिडियामा कुनै प्रमुख समाचार नै प्रकाशित भएन रे। सबैभन्दा घतलाग्दो कुरा त के छ भने गोर्खाली भन्ने तगडा लडाकू हुन्, बेलायत सरकारले यिनलाई बाइज्जत फौजमा भर्ना गर्छ भन्ने थाहा पाएका अमेरिकी गोराहरूलाई गोर्खाली भन्ने नेपाली हुन् भन्ने थाहा नै छैन। शायद सरकारी कमजोरीले गर्दा हाम्रो पहिचानमा धमिरा लाग्दैछ।
झन्डै ३४ करोड जनसङ्ख्या भएको अमेरिकाका ५० वटा राज्यमध्ये अधिकांश राज्य नेपालभन्दा धेरै ठूला रहेछन्। भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशभन्दा पनि ठूलठूला राज्य छन्, अमेरिकामा। रूस, चीन र भारतको तुलनामा नेपालको विकास निर्माणमा अमेरिकी लगानी नगन्य देखिन्छ। तर पनि नेपालमा अमेरिकाबारे चर्चा परिचर्चा भइरहन्छ। संसारकै शक्तिशाली मानिने यो मुलुकको राष्ट्रपति चयनले संसारभरि नै हलचल पैदा गर्दछ। भारतलाई यहाँ भारत भनेर होइन मोदी भनेपछि चिन्दा रहेछन्। नेपाल र अमेरिकाबीच कुनै कुरामा तुलना गर्न मिल्दैन। यहाँको विकास गर्ने शैली, कानून, बजार व्यवस्थापन, शान्ति सुरक्षा, शासनशैली, रोजगार, सरसफाइ, रहनसहन, नागरिक सोच आदि हाम्रोमा ‘न’को बराबर छ। हो, हामी प्राकृतिक सौन्दर्यताले परिपूर्ण छौं, अमेरिकामा मानवनिर्मित कृत्रिम सौन्दर्यता छ। हामी प्राकृतिक सौन्दर्यतासमेत विनाश गरी कुरूप पार्दैछौं भने यिनीहरू कृत्रिम सौन्दर्यतालाई प्राकृतिक सौन्दर्यतामा परिणत गर्न प्रयत्नशील देखिन्छन्। अमेरिका यति विशाल छ कि यहाँका राज्यहरूमा कतै १० बजेको हुन्छ भने सोही समयमा कुनै राज्यमा १२ बजेको हुन्छ, कुनै राज्यमा ४ बजेको हुन्छ। अमेरिका र नेपालबीच तुलना राजा भोज र गङ्गु तेलीसरह हो।
हामीले सुनेको जस्तो छाडातन्त्र छैन अमेरिकामा। यहाँको शासनशैली, जनताको सकारात्मक सोच आदि नेपाल र नेपालीले सिक्नैपर्ने, बुझ्नैपर्ने देखिन्छ। बालबच्चा, परिवार, स्वास्थ्य र समाज अनि कानूनप्रति प्रायःजसो अमेरिकी सचेत र जिम्मेवार देखिन्छन्। देवानन्दले फिल्म ‘हरे राम हरे कृष्ण’मा देखाएजस्तो हिप्पी र नशेडीहरू यहाँबाट नदारत भइसकेको बुझिन्छ। यदाकदा लागूऔषधको कुलत र हिंसा नहुने मुलुक कुन छ र संसारमा ? नेपालमा झैं खुलेआम भट्टी सञ्चालन, लागूऔषधको प्रयोग र रक्सी बेच्न पूर्ण प्रतिबन्ध छ यहाँ। रक्सीबाहेक यहाँ सबै सामान होम डेलिभरी गरिन्छ। जाबो सुर्ती खाने बानी भएको मैले मुखमा सुर्ती च्यापेर सडकमा मान्छेले नदेख्ने गरी प्याच्च थुक्दा मेरी सानी नातिनी सान्भीले ‘बुबा सडकमा मिल्दैन’ भनी हिदायत दिन्थिइन्। नेपालको गाउँदेहातमा सामान ओसार्न र ओहोरदोहोर गर्न साइकल प्रयोग गरिन्छ तर यहाँ स्वस्थ रहन साइकल चलाउँछन्। धनाढ्यहरूको यो मुलुकमा स्वास्थ्यवर्धक मानिने साइकल घरघरै हुन्छ। अमेरिकी समुद्रमा घुम्दा पनडुब्बी, आकाशमा लडाकू विमान देख्दा यहाँको समुद्री सीमामा ‘परिन्दा भी पर मार नहीं सकता’ जस्तो महसूस भयो। अमेरिकामा एम्बुलेन्स, प्रहरी र दमकल निकै चुस्तदुरुस्त र चौबीसै घण्टा तयारी अवस्थामा देखिन्छन्। यहाँ अदालतको आदेशलाई भगवान्को आदेश मानिन्छ। कोरोना उत्कर्षमा रहेको बेला साप्ताहिकरूपमा अमेरिकी सरकारले निर्धारित राहत रकम आफ्ना नागरिकको खातामा राख्ने गरेको थियो भने सबै सरकारी विद्यालयले अनलाइन अध्ययनको लागि सम्पूर्ण विद्यार्थीलाई एक/एक थान ल्यापटप उपलब्ध गराएको थियो। जसमध्ये एक थान ल्यापटप मेरी नातिनीले समेत पाएकी छे, पढ्दै छे। यस्तो सुव्यवस्था अन्य मुलुकले शायद गर्न सकेनन्। अहिले अमेरिकामा राष्ट्रपति फेरिएको छ। शान्त मिजासका र खारिएका मानिने जो बाइडेनले अमेरिकी विकासमा ‘चार चाँद’ लगाउने यहाँका नागरिकको विश्वास देखिन्छ। यिनको जीतले यहाँ बस्ने नेपालीहरूसमेत खुशी छन्। यिनको पालामा पिआर (परमानेन्ट रेसिडेन्ट) खुकुलो हुने, डिभी परेर आउनेले सहुलियत पाउने, बाहिरिया भनेर नहेपिनुपर्ने आशा नेपालीहरूमा पलाएको देखिन्छ। तर जेसुकै भएपनि धेरै नेपालीले अमेरिकालाई आफ्नो सपनाको सुनौलो संसार ठाने पनि मेरो एक वर्षे बसाइमा मलाई त्यस्तो अनुभव भएन। मलाई त आफ्नै नेपाली धर्ती सुनौलो संसार महसूस भयो। प्रतीकमा यसपछिका मेरा लेखहरू स्वदेशमैं बसेर लेखिन्छ होला। अस्तु।