बारा जिल्लाको सिम्रौनगढ उहिलेदेखि हरियो तरकारीखेतीको लागि प्रख्यात छ । सिम्रौनगढमा उत्पादित हरियो तरकारी कलैया, वीरगंज, नारायणघाट, पोखरा, काठमाडौंलगायतका ठाउँहरूमा पुग्दै आएको छ । चार दशकअघि सिम्रौनगढमा गाँजा, अफिमखेती बढी हुन्थ्यो । २०२८ सालमा सरकारले गाँजाखेतीमाथि प्रतिबन्ध लगाएपछि पनि सिम्रौनगढलगायत बारा, पर्सा जिल्लामा गाँजाखेती रोकिएको थिएन । तर सरकारबाट प्रतिबन्ध गरिएको गाँजा र अफिमखेतीबाट मनग्य आम्दानी भएपनि सामाजिक प्रतिष्ठा र खेती फँडानी भएपछि आर्थिक समस्याले पनि पिरोलिनुभन्दा तरकारीखेती गर्नेतर्फ त्यहाँका किसानहरूले अग्रसरता देखाए र अहिले चार दशकमा नतीजा सबैसामु छ । सिम्रौनगढ, नगरपालिका बनेको छ, स्थानीय सरकारबाट किसान लक्षित कार्यक्रमहरू थुप्रै आएका छन् । किसानहरूलाई मौसमी तथा बेमौसमी तरकारीखेतीबारेमा तालीम दिने, तरकारीखेतीमा प्रख्यात देशभित्रका स्थानहरूको भ्रमण गराउने अनि सीप अनुसारको तरकारीखेती गर्न बीउबिजन, मल, कीटनाशक औषधिहरूका साथै स्प्रे, मोटर आदि सहयोगबाट उपलब्ध गराउने कार्यले त्यहाँका किसानहरू आधुनिक कृषितर्फ उन्मुख बन्दै गएका छन् ।

सिम्रौनगढ नपा–१ खजानीटोलका किसान राजकुमार कुशवाहा त्यसको उदाहरण हुन् । उनले तालीम लिएर आधुनिक कृषि शुरू गरे । विकासेखेती गरेका उनले अहिले गोलभेंडा अचाक्ली फलाएका छन् । एउटै बोटबाट २० किलोसम्म गोलभेंडा फलाएर उनले सबैलाई चकित पारेका छन् । सामान्यतया एक/दुई किलोसम्म एउटा बोटबाट गोलभेंडा उत्पादन हुन्छ तर उनले तालीम लिएका कारण विकासे गोलभेंडाखेती गरे अनि यत्रो विधि गोलभेंडा फलाउन सफल भए । तालीम, प्रशिक्षण नपाएका भए उनले आधुनिक खेती गर्नेतर्फ अग्रसर हुँदैन थिए । गोलभेंडा मात्र होइन, चुकन्दर उत्पादनमा पनि उनले सबैलाई चकित बनाएका छन् । सामान्यतया एउटा चुकन्दर एक सय ग्रामसम्मको हुन्छ तर उनले रोपेको विकासे चुकन्दर अढाई किलोसम्मको भएको छ । राजकुमार जस्तै अन्य किसानले पनि तालीम पाएर त्यसलाई व्यवहारमा उतार्ने हो भने व्यावसायिक सफलता पाउने थिए । सिम्रौनगढ कुनै बखत आलुखेतीको लागि पनि चर्चित थियो । अहिले पर्सा, बारा, मकवानपुर र भारतबाट आउने आलुमा निर्भर हुनुपरेको छ । मौसमी तरकारीखेती यो जिल्लामा हुँदै आए पनि बेमौसमी हरियो तरकारीखेतीका लागि भने छिमेकी मकवानपुरका किसानहरू अगाडि छन् । उनीहरूले बेमौसमी तरकारीखेती गरेर वीरगंज, काठमाडौं, कलैया र छिमेकी भारतसम्म निर्यात गरेर मनग्य आम्दानी गर्दैछन् ।

सिम्रौनगढमा भने बेमौसमी तरकारीखेती कम हुने गरेकाले त्यहाँका किसानहरूले मौसमी तरकारीखेतीबाट आशाप्रदरूपमा आम्दानी गर्न सकेका छैनन् । अहिले पनि बेमौसमी तरकारीका लागि भारतमा आश्रित हुनुपरेको छ । मौसमी तरकारीखेतीमा किसानहरूको मुनाफा कम हुन्छ । एउटै सिजनमा धेरै उत्पादन हुन्छ र त्यसले बजारबाट आम्दानी कम हुन्छ ।

कुन तरकारी कुन बेला उत्पादन गर्दा मुनाफा बढी हुन्छ भन्ने कुरा पनि किसानहरूले बुझ्ने हो भने प्रत्येक मौसममा आम्दानी गर्ने आधार बन्छ । त्यसैले परम्परागत तरकारीखेतीका साथै बेमौसमी तरकारीखेतीतर्फ पनि पर्सा र बाराका किसानहरूले चासो देखाउन जरुरी भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here