मोनरोभिया, १२ पुस/एएफपी
मध्य लाइबेरियामा इन्धन बोकेको ट्याङ्कर ट्रक दुर्घटना हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको त्यहाँका प्रमुख चिकित्सा अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् ।
राजधानी मोनरोभियाबाट करीब १३० किलोमिटर टाढा रहेको टोटोटामा पेट्रोल बोकेको ट्याङ्कर बुधवार दुर्घटनाग्रस्त भएर सडक नजीकैको खाडलमा खसेको थियो । त्यसपछि चुहिएको ग्याँस भर्न स्थानीय घटनास्थलमा जम्मा भएका थिए ।
चिकित्सक फ्रान्सिस कातेहले स्थानीय प्रसारक सुपर बोन्जिज टिभीसँग भने–“पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त हुँदा ४० जनाभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ ।
घटनास्थलमा जलेका मानवीय अवशेष हेर्दा मर्नेको सङ्ख्या अहिले जानकारीमा आएकोभन्दा केही बढी हुन सक्छ । यसका लागि प्रहरीले घटनास्थलबाट मृत शरीर उठाउने र परीक्षणका लागि अस्पताल पु¥याउने काम गरिरहेको छ ।”
उनले एएफपीसँग भने–“हाम्रो टोली घर–घरमा गएर हराएकाहरूको खोजी गरिरहेको छ ।”
प्रहरीले यस अघि मृतकको सङ्ख्या १५ रहेको र स्थानीय बासिन्दा घटनास्थलमा भेला हुँदा कम्तीमा ३० जना घाइते भएका बताएको थियो ।
लाइबेरिया राष्ट्रिय प्रहरीका प्रहरी नायब महानिरीक्षक प्रिन्स बी मुलबाहले भने–“त्यहाँ धेरै मानिस जलेका छन् । मृतकको सङ्ख्या तत्काल यति नै हो भन्न कठिन छ ।”
अर्का प्रहरी अधिकारी माल्भिन साकोरका अनुसार दुर्घटनापछि केही स्थानीयले चुहिएको ग्याँस भरिरहेका समय ट्याङ्कर विस्फोट हुँदा हताहत हुनेको सङ्ख्या धेरै पुगेको हो ।
टोटोटाका एक प्रत्यक्षदर्शी आरोन मासाकोइले एएफपीसँग भने–“मानिसहरू ग्याँस लिन ट्रकमाथि चढेका थिए भने केहीले ट्याङ्करबाट ग्याँस निकाल्न फलामका रडले ट्याङ्की खोपेका र यसरी निस्केको ग्याँस आगोको सम्पर्कमा पुग्दा विस्फोट हुन पुगेको थियो ।”
मासाकोइले भने–“ट्रकको चारैतिर मानिस थिए र ट्रकका चालकले उनीहरूलाई चुहिएको ग्याँस लिन सक्ने अनुमति दिएका थिए तर उनीहरूलाई ट्याङ्करमाथि नचढ्न र प्वाल नपार्न अनुरोध गरे पनि नमान्दा ठूलो मानवीय दुर्घटना हुन पुगेको छ । केही मानिसले ट्याङ्कीमा प्वाल पार्न स्त्रूm ड्राइभर प्रयोग गरेका थिए ।” रासस