प्रस, निजगढ, ११ पुस/

पछिल्लो समय बारा र रौतहटका विभिन्न आपराधिक घटनामा पेशेवर सूटरको रूपमा संलग्न रहेको जनाउँदै बारा प्रहरीको अत्यधिक खोजी सूचीमा रहेका भारत मोतीहारी जिल्ला छौडादानो पञ्चायत तिनकुनी बस्ने अन्दाजी ३२ वर्षीय सुजितकुमार सिंहलाई गोली हानी बारा प्रहरीले मङ्गलवार साँझ नियन्त्रणमा लिएको छ ।

सूटर सिंह आउने गोप्य सूचना बारा प्रहरीले पाएसँगै साँझदेखि नै बाराको नेपाल–भारत सीमावर्ती नाकाहरूमा कडाइका साथ निगरानी बढाएसँगै सीमावर्ती क्षेत्र नेपालको विश्रामपुर गाउँपालिका–३ डम्पिङ साइट नजीकैको नाकामा खटेक बारा प्रहरीका सुरक्षाकर्मी माथि सिंहले पहिलो फायर खोलेपछि सोको जवाफी फायरमा प्रहरीले चलाएको गोली लागी घाइते भएपछि उनलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक सुरेश काफ््लेले जानकारी दिएका छन् ।

दुवै खुट्टाको घुडा मुनि गोली लागेकोले घाइते सिंहको कडा निगरानीका साथ कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । सिंहले चलाएको गोलीका एक थान खोका समेत बारा प्रहरीले बरामद गरेको र उनका साथबाट एक थान घरेलु हतियार र गोलीसमेत बरामद भएको जनाएको छ ।

गत कार्तिक १३ गते सोमवार दिउँसो १ बजे बारा सदरमुकाम कलैयामा  दिन दहाडै गोली हानी कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता बोर्डिङ स्कूलका सञ्चालक गुड्डु भनिने सोही वडा घर भएका अन्दाजी ३५ वर्षीय रूपेश सर्राफको घटनास्थलमैं हत्या भएको घटनामा सिंह संलग्न भएको भन्दै बारा प्रहरीले उनको खोजी कार्य तीव्र पारेको थियो ।

प्रहरी नियन्त्रणमा रहेका सिंह विगत ५ वर्षदेखि बारा र रौतहटमा भएका विभिन्न आपराधिक घटनाहरूमा संलग्न रहेको बारा प्रहरीको दाबी रहेको जनाउँदै थप गहिरो अनुसन्धान अघि बढाएको जनाएको छ ।

यस घटनामा संलग्न रहेको भन्दै सोही कलैया उपमहानगरपालिका–६ मदर्साटोल बस्ने २२ वर्षीया राधा गुप्ता, सोही टोल बस्ने वर्ष ३४ का जालिम अख्तर, वडा नं. ९ रामपुर बस्ने वर्ष २६ को रियाज अन्सारी, भारत जिल्ला मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ जागिराकोटी बस्ने वर्ष २३ का चन्दन कुमार, भारत जिल्ला मोतिहारी पूर्वी चम्पारण थाना घोडासहन गाउँ बहार्वाकाला वडा नं. १२ बस्ने वर्ष २३ का अभिनवकुमार राजपूतलाई बारा प्रहरीले घटना भएको केही दिनपछि नैं जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

सो घटनामा संलग्न भारतीय सूटरको बारा प्रहरीले बेलैमा नियन्त्रणमा लिन नसकेको र सदरमुकाम कलैयामा रहेका जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, सशस्त्र प्रहरीसमेतको निगरानी भइरहने स्थान देखि ३/४ सय मिटरकै दूरीमा दिनदहाडै गोली हानी नागरिकको हत्या गरिएको भन्दै बारा प्रहरी प्रशासनको सुरक्षा व्यवस्थाप्रति बाराका सचेत नागरिकले जोडदार आवाज उठाउँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here