प्रस, वीरगंज, ८ पुस/
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रभित्र लोकतान्त्रिक संरचना र संयन्त्र कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्राको उपलब्धिका सम्बन्धमा आइतवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले लोकतन्त्र व्यापक प्रणाली र सङ्घीयता त्यसको एउटा पक्ष भएको बताए । यात्राको क्रममा जनताले लोकतन्त्रको पक्षमा दृढता राखेको पाइएको ओलीको भनाइ छ । “लोकतान्त्रिक व्यवस्थाको विषयमा आजको नेपाली जनता सचेत छ,” ओलीले भने ।
लोकतन्त्रलाई बलियो र संस्थागत बनाउन सबै लाग्नुपर्नेमा ओलीले जोड दिए । आफूहरू त्यसमा निरन्तर लागिरहेको उनले बताए ।
कुनै ठाउँमा नामका विषयमा वा अन्य विषयसँग जोडेर लफडा गरिएको बताउँदै ओलीले त्यस विषयमा बसेर छलफल गर्नुपर्ने बताए । राज्यलाई कमजोर बनाउने विभिन्न काम भइरहेका अवस्थामा कसलाई कति शक्ति दिने र शक्तिको बाँडफाँड कसरी गर्ने भन्ने विषयमा छलफल गरेर टुङ्गोमा पुग्नुपर्नेमा ओलीले जोड दिए ।
शक्ति र स्रोत बाँडफाँड सम्बन्धमा सम्हाल्नै नसक्ने गरी अधिकार दिन नहुने उनको सुझाव छ । यस विषयमा सोचेर निर्णय गर्नुपर्ने ओलीले बताए । अहिले शिक्षालगायतका क्षेत्रमा केही समस्या देखिएको उनको भनाइ थियो ।