प्रस, परवानीपुर, ७ पुस/

वीरगंजमा जारी सिजी एजुकेशन कपमा शनिवार दुईवटा खेल सम्पन्न भए । पहिलो खेलमा लोट्स एकेडेमी र दोस्रो खेलमा सोलिडारिटी स्कूल, हेटौंडा विजयी भएका छन् ।

दिल्ली पब्लिक स्कूल (डिपिएस) वीरगंजद्वारा आयोजित र आफ्नै खेलमैदानमा सम्पन्न पहिलो खेलमा लोट्स एकेडेमीले मोर्डन स्कूल परवानीपुरलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गरेको हो । लोट्सको तर्फबाट जेम्स चौधरीले १२औं र दिलकुमार विश्वकर्माले ४६औं मिनेटमा गोल गरेका थिए भने मोर्डनका तर्फबाट सन्दीप यादवले २८औं मिनेटमा एकमात्र गोल गरेका थिए । मोर्डनका खेलाडी लोट्सका खेलाडीसमक्ष कमजोर देखिएका थिए । यस खेलको उत्कृष्ट खेलाडी लोट्सका दिलकुमार विश्वकर्मा घोषित भए ।

त्यसैगरी, दोस्रो खेलमा हेटौंडाको सोलिडारिटी इन्टरनेशनल स्कूलले शुभतारा स्कूल सिमरालाई दुई गोलका विरुद्ध पाँच गोल गरी विजयी भएको थियो । शुभताराका समीर नेपालीले २९औं र साज गुरुङले ६१औं मिनेटमा दुई गोल गरेका थिए भने सोलिडारिटीका मिलन काफ्लेले पाँचौं, साजन खत्रीले २२औं र ४३औं र नोसिस मगरले ३०औं र ४९औं मिनेटमा शुभताराका खेलाडीद्वारा आत्मघाती गोल भएपछि सोलिडारिटी दुईका विरुद्ध पाँच गोलअन्तरले विजयी भएको हो ।

उक्त खेलको उत्कृष्ट खेलाडी सोलिडारिटीका तर्फबाट दुई गोल गरेका साजन खत्री घोषित भए । आइतवार पनि दुई खेल हुने आयोजक विद्यालय डिपिएसले जनाएको छ । आइतवार डिपिएस र ज्ञानदाबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ भने लिग राउन्ड अन्तर्गत गौतम र ब्राइटर स्कूल सिमराबीच दोस्रो खेल हुनेछ । पुस १३ गतेसम्म चल्ने प्रतियोगितामा पर्सा, बारा, मकवानपुर, चितवनका १६ वटा निजी विद्यालयको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक रञ्जीव आनन्दले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here