प्रस, वीरगंज, ६ मङ्सिर/
बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका एकजना नेपाली पुरुषसँग छ वर्ष सँगै बसेकी एकजना बङ्गलादेशी महिला अहिले ती पुरुषलाई पति भन्दै वीरगंजमा खोज्न आइपुगेकी छन् ।
बारा जिल्ला कलैया उपमहानगरपालिका–२० हाल वीरगंज महानगरपालिका–३ छपकैया निवासी नारायणी अस्पतालको बीमा शाखामा दैनिक ज्यालादारीमा कार्यरत डा जफर इमामलाई ती बङ्गलादेशी महिलाले पति दाबी गरेकी हुन् र ती महिला वीरगंज आएको थाहा पाएर डा इमाम सम्पर्कविहीन भएका छन् ।
डा इमाम बङ्गलादेशमा चिकित्साशास्त्र पढ्दा आफूसँग एक वर्ष प्रेममा रही सन् २०१८ मा बिहे गरी सँगै बसेको ती महिलाको दाबी छ ।
डा इमामकी पत्नी भएको दाबी गर्ने फतेमा तुजेहरले आफूले डा इमामसँग मुस्लिम धर्म अनुसार बिहे गरेको र सोको प्रमाण जिल्ला प्रहरी कार्यालय, पर्सामा दिएको बताएकी छन् ।
इमाम इनम मेडिकल कलेज एन्ड हस्पिटल, बङ्गलादेशमा अध्ययनरत थिए भने फतेमा अज्जाज निजानु रहमान कृषि कलेजमा बिएससीएजी अध्ययन गरिरहेकी थिइन् ।
फतेमाका अनुसार सन् २०१७ मा इमामसँग त्यहाँको एक सार्वजनिक बसमा भेटघाट भएको थियो । यात्रा गर्ने क्रममा इमामले आफ्नो मोबाइल बन्द भएको भन्दै फतेमाको मोबाइल प्रयोग गरी आफ्नो साथीसँग कुरा गरेका थिए । त्यसपछि इमाम र फतेमा निरन्तर सम्पर्कमा रहेपछि ती दुईजनाबीच प्रेम सम्बन्ध बढेको थियो । इमामले अध्ययन पूरा गरी सोही कलेजमा अध्यापन गर्ने क्रममा फतेमासँगै बसेका थिए ।
इमाम कोरोनाकालमा लकडाउन भएपछि नेपाल घर फर्केका थिए । त्यसपछि पनि उनीहरूबीच संवाद चलिरहेको थियो । यसबीच इमामको नेपालमा अर्काे केटीसँग बिहे भयो र त्यसको सुइँको फतेमाले पाएपछि उनी इमामको खोजी गर्न नेपाल आएकी हुन् ।
अप्रिलमा नेपाल आएकी फतेमालाई इमामले घरमा नराखेर बसपार्कको वेलकम होटलमा एक साता राखेर बङ्गलादेश घर फिर्ता पठाएका थिए । अहिले दोस्रो पटक तीन दिनअघि मात्र नेपाल आएकी फतेमा प्रहरीमार्फत इमामको खोजीमा लागेकी छन् ।
इमाम कार्यरत नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरञ्जन साहले डा इमाम दैनिक ज्यालादारीमा कार्यरत रहेका र हाल उनी सम्पर्कमा नभएको बताए । अहिले फतेमालाई भने माइती नेपालले आफ्नो संरक्षणमा राखेको छ ।