बलिराम शुक्ल, बिरुवागुठी, ५ पुस/

पर्सागढी नगरपालिकामा सुविधासम्पन्न जङ्गल रिसोर्ट सञ्चालनमा आएको छ ।

पर्सागढी नगरपालिका–३ झाब्राहामा दुई सातादेखि इन्दु जङ्गल रिसोर्ट सञ्चालनमा आएको हो । २१ जनाको लगानी रहेको यो रिसोर्ट जीतपुरदेखि पश्चिम सात किलोमिटर दूरीमा छ । एक बिघा क्षेत्रफलमा करीब रु छ करोडको लागतमा रिसोर्ट तयार भएको अध्यक्ष वीरेन्द्रलाल नेपालीले बताए । उनी पुराना राजनीतिकर्मी हुन् । उनले सात वर्ष लगाएर रिसोर्ट तयार भएको र तत्काल १५ जनाले प्रत्यक्ष रोजगार पाएको बताए ।

रिसोर्टमा अहिले एकपटकमा ५० जनासम्म बास बस्न सक्ने व्यवस्था रहेको उनले बताए । रिसोर्टमा १७ वटा डिलक्स सयनकक्ष रहेको छ । तालीम, गोष्ठी, बैठक आदिका लागि १५० जना अट्ने हल पनि रहेको उनले बताए ।  रिसोर्टमा स्वीमिङपुल पनि रहेको र विवाह, व्रतबन्धलगायतका शुभ कार्य गर्नको लागि पनि व्यवस्था मिलाइएको अध्यक्ष नेपालीले बताए ।

उनले रिसोर्टबाट जङ्गल क्षेत्र र त्यस क्षेत्रका प्रमुख धार्मिक शक्तिपीठहरू आमोदेवी र कोइलाभारमाई, ऐतिहासिक युद्धस्थल पर्सागढी, पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन नजीक रहेको बताए । उनले रिसोर्ट कोलाहल क्षेत्रभन्दा बाहिर भएकोले यहाँ आउने पर्यटकहरू रमाएर फर्कने आफूले विश्वास लिएको बताए ।

उनले रिसोर्ट सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिने र पर्सागढीको पहिचान बढ्नुको साथै रोजगारको अवसर सिर्जना हुने बताए । वीरगंज र आसपास बारा, रौतहट, मकवानपुर र छिमेकी भारतसम्मका पर्यटकहरूको प्रमुख गन्तव्य अहिलेसम्म चितवनको सौराहा रहँदै आएकोमा पर्सामा पनि पर्यटक भिœयाउने र यहाँको वातावरणमा रमाउने अवसर प्रदान गर्न रिसोर्ट सफल हुने उनले बताए ।

पर्साको ठोरीमा यसअघि ठोरी जङ्गल रिसोर्ट सञ्चालनमा आएको थियो भने इन्दु जङ्गल रिसोर्ट दोस्रो हो ।

ठोरी र सुवर्णपुरमा धेरै वर्षदेखि होमस्टे पनि सञ्चालनमा छन् । कम खर्चमा होमस्टेको आनन्द लिन सकिने भएकोले सुवर्णपुरको होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आउजाउ बढ्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here