प्रस, वीरगंज, ५ पुस/

माइती नेपाल, पर्साले बिहीवार पत्रकार सम्मेलन गरेर वीरगंज नाका भएर भारत जाने १८७ जना युवतीको एक वर्षमा उद्धार गरिएको जनाएको छ ।

माइती नेपाल पर्साकी संयोजक गोमा पौडेलले गत जनवरीदेखि हाल डिसेम्बरसम्म माइती नेपालले भारत जाने १८७ जना र नेपालमा महिला हिंसाका शिकार ७० जना गरी २५७ जनाको उद्धार गरेको बताइन् । उनले यो अवधिमा पर्सा प्रहरीको सहयोगमा तीनजना बालकको पनि उद्धार गरिएको बताइन् ।

संयोजक पौडेलले १८ वर्षमुनिका ३५ जना र १८ वर्ष उमेरमाथिका युवतीहरू रहेका बताइन् ।

माइती नेपालले उद्धार गरेका युवतीहरूमा बाग्मती प्रदेशका ५८ जना, मधेस र गण्डकी प्रदेशका ३८/३८ जना, कोशी प्रदेशका ३३ जना, लुम्बिनी प्रदेशका १३ र सुदूरपश्चिम प्रदेशका सातजना छन् ।

उनले गत वर्ष भारतीय प्रहरीको सहयोगमा ५६ जनाको उद्धार गरिएकोमा यो वर्ष भने १७ जनाको उद्धार गरिएको बताइन् ।

संयोजक पौडेलले वीरगंज नाकामा माइती नेपालले २६ वर्षदेखि काम गर्दै आएको र ठोरी नाकामा पाँच वर्ष काम गरेको बताइन् । उनले २०७१–७६ सालसम्म ठोरीमा काम गरेको माइती नेपालको अहिले मधेस प्रदेशका पर्सा, सर्लाही र धनुषा गरी तीन स्थानमा कार्यालय रहेको बताइन् । उनले पछिल्लो समयमा वीरगंज नाका भएर यौनजन्य कार्यका लागि भारत जानेभन्दा ठगिने कार्यमा जानेहरूको सङ्ख्या बढेको बताइन् । उनले यस वर्ष मात्रै ‘वी विनर’ भन्ने संस्थाको ठगीधन्दामा ७१ जना नेपाली युवती ठगिएको बताइन् ।

नेपाली युवतीहरूलाई आकर्षक तलब दिने भनेर सूचना आह्वान गर्ने, उनीहरूसँग दुई लाख नेरु धरौटीबापतको रकम लिने र मासिक २४ हजारको दरले तलब सुविधा दिएको देखाएर एकपछि अर्काे नेपाली युवतीहरूलाई समूहमा आबद्ध गरेर ठगी गर्दै आएको बताइन् । उनले ‘वी विनर’ले रोजगार दिएको ठानेर नेपाली युवतीहरू धमाधम त्यो संस्थामा रकम बुझाउने गरेकामा माइती नेपालले यसबारेमा सचेत पारेर ७१ जना युवतीको उद्धार गरेको संयोजक पौडेलले बताइन् । उनले भारतमा यौन व्यापार, आर्केस्ट्रामा जाने नेपाली युवतीहरूको सङ्ख्या घटेको तर मार्केटिड्ढो नाममा हुने ठगीधन्दाका लागि जाने क्रम बढेको बताइन् ।

अहिलेसम्म उद्धार भएका ७१ जनामध्ये १० जना मात्र निरक्षर युवती भेटिएका र बाँकी कक्षा १० सम्म पढेका युवतीहरू रहेको उनको भनाइ थियो । शुरूमा ओरियन्ट, रिभिजन र अहिले वी विनर तथा विशाल मार्टको नाममा नेपाली युवतीहरूलाई रोजगार दिने नाममा ठगीधन्दा चलिरहेको संयोजक पौडेलले बताइन् ।

माइती नेपालका फिल्ड सुपरभाइजर वीरेन्द्र गौतमले वीरगंज नाकाभन्दा खुला सीमाको फाइदा उठाएर भारत जाने क्रम बढेको बताए । उनले बाराको बलिरामपुर, पर्साको भिस्वा, सबैठवा नाकाबाट युवतीहरूलाई बेचबिखनको लागि लग्ने गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here