प्रस, रौतहट, ५ पुस/
वृन्दावन नगरपालिका अन्तर्गत पर्ने बाग्मती नदीमा अनुमतिविना उत्खनन भइरहेको छ ।
नगरपालिकाले ठेक्का नलगाएको अवस्थामा अवैधरूपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको स्थानीयले बताए ।
शिवम् क्रसर उद्योगले पाँचवटा एक्साभेटर र सातवटा टिपर प्रयोग गरी बालुवा, गिट्टी, ढुङ्गा धमाधम उत्खनन गरिरहेको छ ।
बाग्मती नदी किनारमा रहेको उक्त क्रसर उद्योग नगरपालिकामा दर्ता नरहेको वृन्दावन नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रासनारायण पटेलले बताए ।
बलपूर्वक शिवम् क्रसर उद्योगले उत्खनन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत पटेलले बताए । सर्लाही जिल्लाको अनुमतिमा रौतहटको भूभागमा उत्खनन भइरहेको र यो कानूनविपरीत रहेको उनले बताए ।
खोला वा नदी किनारदेखि पाँच सय मिटरभित्रमा क्रसर उद्योग स्थापना गर्न नपाउने नियम छ तर शिवम् क्रसर उद्योग बाग्मती नदीको किनारैमा सञ्चालित छ र सरोकारवाला निकाय भने मौन बसेको छ ।
काठमाडौंबाट आएको निरीक्षण टोलीले आर्थिक लाभ लिई गूगल नक्शा अनुसार ठीक छ भनी सफाइ दिने गरेको उनले आरोप लगाए ।
जबकि सर्वसाधारण मानिसको आँखाले नदीको किनारमंै क्रसर उद्योग सञ्चालन भएको देख्न सकिन्छ । स्थानीय प्रहरीको मिलेमतोमा बाग्मती नदीमा अवैध उत्खनन भइरहेको छ ।
वृन्दावन नपाले आह्वान गरेको टेन्डर सकार गरेको ठेकेदारले ठेक्का सम्झौता गर्न नआएको निमित्त प्रमुख पटेलले बताए । अवैध उत्खनन भइरहेको थाहा पाई रोक्न जाँदा शिवम्ले अटेर गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पटेलले बताए ।