त्रिपोली, १ पुस/एएफपी

उत्तरी अफ्रिकामा पछिल्लो त्रासदीमा लिबियाको तटमा डुङ्गा डुब्दा कम्तीमा ६१ आप्रवासी बेपत्ता भएका वा उनीहरूको मृत्यु भएको अनुमान गरिएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले शनिवार बताएको छ ।

आइओएमको लिबिया कार्यालयले एएफपीलाई दिएको विज्ञप्तिमा भनिएको छ–“लिबियाको उत्तरपश्चिमी तटमा जुवाराबाट प्रस्थान भएपछि आप्रवासीहरू चढेको डुङ्गा उच्च छालका कारण डुबेर उनीहरूको मृत्यु भएको विश्वास गरिएको छ ।”

जीवितहरूलाई उद्धृत गर्दै नाइजेरिया, गाम्बिया र अन्य अफ्रिकी मुलुकहरूबाट महिला र बालबालिकासहित करीब ८६ आप्रवासी उक्त डुङ्गामा सवार रहेको आइओएमले विज्ञप्तिमा उल्लेख गरेको छ । “२५ जनाको उद्धार गरी लिबियाको हिरासत केन्द्रमा सारिएको छ”–आइओएमले भनेको छ । जीवित सबैको अवस्था राम्रो रहेको र उनीहरूलाई आइओएमका कर्मचारीबाट चिकित्सा सहयोग प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

इटाली हुँदै युरोप पुग्ने अपेक्षामा खतरनाक समुद्री यात्राको जोखिम उठाउने आप्रवासीहरूका लागि लिबिया र ट्युनिशिया प्रमुख प्रस्थान विन्दु हुन् । संयुक्त राष्ट्रसङ्घीय एजेन्सी आइओएमका अनुसार यस वर्ष ट्युनिशिया र लिबियाबाट १५३ हजारभन्दा धेरै आप्रवासी इटाली पुगेका छन् ।

इटालीका अतिदक्षिणपन्थी प्रधानमन्त्री जियोर्जिया मेलोनीले अवैध आप्रवासन रोक्ने वाचा गरेपछि गत वर्ष निर्वाचन जितेका थिए । मेलोनीको कट्टर–दक्षिणपन्थी सरकारले उत्तरी अफ्रिकाबाट खतरनाक समुद्री यात्रा गर्ने मानिसहरूलाई बचाउने परोपकारी जहाजहरूको गतिविधिमाथि प्रतिबन्ध लगाउन धेरै उपाय लिएको छ ।

अवैध आप्रवासनसँग सामना गर्ने उनको दृष्टिकोणलाई शनिवार रोमको भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री ऋषि सुनकले पनि प्रशंसा गरेका छन् । दुवै नेताले आआफ्ना मुलुकका तटहरूमा आप्रवासी डुङ्गाको अवतरण रोक्ने र मानव तस्करहरूविरुद्ध लड्ने प्रयासलाई तीव्रता दिने वाचा गरे ।

संयुक्त राष्ट्रसङ्घले केन्द्रीय भूमध्यसागरीय आप्रवासन मार्गलाई संसारको सबैभन्दा घातक मानेको छ । उक्त मार्गबाट प्रत्येक वर्ष सयौं मानिसको ज्यान जाने गरेको छ । आइओएमका प्रवक्ता फ्लाभियो डि जियाकोमोले शनिवार सामाजिक सञ्जाल एक्समा लेखेका छन्– “यस वर्ष केन्द्रीय भूमध्यसागरीय मार्गमा २,२५० भन्दा बढीको मृत्यु भएको छ, यो नाटकीय तथ्याङ्कले समुद्रमा जीवन बचाउन पर्याप्त काम भइरहेको छैन भन्ने देखाउँछ ।”

लिबियाबाट इटाली हुँदै ७५० सवार माछा मार्ने डुङ्गा एड्रियाना जून १४ मा दक्षिणपश्चिम ग्रीसको अन्तर्राष्ट्रिय जल क्षेत्रमा डुबेको थियो । उक्त दुर्घटनामा बाँचकाहरूका अनुसार डुङ्गामा मुख्यरूपमा सिरियाली, पाकिस्तानी र इजिप्टेली सवार थिए । तीमध्ये १०४ जना मात्र बाँच्न सफल भए । ८२ शव फेला प¥यो ।

नाटो समर्थित विद्रोहमा लिबियामा तानाशाह मुअम्मर गद्दाफीलाई सत्ताच्युत गरी हत्या गरिएपछिको एक दशकभन्दा धेरै समयदेखि जारी हिंसाले मुलुकलाई मानव तस्करहरूका लागि उर्वर भूमिमा परिणत गर्न सहयोग गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here