प्रस, निजगढ, ३० मङ्सिर/

नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति १ बाराको आह्वानमा शनिवार पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको निजगढ सडकखण्ड अवरुद्ध गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको राजीनामा र सिम्रौनगढ नगरपालिकाका  प्रमुख किशोरी साह कलवारमाथि कर्तव्यज्यान मुद्दा दर्ता गर्न माग गर्दै दिउँसो करीब १ बजेदेखि गरिएको सडक अवरोध साँझ ४ः३० बजे खुलेको थियो ।

मृतक बिनलाई शहीद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति, रोजगारको प्रत्याभूति, मृतकका सन्तानको निश्शुल्क अध्ययनको प्रत्याभूति गर्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय, बारामा हिजो शुक्रवार ज्ञापनपत्र दिइसके पनि वार्ताका लागि कुनै पहल नभएपछि पीडितको तर्फबाट बाध्य भएर सडक आन्दोलन गर्नुपरेको आन्दोलनका नेतृत्वकर्ता एवं नेका क्षेत्रीय कार्यसमिति १ बाराका क्षेत्रीय सभापति विजयशङ्कर यादवले बताए ।

बुधवार सिम्रौनगढ नगरपालिकामा भएको शिक्षक आन्दोलनको क्रममा प्रहरीले चलाएको गोली लागेर सिम्रौनगढ नगरपालिका–१ नामसागरा ढाट बस्ने २५ वर्षीय लक्ष्मीमुखिया बिनको मृत्यु भएको थियो । गोलीकाण्डमा सोही नगरपालिका निवासी मधेस प्रदेशका मुख्यमन्त्री यादव र नगरपालिका प्रमुख कलवारको हात रहेको आरोप लगाउँदै सभापति यादवको नेतृत्वमा आज निजगढस्थित राजमार्ग अवरुद्ध गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here