• सञ्जय मित्र

 “आ, १० हजार हो । अझ १० हजार एक सय रुपैयाँ हो ।”

कतै घोषणा छैन, कुनै जानकारी छैन, अनौपचारिकरूपमा सुइँकोसम्म छैन भन्ने कुनै कुराको अनुमान पनि व्यर्थ हुन्छ । अर्काको लागि अनुमान गर्ने वा सोध्ने बानी छैन । लोभ, मोह, अपेक्षा वा चाहना भए त एउटा कुरा । निर्लोभ, निर्मोह, निरपेक्ष आ निर्चाहनामा केही कतै भइहाल्छ भने कतैबाट नियोजित भएपनि जसको लागि हुन्छ, उसलाई अनपेक्षित नै हुन्छ ।

गत मङ्सिर १६, २०८० शनिवारका दिन सर्लाहीको बरहथवास्थित सियान पार्टी प्यालेसको एउटा कार्यक्रममा यस्तै हुन गयो । मेरोलागि सम्मानपत्र र दोसल्लासहित रकम प्राप्ति बिल्कुलै अनपेक्षित थियो । यसअघि सर्लाहीकै एक गाउँमा बज्जिका समृद्धि समाज नामक संस्थाद्वारा आयोजित कार्यक्रममा मलाई ‘बज्जिका शिरोमणि’ उपाधि दिइएको थियो, उपाधि सम्मानपत्रसहित दोसल्ला ओढाएर । अझै १० वर्षअघि हेटौंडामा आयोजित एउटा कार्यक्रममा पाँच हजार एक सय रुपैयाँ, सम्मानपत्रसहित नारायणी साहित्य सम्मेलन सम्मान दिइएको थियो । अलिकति पनि पूर्वसङ्केत वा जानकारी केही नदिईकनै पाइएका यी कार्यक्रमहरूले मलाई साँच्चीकै तत्क्षणमा निकै विस्मित वा अचम्भित पार्ने गरेका छन् । यसपटक पनि यस्तै भयो ।

कुरो कस्तो छ भने बरहथवा बजारको ऐतिहासिक परिचयको पृष्ठभूमिमा महानन्द झाको जीवनी लेख्नुपर्ने थियो । जीवनी लेखनको पहिलो काम भएपनि म अनुसन्धानमा निरन्तर खटिरहेको छु । महानन्द झा सर्लाहीको सिमरा हडारीका हुन्, जो प्रहरी सेवाबाट निवृत्त जीवन बिताइरहेका करीब ४० वर्षदेखि । उनका दुई भाइ छोरा अमेरिकामा सम्मानित जीवन बिताइरहेका छन् । तीमध्ये एकजनाको विश्वराज अधिकारीसित निकै हिमचिम रहेको छ । विश्वराज अधिकारीलाई म निकै सम्मान गर्छु । सायद म गर्न सक्छु भन्ने विश्वास पनि छ । सोही सम्मान र विश्वासलाई अधिकारीले जीवनी लेखनमा उपयोग गरेका हुन् । यसमा आदरणीय अधिकारीजीको कुनै स्वार्थ छ जस्तो लागेको छैन मलाई । जन्मको दृष्टिकोणले जिल्लावासी र बसाइँको दृष्टिकोणले एकादेशका प्रवासीका साथै आफ्ना अन्तरङ्ग मित्र डा विजय झा र मबीच एउटा सम्बन्ध गाँसिदिनुपर्छ भन्ने लागेको हो वा आफ्ना मित्र डा मिश्रको आग्रहलाई पूरा गर्न हो । वा अन्य केही हेतु हुन सक्ला । अब जब यो प्रोजेक्ट पूरा भइसकेको छ, त्यो पूरा हुन पायो वा बाँकी रह्यो, सोध्न सकेको छैन । डा झा, साहित्यिक मानिस नभए पनि अहिले मसित पनि हार्दिक भएका छन् । हामी एकापसमा कहिलेकाहीं लामो समय कुराकानी गर्ने भइसकेका छौं ।

वास्तवमा मेरो लेखन तथा अध्ययनको दृष्टिकोणले यो काम प्रत्युत्पादक रहेको छ । यस अर्थमा कि यो प्रोजेक्ट थाल्नुअघि एउटा सिर्जनात्मक काम शुरू गरिसकेको थिएँ, जसलाई यसले रोकेको छ । यो प्रोजेक्ट पूरा भइसकेको महीनौं भइसकेको भएपनि म आफ्नो त्यस सिर्जनात्मक कामतिर फर्कन सकेको छैन । मेरो उक्त सिर्जना अधूरो रहने पो हो कि भन्ने डर पनि लाग्छ कहिलेकाहीं । यद्यपि म पूरा गर्छु भन्ने अठोट हो मेरो ।

म सिर्जनामा रमाउन चाहने र अनुसन्धान गर्नुपरे मुख्य गरी साहित्य वा भाषासित सम्बन्धित भएर गर्न खोज्ने मान्छे हुँ । जीवनी लेख्न मलाई निकै डर लाग्छ । आदरणीय अधिकारीजीलाई मैले पटकपटक अप्रत्यक्षरूपमा अस्वीकार गरेको हुँ तर किन हो किन मलाई कन्भिन्स गर्नमा कैयौं महीना बिताउँदा मैले रहरले भन्दा पनि करले वा अधिकारीजीको डरले मैले अभिभारा स्वीकार गरेको हुँ ।

म यो दाउँमा थिएँ कि बीचैमा छाड्नुपरे पनि मलाई फरक नपरोस् । अधिकारीजीले मलाई बारम्बार भन्ने गरेको सम्झन्छुः आतेजाते, इन्धन र खाजा खर्च के कति लाग्छ निर्धक्क भन्नुहोला । अमेरिकी संस्कृतिको एउटा राम्रो पक्ष के हो भने परिश्रमको पारिश्रमिक लिनुपर्छ, जसले परिश्रमको सम्मान हुन्छ । अप्ठ्यारो नमान्नुहोला वा खाता नम्बर दिनुस्, पठाउन लगाइदिन्छु । सम्भवतः जाँगरको दृष्टिकोणले मनोवैज्ञानिक प्रभाव पार्नु उद्देश्य हुन्थ्यो तर मैले यस किसिमको प्रस्तावलाई कहिल्यै स्वीकार गरिनँ । मलाई फेरि यस्तो बानी पर्यो भने के गर्ने ? मनभित्र लोभ उम्रिन शुरू गर्यो भने ? यसैले सिमरा हडारी झाजीको घर पुगेर उनैको घरमा बसेर मैले अन्तर्वार्ता लिइरहँदा पनि मैले आफ्नो खल्तीबाट पैसा निकालेर पानी किन्न लगाएर पिएको हुँ, प्रचण्ड गर्मीमा तिर्खा लाग्दा ।

बरहथवामा करीब आठ महीनाको दौडधूप रहेको छ, यस कार्यको लागि । एक्लै कुदें । किशुनदयाल श्रीकृष्णलाई धेरैपटक सँगै लिएर गएँ । अरू दुई/तीन जनालाई पनि लिएर गएको हुँ । जाँदा खाजा त सधैं खाएका छौं होटलमा । यसैगरी, कम्तीमा पेट्रोल खर्च त हुने नै भयो । समय व्यय नभई आवतजावत हुँदैहुँदैन । फेरि जे कुरा गर्न गएको हो, त्यससित सम्बन्धित भएर आफ्नो उद्देश्यलाई अगाडि बढाउनु छ । अधिकांश मानिस यस्ता पाएँ, जसले स्वगानबाहेक केही गरेनन् । धेरै मानिस यस्ता पनि भेटिए, जसलाई मूल विषयमा प्रवेश गर्न खोज्दा मनैबाट आक्रोश निकालेर बाहिर यस्तो हुँदै होइन भने । कतिपय मानिसले भनेको कुराको तिथिमितिसित कुनै वास्ता हुँदैनथ्यो । कतिपयमा मानिसले आफूले सुनेको तर कहाँ वा कसबाट सुनेको हो भन्ने कुरा बताउनुभन्दा त्यो चाहिं थाहा नभएको बताए । साँच्चीकै प्रारम्भिक स्रोतबाट कुनै तथ्य सङ्कलन गर्न कति गार्हो रहेछ भन्ने कुरा यसबाट सजिलै बुझ्न सकिन्छ । फेरि हामीकहाँको एउटा सामान्य समस्या हो– कतैबाट प्रायोजित भनिठान्ने ।

कतिपयले त सोझै भने– कुनै एनजिओबाट पैसा पाएको होला । एक/दुई ठाउँमा त नगरपालिकाले खटाएको होला, यहाँको लोकललाई यो काम दिएको भए हुन्थ्यो भनेको पनि सुनियो । एक ठाउँमा भन्नुपर्यो– नगरपालिकाले गराएको होइन, म आफैं सक्रिय भएको हुँ ।

व्यक्तिलाई भेट्न जाँदा भेट नहुनु स्वाभाविक हो । तर धेरै नै यस्ता मानिसहरू भेटिए, जो आफ्नोबाहेक अरूका कुरा गर्दैनथे । यो पक्ष मलाई एक हदसम्म ठीक लाग्यो तर यस विषयमा फलानोलाई बढी जानकारी होला भन्दा तिनले भनेको नाम पछ्याउँदै व्यक्तिलाई खोज्दै, भेट्दै गर्दा कतिपय अवस्थामा वास्तविकताको खोजी सजिलो भयो । कतिपयलाई फोनमा नै सम्पर्क गरियो । फोन अर्थात् मोबाइल नम्बर पत्ता लगाएर सम्पर्क गर्दा अधिकांश मानिस पन्छिन खोजे । यो पनि अस्वाभाविक होइन ।

कतिपयले भरपूर सहयोग गरे । साँच्चीकै तिनलाई हृदयदेखि सलाम गर्छु ।

तथ्य सङ्कलनको क्रममा जसबाट आफूलाई काम लाग्ने कुरा पाउने सम्भावना देख्दथें, डायरी निकालेर टिप्न शुरू गर्दथें । कतिपय मानिस यस्ता भेटिए जो डायरीमा टिप्न खोज्दा रोके वा आफ्नो कुरालाई अलग्गै किसिमले घुमाउन थाले । हो, मैले तथ्य सङ्कलनको क्रममा काम लाग्ने जति कुरा गर्नेहरूको नाम र कुरा गरेको मिति तथा सन्दर्भहरू टिप्दै गएको हुँ । कतिपय मानिसचाहिं सिर्फ मोबाइल सम्पर्कमैं राम्रोसित कुरा गरेका छन् । मोबाइलमा कुराकानी भनेर मोबाइल नम्बरसहित कुराकानी गरिएको मिति र कुराकानीको सन्दर्भ पनि डायरीमा लेखेको छु । ‘बरहथवा परिचय र महानन्द झा’ अनुसन्धान कृति तयार भएर आकृति क्रियशन हेटौंडालाई प्रकाशनार्थ दिइसकेपछि प्रकाशित भएको अनौपचारिकरूपमा सुनेको थिएँ । अचानक एकदिन फेसबूकमा देखें कि अमेरिकामा सार्वजनिक भएछ ।

भन्न त मिल्छ, यो मेरो १८औं कृति हो । मैले कृतिको अनुहार देख्न नपाई अमेरिकामा सार्वजनिक हुनुले मलाई एकातिर गर्वको महसूस भयो भने अर्कोतिर साँच्चीकै हृदयमा पीडानुभूति भयो । अधिकारीजी र डा झाले यो विमोचन होइन, पारिवारिक खुसीको प्रदर्शन हो भनी आवश्वत पारे । लोकार्पण सर्लाहीको बरहथवामैं हुन्छ, बताए । मेरो मनमा अझै परिरहेको छ– अमेरिकामा सार्वजनिक हँुदाको क्षण म पनि अनलाइन नै भएपनि जोडिन सकेको भए, हर्षविभोर हुन पाउने थिएँ । यस किसिमको अवसर सायद अर्को आउनेछैन, जसबाट म वञ्चित हुन पुगें ।

कृतिको लोकार्पण चलिरहेको थियो । म खुशीले गद्गद् थिएँ । मनमा लागिरहेको थियो– कृतिको ‘कुमरपत’ उत्रिसकेको छ । यसलाई फेरि ‘कुमार’ बनाउने प्रयास भइरहेको छ ।

कार्यक्रममा नै मलाई सम्मान गरिंदैछ भनेर चाल पाइसकेको थिएँ र यसको पुनः विरोध पनि गरें तर रोक्न मेरो मनले दिएन । जब सम्मानपत्रसँगै खाम प्राप्त भयो, तब लाग्यो यसमा अलिकति रकम छ । मनमा अलिकति खल्लो लाग्यो । सबै ग्रहण गरेर जस्ताको तस्तै पत्नी रेणुको हातमा दिएँ कार्यक्रम कक्षमैं ।

कार्यक्रम साँच्चीकै भव्य थियो । पूर्वरक्षामन्त्री हरि उप्रेती प्रमुख अतिथि र बरहथवाका अत्यन्त श्रद्धेय व्यक्तित्वहरूको गरिमामय सहभागिता थियो । मैले पनि एउटा प्रभावकारी भाषण पड्काएँ ।

मलाई पैसा नदिएको भए हुन्थ्यो– बाटोभरि मनमनै विचार गरिरहें । यस पैसाले मेरो एउटा बाटो रोकिदिएको हो कि भन्ने लागिरह्यो । मेरो भित्री मनमा लागेको थियो– मेरो उक्त सिर्जनात्मक काम कथंकदाचित सिद्धिएछ भने त्यसको पहिलो खबर अधिकारीजी र डा झालाई सुनाउने छु, एउटा साधारण आशा लिई ।

कार्यक्रमको भोलिपल्ट साँझ रेणुजीलाई सोधें– “हिजो कार्यक्रममा एउटा खाम पनि थियो, त्यसमा मेरो कति दाम थियो ?”

उत्तरमा यस संस्मरणको पहिलो वाक्य आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here