ओमप्रकाश चौधरी, सेढवा, २८ मङ्सिर/
पर्सा जिल्लामा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा घटेको छ तर धानको मूल्य भने बढेको छ ।
कृषि ज्ञान केन्द्र, पर्साका सूचना अधिकारी सुरेन्द्र कुर्मीले गत वर्षको तुलनामा धान उत्पादन कम भएको बताए ।
उनले ४७ हजार १३० हेक्टर जग्गामा गत वर्ष गरिएको धानखेतीबाट दुई लाख १२ हजार ८५ मेट्रिक टन धान उत्पादन भएको तर त्यत्तिकै जग्गामा यस वर्ष एक लाख ९७ हजार ९४६ मेट्रिक टन मात्र धान उत्पादन भएको बताए । उनले गत वर्ष धान उत्पादन दर प्रतिहेक्टर साढे चार मेट्रिक टन रहेको र यस वर्ष चार दशमलव दुई मेट्रिक टन धान उत्पादन भएको बताए ।
स्थानीय किसानका अनुसार यस वर्ष धानको मूल्य गत वर्षको तुलनामा बढेको छ । एक महीनाअघि व्यापारीले खेतबाटै सोना मन्सुली प्रतिक्वीन्टल दुई हजार आठ सयमा खरीद गरेको तर दुई सातादेखि सोही धानको मूल्य प्रतिक्वीन्टलमा एक हजारले बढेको बताए ।
किसानले जानकारी गराए अनुसार मङ्गलवारसम्म वीरगंजको बजारमा प्रतिक्वीन्टल सोना मन्सुली तीन हजार आठ सय, मनी मन्सुली तीन हजार सात सयमा बिक्री भएको थियो । बुधवारदेखि धानको मूल्यमा फेरि गिरावट आइरहेको किसानहरूले बताएका छन् । वीरगंजमा भारतीय धान भित्रिएपछि धानको मूल्यमा गिरावट आउन शुरू भएको किसानहरूको भनाइ छ । बुधवार र बिहीवार गरी दुई दिनमा दुई सय रुपैयाँ प्रतिक्वीन्टलमा गिरावट आएको छ ।
सरकारले भने यस वर्ष सोना मन्सुली प्रतिक्वीन्टल तीन हजार ३६२ रुपैयाँ र जीरा मसिनो प्रतिक्वीन्टल तीन हजार पाँच सय रुपैयाँ समर्थन मूल्य तोकेको छ । सोही आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पर्साका किसानहरूसँग गत शनिवारदेखि धान खरीद गर्न शुरू गरेको छ । तर सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा बजारमा धान बिक्री भइरहेको कारण किसानहरू अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बिक्रीका लागि गएका छैनन् ।
सञ्चय गर्नेहरूको सङ्ख्या बढी
पर्साका किसानहरूले अहिले धानको बिक्री आवश्यकता पूरा गर्नका लागि मात्र गर्दै आएका छन् भने अधिकांशले सञ्चय गरिरहेका छन् । गहुँलगायतका बालीका लागि आवश्यक मल, बीउबिजन, खेत खनजोतका लागि आवश्यक पर्ने रकमको जोहो गर्नका लागि किसानहरूले धान बिक्री गरिरहेका छन् भने त्यस कार्यबाहेक धान सञ्चय गरिरहेका छन् । सञ्चय गर्नुको कारण धानको मूल्य अहिलेको भन्दा पछि बढ्ने अनुमान गरेर हो ।
एकथरी किसानहरूले भने स्थानीय व्यापारीलाई आगामी वैशाखमा हुने धानको मूल्य अनुसार लेनदेन गर्नेगरी बिक्री गरेको पाइएको छ ।
अहिले उत्पादित धान स्थानीय व्यापारीलाई बुझाउने किसानहरूले व्यापारीसँग आगामी वैशाखमा धानको जुन मूल्य हुन्छ, सोही अनुसार भुक्तानी पाउने गरी बिक्री गरेको एकजना किसानले बताए ।