पेरिस, २८ मङ्सिर/एएफपी
पछिल्लो दुई महीनामा गाजामा पत्रकारहरूको मृत्यु भए पनि यो वर्ष कामका क्रममा मारिने पत्रकारहरूको सङ्ख्यामा कमी आएको मिडिया वकालत समूह रिपोर्टर्स विदाउट बोडर्स (आरएसएफ) ले बिहीवार बताएको छ ।
आरएसएफको वार्षिक प्रतिवेदन अनुसार सन् २०२३ को पहिलो ११ महीनामा कामका क्रममा ४५ पत्रकार मारिएका छन् । यो आँकडा गत वर्ष ६१ थियो । ल्याटिन अमेरिकामा आएको ठूलो गिरावटका कारण सन् २००२ मा ३३ पत्रकारको मृत्युपछि यो वर्ष सबैभन्दा कम पत्रकार मारिएका छन् ।
अक्टोबर ७ मा इजराइल र इस्लामिक लडाकू समूह हमासबीच युद्ध शुरू भएपछि मध्यपूर्वमा करीब ६३ पत्रकार मारिएका छन् तर तीमध्ये १७ जना मात्रै आरएसएफको परिभाषामा परेका छन् ।
आरएसएफका महासचिव क्रिस्टोफर डेलोयरले एएफपीलाई भने–“यसले गाजा क्षेत्रको त्रासदीबाट टाढा राख्दैन तर हामीले नियमित गिरावट देखिरहेका छौं, सिरिया र इराकमा युद्धका कारण सन् २०१२ मा र फेरि सन् २०१३ मा मारिएका १४० पत्रकारहरूको तुलनामा यो धेरै कम छ ।”
उनका अनुसार यो गिरावट अन्तर–सरकारी सङ्गठनहरू र गैरसरकारी सङ्गठनहरूले दण्डहीनताविरुद्ध लड्ने प्रयासहरूका साथै स्वयं पत्रकारहरूले पु¥याएको अधिक ‘विवेकशीलता’ का कारण भएको हो ।
आरएसएफका अनुसार अक्टोबर ७ पछि मध्यपूर्वमा आप्mनो पेशा निर्वाह गर्ने क्रममा मारिएका १७ पत्रकारमध्ये १३ गाजामा इजराइली हमलामा मारिएका छन् भने तीन लेबनानमा र एकजना हमासद्वारा इजराइलमा मारिएका छन् । आरएसएफले यी मृत्युलाई लिएर ‘युद्ध अपराध’ का लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उजूरी दायर गरिएको नोभेम्बरमा बताएको थियो ।
अक्टोबर १३ मा रोयटर्सका क्यामेरामेन इस्साम अब्दुल्लाहको हत्या गर्न र एएफपीका फोटोग्राफर क्रिस्टिना एसीसहित अन्य छजनालाई घाइते बनाउन इजराइली ट्याङ्कको हमला जिम्मेवार रहेको आप्mनो अनुसन्धानबाट थाहा भएको एएफपीले गत साता बताएको थियो ।
पत्रकारहरू दक्षिणी लेबनानमा ‘सक्रिय युद्ध क्षेत्र’ मा रहेको इजराइली सेनाका एक पत्रकारले बताएका छन् तर महासचिव डेलोयरले प्रवक्ताको जवाफ ‘सन्तोषजनक’ नभएको बताए ।
युक्रेनमा युद्धका कारण सन् २०२३ मा दुईजना पत्रकारको ज्यान गएको छ । आरएसएफले भनेको छ–“मारिनेमा एएफपीका रिपोर्टर अरमान सोल्डिन थिए, उनी आप्mनै देशबाहिर ज्यान गुमाउने एकमात्र रिपोर्टर हुन् ।” सन् २०२२ मा द्वन्द्व शुरू भएपछि युक्रेन युद्धमा कुल ११ पत्रकार मारिएका छन् ।
ल्याटिन अमेरिकामा गिरावट
ल्याटिन अमेरिकामा मारिने पत्रकारहरूको सङ्ख्यामा तीव्र कमी आएको छ । त्यहाँ छजना पत्रकारको हत्या भएको छ । सन् २०२२ मा २६ पत्रकार मारिएका थिए । मेक्सिकोमा मात्र यो सङ्ख्या गत वर्षको ११ बाट घटेर ४ मा झरेको छ । लगातार अपहरण र हमला भएको भन्दै आरएसएफले मेक्सिको पत्रकारहरूका लागि खतरनाक बनेको चेतावनी दिएको छ । विश्वभरमा बेपत्ता भएका ८४ पत्रकारमा करीब एक तिहाई मेक्सिकाली रहेका छन् ।
सन् २०२२ मा कारागारमा रहेका पत्रकारहरूको सङ्ख्या ५६९ बाट घटेर ५२१ भएको छ । चीन र म्यान्मापछि बेलारूस ‘विश्वका तीन सबैभन्दा ठूला कारागारमध्ये एक’ देखिएको छ । टर्की र इरानले बारम्बार पत्रकारहरूलाई कारागारमा हाल्ने गरेको प्रतिवेदनमा उल्लेख छ । कुल ५४ पत्रकारलाई बन्धक बनाइएको छ । यो सङ्ख्या सन् २०२२ मा ६५ थियो । रासस