प्रस, सेढवा, २७ मङ्सिर/
सोमवार बिहानै भगवनियादेवी मुसहरिन खाना खाएर जाडोमा काम्दै जिल्लाको दक्षिणी भेगतिर छिटोछिटो हिंड्दै थिइन् । उनले काखामा प्लास्टिकको बोरामा केही भाँडाबर्तन बोकेकी थिइन् । हुस्सु लागेको र चीसोमा उनी सल ओढेर माछा मार्न जाँदै थिइन् ।
मुसहरिनको यो दैनिकी हो, उनी माछा मारेर बिक्री गरी जीविका चलाउने गर्छिन् । जाडो होस् अथवा गर्मी जस्तोसुकै मौसम भएपनि मुसहरिनको लागि माछा मार्नु अनिवार्य छ । माछा नमारेको दिन उनी र उनका घरपरिवारका सदस्य भोकै बस्नुपर्छ । माछा मारेर बजारमा लगेर बिक्री गर्ने र त्यसैको आम्दानीबाट घर खर्च चलाउने गरेको मुसहरिन बताउँछिन् । माछा नमारेको वा मारेर पनि बिक्री नभएको दिन घरमा चुलो बल्दैन र परिवार भोकै सुत्न बाध्य हुन्छ, उनी भन्छिन् ।
यो समस्या उनको मात्र होइन, जीराभवानी गाउँपालिका–२ सेढवाका मुसहरबस्तीका अधिकांश परिवारको हो । मुसहरबस्तीमा करीब ८० परिवार छन् र यसमध्ये ७५ परिवारको दैनिक गुजाराको माध्यम माछा हो । धेरै गर्मी र धेरै जाडोमा उनीहरूको पेशा सङ्कटमा पर्ने गर्छ तर पनि कष्टकर तरीकाबाट माछा मार्ने र बिक्री गर्ने कार्यलाई उनीहरू विराम दिन सक्दैनन् ।
अहिले चीसो बढेको छ, बिहानको हुस्सुमा ग्रामीण क्षेत्रमा रहेका खोला, नदी, जलाशयबाट माछा मारेर नजीकको बजारमा बिक्री गर्नुपर्ने उनीहरूको बाध्यता छ । मुसहरहरूले माछा मारेर छिमेकी भारतको इनर्वा, नेपालको जानकीटोला, पिडारीगुठी, परसवा, सेढवा, नौकाटोला, सुपौली, सखुवनिया बजारमा बिक्री गर्ने भगवनीयादेवी मुसहरिन बताउँछिन् ।
उनले पेशा परिवर्तन गर्न नसकेको र जतिसुकै जाडो अथवा गर्मीमा पनि कष्ट भोगेर माछा मार्नै पर्ने बताइन् । उनले अहिले चीसो छ, घरमा आगो तापेर बस्न सकिंदैन, चीसो पानीमा माछा मार्नुपर्छ, हातखुट्टा पानीमा पर्दा चीसोले काटिएकोझैं महसूस हुन्छ तर आफू र परिवारको निम्ति कष्ट सहेरै भएपनि काम त गर्नुपर्छ, मुसहरिनले दुःखेसो पोख्दै भनिन् ।
मुसहरटोलका झोहर माँझी बिहानै खाना खाएर १० देखि १५ किलोमिटर टाढा जलाशयमा माछा मार्न जानुपर्ने आफ्नो दैनिकी रहेको बताउँछन् । माछा मार्न जाँदा आवश्यक सामग्री कोदालो, अन्य भाँडाबर्तनलगायतका सामान लिएर जाने गरेको उनले बताए । धोबिनी, छिपहरमाई गापा र छिमेकी भारतको सिकटा, मैनाटारस्थित नहरको पानी जमेको ठाउँबाट माछा मारेर ल्याउने गरेको माझीले बताए । उनले बिहानपख चीसोमा पानीमा पस्नुपर्ने हुँदा पराल बाली आगो ताप्दै माछा मार्ने गरेको बताए । उनले बग्ने खोलाको पानी अलिअलि न्यानो महसूस भएपनि पोखरीको पानी एकदमै चीसो हुने गरेकोले कष्ट हुने बताए ।
माछा मारे अनुसार दैनिक सयदेखि पाँच सयसम्म कमाइ हुने गरेको मुसहरटोलकी ठगियादेवी मुसहरिन बताउँछिन् । उनले बजारमा बिक्री नहुने दिन गाउँटोलमा घुमाएर बिक्री गर्ने र नगद नहुनेबाट चामलसँग माछा साट्ने गरेको बताइन् । उनले माछाको साथै गङ्गटो, घोगी पनि ल्याएर बिक्री गर्दै आएको बताइन् ।
अहिले ग्रामीण भेगमा खेतीपाती तथा अन्य क्षेत्रको काम नभएको स्थानीय माथुर माझी मुसहर बताउँछन् । धान कटानी भयो, गहुँको बीउ छरिसकियो, खेतीपातीको बेला मल बीउ छर्ने, सिंचाइ गर्ने, काट्ने, गोडमेललगायतका कामहरू गर्दै आएको तर अहिले ती काम नभएकाले घरमैं बस्नुपरेको उनले बताए ।
स्थानीय वडा र गापाले मुसहर जातिको विकासका लागि उनीहरूलाई सीपमूलक तालीम दिएर दक्ष बनाउने प्रयास पनि गरेको छैन । जसले गर्दा उनीहरू परम्परागत ज्याला मजदूरी र माछा मार्ने कार्यमा मात्र संलग्न हुँदै आएका छन् ।
बुबाआमाहरू काममा जाने गरेकाले यो बस्तीका अधिकांश बालबालिकाले विद्यालयको मुख हेर्न पाएका छैनन् । घर हेर्ने, भाइबहिनी खेलाउने, वस्तु चराउने जस्ता कार्यमा घरपरिवारलाई सघाउँदै आएकाले यहाँका बालबालिकाहरूले विद्यालयको मुख हेर्न नपाएका हुन् ।