राधेश्याम पटेल, परवानीपुर, २३ मङ्सिर/
गाउँघरमैं बढी मूल्यमा धान बेच्न पाएपछि पर्साका ग्रामीण भेगका किसानहरू यसपालि वीरगंजमा धान बेच्न आएनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही मङ्सिर २२ देखि सोना मन्सुली र जीरा मसिनो धान खरीद गर्ने सूचना जारी गरे पनि पर्साका किसानहरू धान बिक्री गर्न वीरगंज आएनन् ।
पोहोर धान बिक्री गर्न किसानको पावरहाउसदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयअगाडिसम्म लामो लाइन थियो । तर मङ्सिर २२ देखि धान खरीद गर्ने भनेर सूचना जारी गर्दासमेत धान बेच्न किसानहरू नआएका सो कम्पनी वीरगंजका प्रमुख पङ्कज झाले पुष्टि गरे । “दुई दिनदेखि किसानहरू धान बेच्न आउनुभएको छैन, के कारण हो, त्यसबारेमा जानकारी सङ्कलन गर्ने कार्य भइरहेको छ,” उनले भने ।
वीरगंजको सरकारी निकायभन्दा गाउँमैं धानको मूल्य बढी भएपछि ग्रामीण भेगका किसानहरू गाउँकै गोला भण्डारमा धान बेचिरहेका छन् । सरकारी निकाय वीरगंजको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोना मन्सुलीको मूल्य प्रतिकिलो रु ३३ दशमलव ६२ तोकेको छ भने जीरा मसिनोको मूल्य प्रतिकिलो रु ३५ तोकेको छ । तर गाउँमैं सोना मन्सुली प्रतिकिलो रु ३५ दशमलव ३६ मा र जीरा मसिनो प्रतिकिलो रु ४५ मा बिक्री भइरहेकाले किसानहरू गाउँकै गोला भण्डारलाई धान बेच्दैछन् । धानको कम मूल्य तोकिएपछि किसानहरू वीरगंज धान बेच्न नआएको बुझिएको छ ।
यस वर्ष भारत सरकारले धान आयातको कोटा निर्धारण गरेको छैन । जसले गर्दा पर्सा र बाराका राइस मिलहरूले धानको मौज्दात मिलाउन बढी मूल्यमा धान खरीद गरिरहेका छन् ।
वीरगंजस्थित सरकारी कार्यालय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोना मन्सुली प्रतिक्वीन्टल तीन हजार ३६२ र जीरा मसिनो प्रतिक्वीन्टल साढे तीन हजार रुपैयाँमा खरीद गर्ने भनी सूचना जारी गरेको थियो । तर धानको अभाव सिर्जना हुने भनेर पर्सा र बाराका ठूला र साना गरी करीब दुई सय राइस मिलहरूले धानको मौज्दात राख्न गाउँमैं किसानहरूबाट धान खरीद गरिरहेका छन् ।
वीरगंजको रूँगटा समूहले रु ३८ दशमलव ५० प्रतिकिलोमा सोना मन्सुली धान खरीद गरिरहेको जनाएको छ । सोना मन्सुली पर्सा र बाराबाट खरीद गरिरहेको र जीरा मसिनो भारतको बिहारबाट २० प्रतिशत भन्सार महसूल र पाँच प्रतिशत कृषि सुधार कर तिरेर प्रतिकिलो रु ४९ मा भारतीय धान जीरा मसिनो खरीद गरिरहेको छ ।
रूँगटा समूहका सञ्चालक नारायण रूँगटाले आगामी दिनका धानको अभाव सिर्जना हुने भएकोले बढी मूल्यमा धान खरीद गरिरहेको बताए । उनले गत वर्ष भारतबाट धान खरीद गर्न छ लाख टन कोटा छुट्याइएकामा यस वर्ष कोटा नदिइएकोले धान मौज्दात राख्न बढी मूल्यमा खरीद गरिरहेको बताए ।