सोल, २० मङ्सिर/एएफपी
मे महीनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको डुङ्गामा बसाए र आफ्ना छोराछोरीलाई स्वतन्त्र जीवन दिने आशामा उत्तर कोरियाबाट टाढाको यात्रा गरे ।
सन् १९५० को दशकमा युद्धका कारण कोरियाली प्रायद्वीप विभाजन भएपछि हजारौं उत्तर कोरियाली दक्षिण कोरिया भागे तर तीमध्ये अधिकांश पहिला छिमेकी देश चीन गए । सामुद्रिक मार्गबाट विचलन हुनु अत्यन्त दुर्लभ हुन्छ र यो स्थलमार्गको तुलनामा अत्यन्त खतरनाक मानिन्छ । केवल केही मुठीभरका मानिसले मात्र वास्तविक सामुद्रिक सीमा (उत्तरी सीमारेखा) पार गर्न सक्छन् ।
यद्यपि ३१ वर्षीय मछुवा किमले (सुरक्षाका कारण आफ्नो थर मात्र प्रयोग गर्न आग्रह गर्दै) उनलाई त्यस्तो गर्न सकिन्छ भन्ने विश्वास छ । उनले दुर्ई असफल प्रयासपछि अन्ततः आफ्ना नौ सदस्यीय परिवारलाई उत्तर कोरियाबाट बाहिर निकाल्न सफल भए ।
महीनौंसम्म उनले सीमा गस्तीका ढाँचाहरूको अध्ययन गरे र अवसरको प्रतीक्षा गरे । उत्तर कोरियाले कोभिड महामारीमा लकडाउन गरेपछि उसको तटीय नाकाबन्दीलाई हटाउन शुरू गरेसँगै उनी भाग्न सफल भए ।
“मैले भूभाग र मौसमको अवस्थाको अध्ययन गरें र सामुद्रिक चेतावनी प्रभावकारी हुँदा सबैभन्दा खराब रातमा निस्किएँ,” उनले सोलमा एएफपीसँग भने । उनका अनुसार उनको परिवारका सबैजना यहाँसम्म कि उनका तीन वर्षका बच्चाले पनि आफूहरू भाग्ने सफलता सुनिश्चित गर्न मिलेर काम गरे ।
“मलाई दोस्रोपटक जन्मेको जस्तो लाग्छ,” किमले भने, “उत्तरमा आकाशमा उड्ने विमान केही यस्ता थिए, जसलाई मैले मेरो सपनामा, फिल्ममा र टिभी नाटकहरूमा देखेको थिएँ, तर म अब वास्तवमैं यसको सवारी गर्न सक्छु र मलाई अर्काे जन्ममा जन्मेको जस्तो लागेको छ ।”
महीनौंको सोधपूछपछि किम अब उनको नयाँ जीवनका लागि अगाडि बढ्न तयार छन् । उनले दक्षिण कोरियामा अधिकारीहरूले उत्तर कोरियालीहरूका लागि नौ वर्षमा पहिलोपटक आयोजना गरेको प्रमुख रोजगार मेलामा भाग लिए ।
कतिपय भगौडाले एकीकरण गर्न सङ्घर्ष गरेका छन् । दक्षिण कोरियाको तीव्र आर्थिक विकाससँगै दशकौंको विभाजनको अर्थ त्यहाँ भाषिक, सांस्कृतिक र व्यावहारिक चुनौतीमाथि नियन्त्रण गर्न बाँकी छ । रोजगार मेला सरकारले आयोजना गरेको कैयौं पहलमध्येको एक हो, जसले भगौडाहरूलाई सहयोग गर्न चाहन्छ ।
सिओइएक्स कन्भेन्सन सेन्टरमा आयोजित मेलामा नोकरीका दर्जनौं सम्भावनाबाट किम अत्यन्त चिन्तित थिए । मेलामा करीब एक सय कम्पनी र सार्वजनिक संस्थानहरूले भाग लिएका थिए । रोजगार पुस्तिकाहरूको खात हातमा लिंदै किमले भने, “म सीधैं उत्तरबाट आएको हुनाले यस्तो संस्कृति अवस्थित भएकामा म अत्यन्त छक्क परेको छु ।”
उत्तर कोरियामा माछा मार्ने उद्योगमा वर्षाैंसम्म काम गरेका किमले लामो समयसम्म जहाजको नाविक बन्ने सपना देखेको बताए । यो उनको पूर्व घरमा असम्भव थियो । उत्तर कोरियामा ढुवानी (जहाज) उद्योग कडारूपमा नियन्त्रित छ, नोकरीमा पुग्ने बाटो अत्यन्त सीमित छ र यो सही पृष्ठभूमि र जडानमा निर्भर छ ।
“सामान्य मानिसका लागि नाविक बन्न केवल सपना हुन सक्छ,” किमले भने, “तर मैले यहाँ यदि तपाईंले थोरै मात्र प्रयास गर्नुभयो भने केही पनि सम्भव छ भन्ने सुनेको छु, त्यसैले मैले यसलाई लिने प्रयास गर्दैछु ।”
किमले उत्तर कोरियामा शान्त र मेहनती जीवन व्यतीत गरे र एक दिन आफैं डुङ्गा किन्ने दिशामा काम गरे । उनले माछा मार्ने डुङ्गामा चालक दलको सदस्यका रूपमा नोकरी शुरू गरे । पुनः धेरै पैसा कमाउनका लागि गोता लगाउन सिके ।
अन्ततः उनले काठको डुङ्गा बनाउनका लागि पर्याप्त कमाए । उक्त डुङ्गालाई उनले दक्षिण कोरियाको जोखिमयुक्त सामुद्रिक यात्रामा निस्कनुअघि करीब पाँच वर्ष चलाए । जब उनका बच्चाहरू एक दिन ‘अनावश्यक दिमाग भड्किने सत्र’बाट घर फर्किए, उनले उत्तर कोरियाबाट भाग्ने निर्णय गरे ।
“मूलरूपमा उत्तर कोरियामा नभएको उनीहरूले गर्न, भन्न र जे चाहन्छन्, त्यो देख्न सकून् भन्ने म चाहन्थें, म त्यहाँ राम्रो संसार छ र एउटा ठूलो संसार छ भनेर उनीहरूलाई देखाउन चाहन्थें,” किमले भने, “यदि तपाईंले राम्रो योजना बनाउनुभयो र कडा परिश्रम गर्नुभयो भने उत्तर कोरियामा तपाईं स्थिर जीवन बिताउन सक्नुहुन्छ तर त्यहाँ कुनै स्वतन्त्रता छैन ।” रासस