वाशिङ्टन, १४ मङ्सिर/एएफपी
अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा बुधवार निधन भएको उनको परामर्श संस्थाले बताएको छ । दोस्रो विश्वयुद्धपछि अमेरिकी शक्तिमार्फत विश्वलाई आकार दिन सहयोग गर्ने उनी महŒवाकाङ्क्षी कूटनीतिज्ञ थिए ।

आधुनिक समयमा सम्भवतः सबैभन्दा धेरै चिनिने अमेरिकाका पूर्वविदेशमन्त्री किसिन्जरको कनेक्टिकटस्थित उनको घरमा निधन भएको किसिन्जर एशोसिएट्सले एक विज्ञप्तिमा बताएको छ ।

किसिन्जरको परिवारले निजीस्तरमा अन्त्येष्टि गर्ने र पछि न्युयोर्कमा स्मृतिसभा आयोजना गरिने एशोसिएट्सले बताएको छ । आफ्नो यहुदी परिवार नाजी जर्मनीबाट भागेपछि न्युयोर्कमा किसिन्जर हुर्किएका थिए ।

विज्ञप्तिमा उनको निधनको कारण उल्लेख गरिएको छैन । उनी एक सय वर्षमा पनि सक्रिय थिए र जुलाईमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्न चीन गएका थिए । चीन किसिन्जरका लागि सबैभन्दा दिगो विरासतमध्ये एक थियो ।

सोभियत सङ्घविरुद्ध शीतयुद्धको लडाइँलाई धक्का दिने अपेक्षामा किसिन्जर गोप्यरूपमा बेइजिङ पुगेका थिए । परिणामस्वरूप राष्ट्रपति रिचर्ड निक्सनले सन् १९७२ मा चीनको ऐतिहासिक भ्रमण गरे र पछि तत्कालीन विश्वबाट पृथक बनेको मुलुक चीनसँग अमेरिकाले सम्बन्ध स्थापना ग¥यो । अमेरिकासँगको सम्बन्धकै कारण चीनले तीव्र विकास हासिल ग-यो र वाशिङ्टनसँगको बढ्दो प्रतिस्पर्धीका रूपमा विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र बन्यो ।

किसिन्जरलाई विश्वका अधिकांश स्थानमा तिरस्कृत गरिए पनि वाशिङ्टनस्थित चिनियाँ राजदूत झी फेङले उनलाई ‘सबैभन्दा मूल्यवान् पुरानो मित्र’ भन्दै उनको निधनले ‘हाम्रा दुवै मुलुक र विश्वका लागि ठूलो क्षति’ पुगेको बताएका छन् ।

अमेरिकामा किसिन्जरलाई राजनीतिक मूलधारमा पनि सम्मान प्राप्त भयो । प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका सदस्य एवं हालका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले न्यूयोर्कमा उनको एक सयौं जन्मदिनको पार्टीमा भाग लिएका थिए ।

“हेनरी किसिन्जरको निधनसँगै अमेरिकाले विदेश मामिलामा सबैभन्दा भरपर्दो र विशिष्ट आवाज गुमाएको छ,” पूर्वराष्ट्रपति एवं रिपब्लिकन जर्ज डब्लु बुशले एक विज्ञप्तिमा भनेका छन् ।

किसिन्जरलाई भियतनाम युद्ध अन्त्य गर्न वार्ताका लागि नोबेल शान्ति पुरस्कारले सम्मान गरिएको थियो । यद्यपि युद्ध तत्काल समाप्त भएन र उनका उत्तरी भियतनामी समकक्षी ले डक थोले उक्त पुरस्कार लिन अस्वीकार गरे ।

वाटरगेट काण्डपछि निक्सन राष्ट्रपति पदबाट बर्खास्त भए र किसिन्जरले उनका उत्तराधिकारी जेराल्ड फोर्डको नेतृत्वमा काम गरे । आफ्नो प्रभाव प्रतिविम्बित गर्ने अभूतपूर्व व्यवस्थामा किसिन्जरले एकैसाथ मुलुकको शीर्ष कूटनीतिज्ञ विदेशमन्त्री र राष्ट्रपतिको दाहिने हात मानिने राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा काम गरेका थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here