कास्की, १४ मङ्सिर/रासस
पोखरामा जारी ‘केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट’मा विभागीय त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा बिहीवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बाग्मती प्रदेशलाई चार विकेटले पराजित गरेको हो ।
आर्मीले जीतका लागि पाएको १२८ रनको विजयी लक्ष्य १५ ओभरमा पूरा गर्न सफल भयो । टस जितेर ब्याटिङ गरेको बाग्मतीले निर्धारित २० ओभर पूरै खेल्दै सात विकेटको क्षतिमा १२७ रन बनाएको थियो ।

बाग्मतीका प्रतीक श्रेष्ठले ३५ बलमा चार छक्का र तीन चौकाको मदतमा अर्थशतकको योगदान दिए पनि टोलीलाई फाइनलमा पु¥याउन असफल भए । यसैगरी, कप्तान सन्दीप लामिछानेले १९, रीत गौतमले १४, इशान पाण्डेले १२ रन बनाए । ‘प्लेयर अफ दी म्याच’ घोषित आर्मीका सहाब आलमले चार तथा सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट लिए ।

आर्मीले विजयी लक्ष्य १५ ओभरमा छ विकेट गुमाएर पूरा गर्न सफल भयो । आर्मीका भीम सार्कीले सर्वाधिक ३९ रनको योगदान दिए । कुशल मल्लले २७ र विनोद भण्डारीले २५ रन बनाए । बाग्मतीका सन्दीप लामिछानेले दुई तथा प्रतीश जिसी, इशान पाण्डे, सोनु देवकोटा, रीत गौतमले समान एक/एक विकेट लिए । सुजन थपलियाले २१ र मनीष थापाले १६ रनको योगदान दिए ।

यसैगरी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मधेस प्रदेशले सशस्त्र प्रहरीलाई ११ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । पोखरा क्रिकेट मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १९७ रन बनाएको थियो । १९८ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको सशस्त्र प्रहरीले २० ओभरमा नौ विकेटको क्षतिमा १८६ रन बनाएर पराजित भयो । मधेस प्रदेशबाट सर्लाहीका विशाल पटेलले तीन, धनुषाका हरिशङ्कर साहले दुई र सिराहाका प्रदीप पासवानले दुई विकेट लिएका थिए । प्रतियोगितामा बारा, कलैयाका मनिलकुमार साहले ५७, वीरगंजका इमरान शेखले ५० र कलैयाका पवन सर्राफले ३३ रनको योगदान दिएका थिए ।

सशस्त्र प्रहरीका प्रदीप ऐरीले ५५, सन्दीप जोराले ५४ र पुरन बोहराले ३२ रनको योगदान दिएका थिए । यसैगरी, सशस्त्रका मौसम ढकालले तीन विकेट, अमर रौतेलाले दुई र पुरन विकले एक विकेट लिएका थिए । दोस्रो सेमिफाइनल खेलको ‘म्यान अफ दी म्याच’ मधेस प्रदेशका अनिलकुमार साह घोषित भए । भोलि शुक्रवार आर्मी र मधेस प्रदेश बीच फाइनल खेल हुने जनाइएको छ ।

यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी, उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ दी सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ले रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here