• अनन्तकुमार लाल दास    

तपाईं “सफल हुन चाहनुहुन्छ वा असफल।” यो एउटा यस्तो प्रश्न हो, जो कसैले पनि कसैसँग नसोधेको होला किनभने यसमा सोध्न लायक कुनै कुरो छैन। प्रश्न जति सजिलो छ, त्यत्तिकै सजिलो यसको जवाफ पनि। तपाईं सोचिराख्नुभएको होला यो कस्तो उटपट्याङ प्रश्न लेखकले सोध्दैछ। यो पनि कुनै सोध्ने प्रश्न हो ? हामी मात्र होइन, कोही पनि असफल हुन चाहँदैन। जवाफ सोझो छ, “म सफल हुन चाहन्छु।” सबै सफल हुन चाहन्छन्। कोही असफल हुन चाहँदैन तर यो बेग्लैै कुरो हो कि चाहनाले मात्र कोही सफल नहुन पनि सक्छ। सफल त एकजना मात्र हुन्छ। यो एउटा सामान्य धारणा हो, जुन मेरो दृष्टिमा पूर्ण छैन। मेरो धारणा के छ भने धेरैजसो मानिस असफल हुन चाहन्छन्। सफलता त केही मानिसहरू मात्र चाहन्छन् र जसले चाहन्छ, उसलाई प्राप्त पनि हुन्छ। यस्तै, जो असफल हुन चाहन्छ, उसलाई पनि असफलता प्राप्त हुन्छ। मलाई थाहा छ, तत्कालका लागि तपाईं मेरो कुरा पत्याउनुहुन्न।

अब अर्को एउटा प्रश्न, तपाईं जे चाहनुहुन्छ त्यो यदि तपाईंले पाउनुभयो भने त्यो सफलता हो वा असफलता ? यसको जवाफ झन् प्रस्ट छ। तपाईंको चाहना राम्रो थियो वा नराम्रो, सही थियो वा गलत भन्ने प्रश्न होइन। प्रश्न यतिमात्र हो कि तपाईंको इच्छा पूर्ति भयो। यति हुनासाथ तपाईं सफल हुनुभयो। तपाईं परीक्षामा उत्तीर्ण हुन चाहनुहुन्थ्यो, हुनुभयो। तपाईं ऊसँग बिहे गर्न चाहनुहुन्थ्यो, भयो। तपाईंले राम्रो जागीर पाउनुभयो, तपाईंलाई व्यापारमा चाहेको जति फाइदा भयो, तपाईंले सपनाको घर बनाउनुभयो। तपाईं बेग्लाबेग्लै समयमा जे जे चाहनुहुन्थ्यो, सबै थोक पाउँदै जानुभयो। यी सबै लिस्टलाई हेर्दा के सार्वजनिक घोषणा गर्न सकिन्छ भने, “फलानो व्यक्ति एउटा सफल व्यक्ति हो ?” यसबाट के प्रमाणित हुन्छ भने इच्छाको पूर्ति हुनु सफलता हो भने इच्छाको पूर्ति नहुनु असफलता।

अब एउटा तेस्रो उटपट्याङ जस्तो देखिने प्रश्न– यो इच्छा, जसलाई तपाईंले “मेरो इच्छा” भन्नुहुन्छ, के साँच्चीकै त्यो तपाईंकै इच्छा हो ? कहीं यस्तो त होइन कि यो इच्छा अर्कैको थियो, जसको तल तपाईंले आफ्नो नाम भूलले लेख्नुभयो वा कसैले जबरजस्ती हात समातेर लेख्न लगायो ? यस प्रश्नको जवाफ खोज्नु यस कारणले जरुरी छ किनभने हामीले इच्छापूर्तिलाई “सफलता” भनेका छौं। यस कारण कसको इच्छापूर्ति, स्वयंको वा अरूको वा सबैको ? कृपया, यस्तो उटपट्याङ प्रश्नको जवाफ खोज्नबाट नभाग्नुहोस्। अलि धैर्य राख्नुहोस्। तपाईं जीवनको एउटा ठूलो पहेलीलाई बुझ्ने कोशिश गरिरहनुभएको छ। यस कारण मेरो प्रश्नप्रति सहानुभूति राख्दै यसको सही जवाफ खोज्न केही समय खर्चिनु तपाईंको लागि लाभकारी हुनेछ। तपाईंको जवाफ जे भए तापनि यदि त्यो तपाईंको इच्छा हो भने अवश्य पूरा हुन्छ। यदि त्यो तपाईंको र अरूको इच्छाको सम्मिश्रण हो भने त्यति भाग अवश्य पूरा हुन्छ, जुन तपाईंको आफ्नो हो। यदि त्यो इच्छा, जसलाई तपाईंले आफ्नो भन्नुभएको छ, अरूको हो भने पूरा हुन धेरै गा–हो छ। हामी कुनै न कुनै रूपमा समाजको इच्छाको शिकार भएको सत्यलाई अङ्गीकार गर्दैनौं। हामीले त्यसलाई नै आफ्नो इच्छा बनाएका हुन्छौं, जुन समाजले हामीसँग खोजेको हुन्छ। समाजले हामीसँग त्यही खोजेको हुन्छ, जुन उसको आवश्यकता हुन्छ। जस्तै डाक्टर, इन्जिनीयर, धनी व्यक्ति, खेलाडी, शिक्षक, मजदूर आदि।

अहिलेसम्म तपाईंलाई मेरो कुरा कुनै खास नलाग्न सक्छ तर यो आलेख पढ्दै जाँदा मैले भन्न खोजे कुरा तपाईंले सजिलै बुझ्नुहुनेछ। प्राप्त भएको जवाफबाट नै तपाईंको जिज्ञासाको समाधान हुनेछ। कुनै लेख तपाईंको लागि मानसिक कसरत वा रोचक हुन सकोस् भन्ने कुराको ध्यान राख्नु एउटा लेखकको धर्म पनि हो। अब त्यही लेखकीय धर्मको पालना गर्दै यहाँ एउटा कथा प्रस्तुत गर्छु, जुन मेरो होइन। यो रूसको एक महान् लेखकको कथा हो, जसको पछाडि रूस मात्र होइन सम्पूर्ण विश्व नै पागल भएको थियो। यस्ता पागलहरूमध्ये म पनि एक हुँ र त्यस कथाकारको नाम हो– “एन्टोन चेखब”। यस विश्वप्रसिद्ध कथाको शीर्षक हो “शर्त”, जसको सारसङ्क्षेप मात्र यहाँ प्रस्तुत गरिरहेको छु।

यो कथा एउटा व्यापारी र एउटा युवा वकीलको हो। व्यापारीको घरमा आयोजित एउटा भोजमा केही मानिसहरूबीच के कुरामा बहस चलिरहेको थियो भने कसैलाई फाँसीको सजाय दिनुपर्छ वा जन्मकैद ? व्यापारी फाँसीको सजायको पक्षमा थियो। उसको भनाइ थियो, “फाँसीको सजाय दिएपछि मानिस तुरुन्त मर्छ तर जन्मकैदको सजाय पाउने व्यक्ति बिस्तारै–बिस्तारै मर्छ। एकैपटक मरेपछि दुःख कम हुन्छ र बिस्तारै–बिस्तारै मर्नुमा बढी दुःख।” सबैले आआफ्नो तर्क प्रस्तुत गरिरहेका थिए। नजीकै उभिएको २५ वर्ष उमेरको एक वकीलले भन्यो, “यदि मलाई यसमध्ये कुनै एउटा सजाय छान्नुप–यो भने म जन्मकैदलाई रोज्छु। मर्नुभन्दा राम्रो त मानिस कष्ट सहेर पनि जीवित रहनु हो।”

यो सुनेर रिसाउँदै व्यापारीले भन्यो, “यो गलत हो। म शर्त लगाउँछु, तिमी पाँच वर्ष पनि जेलमा बस्न सक्दैनौ।” युवा वकील पनि कमजोर थिएन। उसले भन्यो, “पाँच वर्ष त के ? म १५ वर्षसम्म पनि जेलमा बस्न सक्छु।” हुनु के थियो, दुवैमा शर्त लाग्यो। शर्त अनुसार यदि वकीलले १५ वर्ष जेलमा व्यतीत ग–यो भने व्यापारीले उसलाई २० लाख रुबल (रूसको मुद्रा) दिने घोषणा ग–यो। व्यापारी धेरै धनी थियो। २० लाख रुबल दिए पनि उसलाई कुनै फरक पर्ने थिएन तर वकीलको १५ वर्षको स्वतन्त्रता गुम्न लागेको थियो। व्यापारीले उसलाई शर्त फिर्ता लिन अनुरोध ग–यो तर उसले स्वीकार गरेन।

वकीललाई व्यापारीको घरबाहिरको कोठामा थुनेर राखियो। उसलाई न त बाहिर जाने छुट थियो, न त कसैसँग कुरा गर्ने तर उसलाई वाद्ययन्त्र बजाउने र आफूले चाहेको किताब मगाएर पढ्ने छुट दिइयो। यसैगरी, १५ वर्षको अन्तिम दिन पनि आइपुग्यो। त्यस दिन व्यापारी धेरै चिन्तित भयो। ऊ सोचिरहेको थियो, “अर्को राति १२ बजे १५ वर्ष पूरा हुन्छ र उसलाई २० लाख रुबल दिंदा म त दिवालिया हुन्छु। यसबाट बच्ने एउटै उपाय छ, ४० वर्षको त्यो युवा मरिहालोस्।” तर यस्तो आफैं हुने सम्भावना धेरै कम थियो। चीसो रातिको गहिरो सन्नाटालाई हेरेर व्यापारी वकीलको हत्या गर्ने मनसायले कोठाभित्र पस्छ। बूढोजस्तो देखिने वकील त्यस बेला सुतिरहेको थियो। छेउमा राखिएको एउटा कागजमा केही लेखिएको हेरेर व्यापारीले पढ्न थाल्यो। त्यसमा लेखिएको थियो, “भोलि राति १२ बजे म यस कैदबाट मुक्त हुन्छु तर यस कोठालाई छाड्नु पहिला म केही भन्न चाहन्छु। … १५ वर्षमा मैले धेरै किताब पढें र यस दुनियाँलाई बुझें। … यी पुस्तकहरूले मलाई धेरै ज्ञान दियो।

… मलाई दुनियाँका हरेक कुरा झूटो र बनावटी हो भन्ने थाहा भयो। धनबाट सुख र शान्ति हासिल हुँदैन। जोसँग जति धन हुन्छ, त्यो त्यत्तिकै ऊ बेचैन हुन्छ। शर्त जितेपछि जुन धन प्राप्त हुन्छ, त्यसलाई म लिन चाँहदिनँ। यस कारण म भोलि राति १२ बजेभन्दा पहिले नै कोठाबाट भाग्छु।” यो सबै पढेपछि व्यापारीको आँखाबाट आँसु बग्न थाल्यो। ऊ वकीलको निधार चुमेर दुःखी मनले बाहिर निस्कियो। अर्को दिन ठीक १२ बजे व्यापारी त्यहाँ पुग्दा वकील कोठामा थिएन।

दिल र दिमागलाई हल्लाउने यस कथाबाट सफलता र असफलताबारे केही महत्वपूर्ण प्रश्नहरूको जवाफ खोज्ने कोशिश गर्नुपर्छ। पहिलो, दुवैमध्ये को सफल भयो, वकील वा व्यापारी ? जवाफ छ, व्यापारी किनभने वकीललाई २० लाख रुबल दिनुपरेन। यहींनिर दोस्रो प्रश्न के तेर्सिन्छ भने यदि यसो हो भने व्यापारी किन दुःखी थियो ? यसको जवाफ दिन सकिन्न मात्र महसूस गर्न सकिन्छ। महसूस गर्ने जवाफ हो, व्यापारी जितेर पनि हा–यो किनभने उसको यो दुःख उसको असफलताको परिणाम हो। यहाँ तेस्रो प्रश्न के उठ्छ भने के सफल भएर पनि कोही असफल हुन्छ ? परिस्थिति अनुसारको जवाफ छ, हो। चौथो प्रश्न, के तपाईंको दृष्टिमा वकील सफल भयो वा असफल जसले स्वयम् हारलाई स्वीकार ग–यो ? शर्त अनुसार व्यापारीले २० लाख रुबल दिनु नपरेकोले ऊ सफल भएको मानिन्छ र वकील असफल तर उसको यस असफलताले नै व्यापारीलाई परास्त गरेको हुनाले वकील सफल भएको ठानिन्छ। यस १५ वर्षमा वकीलले जुन ज्ञान प्राप्त ग–यो, त्यसले सफलता र असफलताबीचको अन्तर नै समाप्त गरिदिएको हुनाले वकील हारेर पनि जित्यो।

यसबाट के प्रमाणित हुन्छ भने सफलता र असफलता दुवै स्थायी हुँदैन। यस कुराको ज्ञान हुनासाथ उसको लागि सफलता र असफलताबीचको अन्तर नै समाप्त भएर जान्छ। यस्तो बुझाइ भएको मानिस त्यसभन्दा माथि उठेर मात्र आफ्नो काम गर्छ। त्यसैमा आनन्दित भइरहन्छ र असफलताको स्वागत पनि त्यही भावले गर्छ। न त सफलता स्थायी हुन्छ, न त असफलता। वर्तमानको सफलता भविष्यको असफलता र वर्तमानको असफलता भविष्यको सफलता बन्न सक्छ। यदि यसो हो भने सफलतासँग मात्र यति प्रेम किन ? एकछिनको लागि मानौं सफलताबाट सन्तोष मिल्छ, खुशी प्राप्त हुन्छ, जुन केही क्षणका लागि किन नहोस्। यस कारण त्यससँग प्रेम हुन्छ। यो गलत पनि होइन तर मेरो चिन्ता यहाँ असफलतालाई त्यस अर्थमा नस्वीकार्नु हो। के हामी असफलतालाई तिरस्कार नगरी त्यसलाई प्रेमभावले स्वीकार गर्न सक्दैनौं ? हामी गर्न सक्छौं र सबैभन्दा ठूलो कुरा के हो भने यसो गरेर मात्र हामी सफलतालाई हासिल गर्ने दाबी गर्न सक्छौं। यसको लागि हामीले आफ्नो सोचलाई फराकिलो र असफलताको दर्शनशास्त्रलाई तर्क र व्यावहारिकताको आधारमा बुझ्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here