प्रस, वीरगंज, ८ मङ्सिर/
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले नारायणी रङ्गशालामा रहेको क्रिकेट मैदानको स्तरोन्नति गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।
बिहीवार नारायणी रङ्गशालाको निरीक्षण गर्दै नगरप्रमुख सिंहले सङ्घ र प्रदेश सरकारले नारायणी रङ्गशाला पुनर्निर्माणमा उपेक्षा गरेको भन्दै महानगरले रङ्गशाला व्यवस्थित बनाउने बताए।
उनले तत्काल खेलाडीहरूलाई अभ्यासका लागि मैदानको दक्षिणतर्फको क्षेत्र प्रयोगमा ल्याउन आवश्यक भएको भन्दै सो कार्यको सुरुआत गर्ने बताए।
उनले मुख्य मैदानलाई असर नपुग्ने गरी अभ्यासको लागि दक्ष्Fिणतर्फको खाली ठाउँ व्यवस्थित बनाउन सुझाए। मुख्य मैदानलाई प्रतियोगिताको लागि मात्र प्रयोगमा ल्याउने उनले बताए। नगरप्रमुख सिंहले रङ्गशालाको जग्गा सुरक्ष्Fित गर्नको लागि नापजाँच गरेर घेराबार गर्ने पनि बताए। उनले रङ्गशालाको स्तरोन्नति नभएकै कारण प्रतियोगिताहरू हुन नसकेको बताए।
पर्सा क्रिकेट सङ्घको अगुवाइमा अन्तर्राष्ट्रियस्तरको प्रो क्लब च्याम्पियनशिपको दोस्रो संस्करण नारायणी रङ्गशालामा गर्नेगरी सोको तयारी गर्न कर्मचारीहरूलाई निर्देशन दिए।
पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनीष सिंहले रङ्गशालाको स्तरोन्नतिको लागि नगरप्रमुखले दिएको आश्वासनको प्रशंसा गरे। उनले महानगरले रङ्गशालाको अभिभावकत्व लिएपछि खेलाडीहरूमा उत्साह, ऊर्जा थपिने आशा व्यक्त गरे। उनले वीरगंजमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन भएपनि व्यवस्थित रङ्गशालाको अभावमा अभ्यास गर्न समस्या भइरहेको बताए।
महानगरले आदर्शनगर खेलमैदानको स्तरोन्नति गर्दै फूटबल प्रतियोगिता दशैंको पूर्वसन्ध्यामा सम्पन्न गरेको थियो। नगरप्रमुखसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, महानगरका प्राविधिक सल्लाहकार प्रकाशमान सिंह अमात्य, योजना प्रमुख अवधेश कुशवाहा, सरसफाइ प्रमुख सर्फुद्दीन मियाँलगायतको सहभागिता थियो।