गाजापट्टी, प्यालेस्टाइनी क्षेत्र, ८ मङ्सिर/एएफपी
इजरायल–हमास युद्धमा चार दिने युद्धविराम शुक्रवारदेखि लागू भएको छ।
हजारौंको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहरूको बदलामा प्यालेस्टिनी कैदीहरूको रिहा गरिने भएको छ।
अक्टोबर ७ मा इजरायलमा हमासले गरेको घातक आक्रमणपछि शुरू भएको द्वन्द्व दुवै पक्षले स्थानीय समय अनुसार बिहान ७ बजेदेखि युद्धविराम गर्ने सम्झौतासँगै अस्थायीरूपमा रोकिएको छ।
शुक्रवार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही सङ्ख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने कतारी मध्यस्थकर्ताहरूले बताएका छन्। प्यालेस्टिनी कैदीको यकीन सङ्ख्याबारे भने मध्यस्थकर्ताहरूले बताएका
छैनन्।
चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धक रिहा हुने अनुमान मध्यस्थकर्ताले गरेका छन्। यदि सहमति अनुसार चार दिनमा ५० जना बन्धकलाई रिहा गरेमा यसपछि अनुमानित अझै १९० जना बन्धक हमास लडाकू समूहको हातमा रहनेछन्।
सम्झौतामा उल्लेख भए अनुसार एक बन्धकबराबर तीनजना प्यालेस्टिनी कैदी अर्थात कुल १५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने अपेक्षा गरिएको छ।
गाजाका २० लाखभन्दा बढी बासिन्दाका लागि यो सम्झौताले हप्तौदेखि जारी इजरायली बमबारीबाट राहत प्रदान गरेको छ।
गाजा क्षेत्रमा शासन गर्दै आएको हमास सरकारले युद्धका कारण हालसम्म करीब १५ हजार प्यालेस्टिनीको मृत्यु भएको र अनगिन्ती विस्थापित भएका जनाएको छ।
हताहतको यकीन सङ्ख्या स्वतन्त्ररूपमा पुष्टि गर्न असम्भव छ, तर धेरै प्यालेस्टिनी र इजरायली परिवारहरूको लागि हिंसामा विराम हुन यस पहिले नै धेरै ढिलो भइसकेको थियो।
कतारका अधिकारीहरूले रिहा गरिएका १३ जना बन्धकमध्ये पहिलो समूहमा एउटै परिवारका महिला र बालबालिका रहेको बताएका छन्।
इजरायली ट्रमा विशेषज्ञ र चिकित्सकहरूको टोलीले उनीहरूलाई पर्खिरहेका छन्।
इजिप्टको एक सुरक्षा स्रोतले एएफपीलाई बताए अनुसार इजरायली सुरक्षा अधिकारी, अन्तर्राष्ट्रिय रेडक्रस–रेड क्रिसेन्टका कर्मचारी र इजिप्टको एक टोलीले इजिप्ट–गाजा सीमामा पर्ने राफामा बन्धकहरूलाई स्वागत गर्न खटाइनेछ।
एएफपीले हमासले सीमापार आक्रमणका क्रममा अपहरणमा परेका करीब २४० मध्ये २१० जनाको सनाखत भएको पुष्टि गरेको छ।
बन्धक बनाइएकामध्ये कम्तीमा ३५ जना बालबालिका थिए, जसमध्ये १८ जना हमासको आक्रमणको समयमा १० वर्ष वा सोभन्दा कम उमेरका थिए।
इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा करीब एक हजार २०० व्यक्तिको मृत्यु भएको जनाएको छ।
बन्धकहरू जीवितै छन् वा कुन अवस्थामा राखिएको छ भन्नेबारे सार्वजनिकरूपमा थोरै मात्र जानकारी छ।
“आक्रमण र कैदको बर्बर प्रकृतिलाई ध्यानमा राख्दै हामी केवल सबैभन्दा खराब परिस्थितिको लागि मात्र तयार हुन सक्छौं,” बन्धक वार्तामा सहभागी भएका अनुभवी सेवानिवृत्त इजरायली सैन्य अधिकारी मोटी क्रिस्टलले
भने।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले रिहा हुने र परिवारको सम्पर्कमा रहेकाहरूको नामको पहिलो सूची प्राप्त भएको जनाएको छ। सूचीमा को को छन् भन्नेबारे भने खुलाइएको छैन। रासस