– राजेश मिश्र
“ना रही बाँस ना बाजी बाँसुरी।” संक्षिप्त यस भोजपुरी लोकोक्तिमा बृहत् रहस्य समाहित छ। बाँस नै रहेन भने न बाँसुरीको निर्माण गर्न सकिन्छ, न त कोही बजाउन सक्छ। यस लोकोक्तिमार्फत कुनै विषय, प्रसङ्ग वा विवादभन्दा पनि कारक तत्वलाई नष्ट गरियो भने समस्याको निदान हुने आशय व्यक्त गर्न खोजिएको देखिन्छ।
उपरोक्त लोकोक्ति उद्धृत हुने खालको निर्णय केही दिनअघि नेपाल सरकारले लियो। सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगायो र तुरुन्त कार्यान्वयन ग–यो। अश्लीलता र सामाजिक सद्भाव भड्काएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको कुरा सरकारले प्रस्ट गरिसकेको छ। सरकारको निर्णय प्रवाह भएसँगै टिकटकको कार्यालयदेखि प्रयोगकर्ताहरूमाझ भुइँचालोझैं तरङ्ग उत्पन्न गरेको देखिन्छ। परकम्पस्वरूप टिकटकको कार्यालयले नेपाल सरकारसमक्ष लिखित प्रतिक्रिया प्रेषित गरिसकेको छ भने प्रयोगकर्ता, राजनीतिक वृत तथा सर्वसाधारणहरू सरकारको निर्णयको पक्ष र विपक्षमा विभाजित छन्।
मानवीय स्वभाव अनुसार यस प्रकरणमा पनि मिश्रित प्रतिक्रियाहरू आउने क्रम जारी छ। एकातर्फ रोगको उपचार गर्नुभन्दा सरकारले अङ्ग नै काटेको प्रतिक्रियाहरू आइरहेका छन् भने अर्कोतर्फ सरकारकोे कदमको सराहना भइरहेको छ। मिश्रित प्रतिक्रियाहरूले टिकटक ठीक कि बेठीक भन्ने सामाजिक मनोविज्ञान द्विविधापूर्ण मनस्थितिमा अड्केको छ।
टिकटक चीनमा निर्मित तथा त्यहाँबाट सञ्चालित सामाजिक सञ्जाल हो। अन्तर्राष्ट्रियस्तरमा एकअर्को देशसँग द्वन्द्वजन्य अनन्य आन्तरिक कारणहरू हुन सक्छन्। यस कारणले कुनै देश टिकटकको पक्षमा र कुनै देश विपक्षमा हुन सक्छन्। यद्यपि अन्य मुलुकको दबाबको प्रभावस्वरूप नेपाल सरकारले टिकटक बन्द गरेको हो भन्ने विचार गर्नुभन्दा अघि टिकटकले नेपाली समाज, संस्कृति र संस्कारमा के कस्तो प्रभाव/कुप्रभाव पारिरहेको छ ? भन्ने यक्ष प्रश्न विचारणीय छ। अश्लीलता र सामाजिक सद्भाव खलबलाउने कार्यमा टिकटक र त्यसका प्रयोगकर्ताहरूमध्ये बढी दोषी को हो ? आदि प्रश्नहरू खडा भएका छन्।
उदाहरण नं १ ः रेलवे स्टेशन, बसपार्क, बजार आदि भीडभाड हुने स्थानमा मनोरञ्जनात्मक शैलीमा मदारीले विभिन्न सामग्रीहरू बेच्ने गरेको दृश्यावली समुदायलाई अवगत नै छ। मनोरञ्जनको नाममा शुरू हुने मदारीको खेल मनोवाञ्छित व्यापार गरेर समाप्त हुन्छ।
शुरूमा मदारीले दर्शकदीर्घामा मनोरञ्जनात्मक जादु कला प्रदर्शन गरिरहेको भान गराउँछ। उसले दर्शकहरूको बढीभन्दा बढी भीडको अपेक्षा गर्छ। सोहीअनुरूप खेललाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्छ। बिस्तारै मानिसहरूको घुइँचो बढ्न थाल्छ। खेलमा मानिसहरू मन्त्रमुग्ध हुन थालेपछि अचानक मुसा मार्ने औषधिको गुणगान गर्दै केही पाकेट निश्शुल्क वितरण गर्छ। लोभवश दर्शकहरूको तर्फबाट माग गर्दै थुप्रै हात एकसाथ अघि बढ्छन्। यो परिदृश्यले मदारी मनमनै गद्गद् हुन्छ। किनभने कुनै पनि प्रकारले दर्शकहरूलाई सम्मोहित गर्नु र सामग्री बेच्नु नै मदारीको प्रमुख लक्ष्य हुन्छ।
मदारीले धुत््र्याइँ गर्छ। आवश्यकता भएका मानिसहरूका हातमा औषधि जाओस् भन्ने मनोभाव प्रकट गर्छ। प्रतिपाकेट औषधिको दाम बताउँछ। केही दर्शकहरूले मदारीलाई रुपैयाँ दिन्छन् र मुसा मार्ने औषधि लिन्छन्। केहीबेरपछि मदारीले पैसा फिर्ता गर्छ। मदारीद्वारा दर्शकहरूलाई मनोरञ्जनात्मक शैलीमा सम्मोहित गर्ने क्रम चलिरहन्छ। अन्तमा मुसाको औषधिझैं लक्षित सामग्रीको गुणगान गर्न थाल्छ। विभिन्न प्रकारका अभिनयहरू गर्छ। दर्शकहरूबाट पुनः हातहरू अघि बढ्छन्। यहीं मौकामा मदारीले मूल्य बताउँछ। दर्शकहरूले मुसाको औषधिझैं पछि पैसा फिर्ता गर्ला भन्ने अनुमान लगाउँछन्। तर यसपटक पैसा फिर्ता गरिंदैन। खेल समाप्त हुन्छ।
चेपुवामा युवा पुस्ता
प्रयोगकर्ताहरूका लागि टिकटक आआफ्नो कला र क्षमता प्रदर्शन गर्ने मञ्च हुन सक्छ। तर टिकटक सञ्चालकको लागि यो एक व्यवसाय हो। व्यवसायीले सधैं ग्राहकको भीडको अपेक्षा गर्छ। जति बढी क्रेता हुन्छन्, त्यति बढी बिक्री र नाफा हुन्छ। यसको लागि व्यवसायीले थरीथरीका युक्तिहरू प्रयोग गर्छन्। प्रयोगकर्ताहरूले टिकटकलाई आर्थिक आम्दानीको स्रोतको रूपमा आत्मसात् गरेको पाइन्छ। तर नेपालमा कति टिकटक प्रयोगकर्ता छन् ? सोमध्ये कति प्रतिशत प्रयोगकर्ताले आम्दानी गरिरहेका छन् ? र टिकटकमा कसले कति समय व्यतीत गरिरहेको छ ? भन्ने प्रश्नको उत्तर नेपाल सरकारको आधिकारिक निकायहरूसँग छैन।
मनोरञ्जनको नाममा आफ्नो अमूल्य समय सामाजिक सञ्जालहरूमध्ये टिकटकमा बढी बर्बाद गर्ने प्रयोगकर्ताहरूको सङ्ख्या उच्च छ। यो होडमा सबै उमेर समूहका महिला, पुरुष संलग्न रहे तापनि युवा तथा विद्यार्थीवर्ग बढी प्रभावित देखिन्छन्। उनीहरूको भौतिक शरीर विद्यालयमा उपलब्ध रहे तापनि ध्यान सामाजिक सञ्जालमा केन्द्रित रहने अवस्था छ। पढाईभन्दा सामाजिक सञ्जाल अमूल्य हो भन्ने मानक स्थापित हुँदैछ। घर, विद्यालय, कार्यालय आदि सबै क्षेत्र टिकटकले प्रभावित भइरहेको अवस्था छ। सामाजिक सञ्जालमा टाँसिइरहने कुलतमा समाज फस्दै गइरहेको छ । रातिको बेला निद्रा नलागेसम्म सामाजिक सञ्जालमा घोत्लिरहने प्रवृत्तिले स्वास्थ्य र दीर्घायुको कल्पना गर्न सकिन्न। अहिलेको परिवेश हेर्दा भविष्यमा मानिसहरू स्वतन्त्रताको नाममा इच्छाबमोजिम जतिबेला मन लागे सुत्ने, उठ्ने र काम गर्नेबारे बहस गर्न सक्ने सम्भावना विचारणीय छ। सम्भवतः भविष्यमा स्वास्थ्यको दृष्टिकोणले उत्तम दिनचर्याको कुनै महत्व हुँदैन।
उदाहरण नं २ ः एउटा सिंह असाध्यै भोको महसूस गरिरहेको थियो। उसले आफ्नो ओडारबाट बाहिर निस्केर यताउति शिकारको खोजी गर्न थाल्यो। उसको दृष्टि एउटा सानो खरायोमाथि प–यो। क्षणभरमैं उसले खरायोलाई समात्यो। यसै क्रममा एउटा हरिण उप्रिंmदै गइरहेको सिंहले देख्यो। खरायोलाई छाडेर हरिणतर्फ दौड्यो। आफूतिर सिंह दौडिरहेको भान हुने बित्तिकै हरिणको गति तेज भयो। केहीबेरमैं हरिण जङ्गलभित्र हरायो। सिंह शिकार गर्न असफल भयो। फर्केर आउँदा खरायो पनि बेपत्ता भइसकेको थियो। सिंहको भोक मेटिएन। सिंहलाई पछुतो गर्नुको विकल्प थिएन।
अहिले युवा पुस्ताको रवैया उपरोक्त कथाको सिंह जस्तै छ। बाल्यकाल र जवानी गुमाइसकेपछि बुढेसकालमा पछुताउनुको विकल्प हुँदैन। युवा पुस्ता पढाइसँगै टिकटकबाट अतिरिक्त आम्दानी गर्ने लोभले न गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छ, न टिकटकबाट कुनै उपलब्धि हुन सक्छ। सामाजिक सञ्जाल अरूको सम्पत्ति हो। उसले जतिबेला मन लाग्छ, बन्द वा बिक्री गर्न सक्छ। तर शिक्षा ग्रहण गर्नु व्यक्तिको निजी सम्पत्ति हो। अधिकांश प्रयोगकर्ताहरूले अतिरिक्त आम्दानीको स्रोतको रूपमा टिकटकलाई ग्रहण गरेको पाइन्छ। त्यस कारण भिडियो भाइरल गर्ने निहुँमा अश्लील क्रियाकलाप बढिरहेको अवस्था छ। सामाजिक सञ्जालहरूमध्ये टिकटक प्रयोगकर्ताहरूको प्रतिस्पर्धालाई हेर्ने हो भने सन्देशमूलक क्रियाकलापभन्दा कयौं गुणा बढी अभद्र क्रियाकलापमा केन्द्रित छन्।
संस्कृतिमाथि प्रहार
सामाजिक सञ्जालका कारण युवा जोश, जाँगर र पराक्रम गलत दिशामा लम्किरहेको सत्यतालाई नकार्न सकिंदैन। हुनत टिकटकमा हरेक उमेर समूहका महिला, पुरुषहरूको उपस्थिति छ। सामाजिक सञ्जालका निर्माताहरू मदारीको खेलझैं आफ्नो उद्देश्यमा सफल छन्। प्रयोगकर्ताहरू सिंहझैं प्रमुख लक्ष्यबाट वञ्चित भइरहेका छन्। नितान्तरूपमा कुलत र विसङ्गतिजन्य हर्कतबाट मुक्त रहने पहिलो दायित्व प्रयोगकर्ताको हो। त्यसपछि परिवार, समाज र सरकारको हो। किनभने प्रयोगकर्ताहरूको अघिपछि र हरपल न परिवार, न समाज न सरकार हुन सक्छ।
टिकटक केही प्रयोगकर्ताहरूका लागि आफ्नो कला साझा गर्ने मञ्च त केहीका लागि आर्थिक उन्नतिको बाटो होला। यद्यपि जुन प्रकारले मानवीय ध्यान तान्नको लागि नेपाली सभ्यताविरुद्धका क्रियाकलापले प्रश्रय पाइरहेको छ, त्यसले नेपाली संस्कृतिलाई छियाछिया पारिरहेको छ कि छैन ? यस प्रकारको सङ्क्रमण नेपाली समाजमा घातक महारोगको रूपमा झाङ्गिदै गइरहेको छ कि छैन ? सामाजिक सञ्जालहरूकोे माध्यमबाट नेपाली संस्कार र संस्कृतिमाथि जघन्य प्रहार भइरहेको भन्न मिल्छ कि मिल्दैन ?